निर्णय नं. १११४० - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११४० - जबरजस्ती करणी भाग: ६५ साल: २०८० महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/०६/०४ २९७१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री कुमार चुडाल फैसला मिति: २०७९।६।४ ०७८-CR-१२२४ मुद्दा: जबरजस्ती करणी पुनरावेदक / वादी : परिवर्तित नाम सङ्केत नं. ५२(१८५) को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : परिवर्तित नाम सङ्केत नं. ५२(१८८) फरक उमेरावस्था रहेका पीडित र प्रतिवादीलाई गाउँघरमा सामान्य रूपमा बज्यै नाति नाता लगाई पुकार गर्ने प्रचलन सामान्य रूपमा कायम रहेको पाइने । यस दृष्टिबाट, पीडित र प्रतिवादी बज्यै नाति नाता सम्बन्ध रहेको भन्नुको तात्पर्य निजहरू आफ्नै वंशका बज्यै नाति नाता सम्बन्धका व्यक्ति रहेको भनी अर्थ गरिहाल्न भने सो तथ्य सबुद प्रमाणबाट पुष्टि भएको हुनुपर्ने । (प्रकरण नं. ८) अभियुक्तउपरको प्रत्येक कसुर शंकारहित तवरले पुष्टि भएमा मात्र अभियुक्त सो कसुरमा कसुरदार ठहर हुने हो । अभियुक्तउपरको अनुमान र अपुष्ट कथनको आधारमा कसुर स्थापित हुन नसक्ने । शंका र अनुमान जतिसुकै प्रबल भए पनि यसलाई निर्णायक प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने । प्रतिवादीउपरको अभियोग दाबी सप्रमाण पुष्टि हुन नसकेको अवस्थामा पीडितले वा जाहेरवालाले भनेको, अभियोग पत्रमा पीडित र प्रतिवादी हाडनाता सम्बन्धको व्यक्ति रहेको भन्ने उल्लेख भएका जस्ता आधारमा मात्र कसुरदारलाई थप सजाय गर्न न्यायसम्मत नहुने । (प्रकरण नं. ९) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने मा. न्या. श्री श्यामलाल घिमिरे श्री प्युठान जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने मा. मु. न्या. श्री नीता गौतम दीक्षित मा. न्या. श्री नसरूल्लाह अंसारी श्री उच्च अदालत तुलसीपुर फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा९ बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड जाहेरी दरखास्तको बेहोरा: मिति २०७६।१२।३० मा आफ्नो घरमा सुतिरहेको अवस्थामा दिउँसो अन्दाजी १५:०० बजेको समयमा प्रतिवादी परिवर्तित नाम सङ्केत नं. ५२(१८८) कहाँबाट म सुतेको कोठामा आई एक्कासि ममाथि चढी मेरो मुखसमेत आफ्नो हातले छोपी मलाई बोल्न, कराउनसमेत नदिई मैले लगाएको मेक्सी पेटीकोट माथि फर्काई मलाई हलचल गर्नसमेत नदिई मलाई जबरजस्ती करणी गरी भागी गएको हो । यसरी म एकल वृद्ध महिलालाई घरमा एक्लै भएको मौका छोपी निज परिवर्तित नाम सङ्केत नं. ५२(१८८) ले जबरजस्ती करणी गरी भागी गएकोले निज प्रतिवादी परिवर्तित नाम सङ्केत नं. ५२(१८८) लाई पक्राउ गरी जबरजस्ती करणीमा हदैसम्मको सजाय गरी निज प्रतिवादीबाट उचित क्षतिपूर्तिसमेत दिलाइ भराइपाउँ भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम सङ्केत नं. ५२(१८५) को मिति २०७७।०१।०१ को जाहेरी दरखास्त । घटनास्थल मुचुल्काको बेहोरा : प्रतिवादीले जबरजस्ती करणी गरेको भनिएको उक्त कोठाभित्र भुइँमा गुन्द्री, बिस्तारा लगाइएको, सिरक यत्रतत्र छरिएको, भुइँमा ३ फिट उत्तरमा कालो रङको सर्ट फेला परेको, विस्तारादेखि १ फिट दक्षिणमा हरियो सल रहेको, उक्त घटनास्थलबाट निज प्रतिवादी परिवर्तित नाम सङ्केत नं. ५२(१८८) को कालो रङको सर्टसमेत बरामद गरेको