निर्णय नं. १११४५ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११४५ - अंश चलन भाग: ६५ साल: २०८० महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/०७/२७ १४५१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७९।७।२७ ०७३-CI-१६९८ मुद्दाः- अंश चलन पुनरावेदक/प्रतिवादी : स्व.धनबीर तामाङको नाति स्व. रामबहादुर तामाङको छोरा जिल्ला सुनसरी धरान नगरपालिका, वडा नं.७ बस्ने मणीकुमार तामाङ मरी मुद्दा सकार गर्ने निजको श्रीमती सावित्री लामा (तामाङ) विरूद्ध प्रत्यर्थी/वादी : स्व. धनबीर तामाङको छोरा जिल्ला सुनसरी, धरान नगरपालिका, वडा नं.७ बस्ने लोककुमार तामाङसमेत बन्डापत्रमा अबन्डा भनी उल्लेख गरे पनि वा अबन्डा उल्लेख नगरे पनि विधिवत् रूपमा त्यस्तो सम्पत्ति परित्याग नगरेसम्म त्यसबाट व्यक्तिको हक मेटिन नसक्ने । त्यस्तै योभन्दा बाहेक बन्डा गर्नुपर्ने सम्पत्ति बाँकी नरहेको र उप्रान्त बन्डा गर्न बाँकी छ भनी कहीँकतै उजुर नालेस गर्ने छैनौं भनी बन्डापत्रमा उल्लेख भएको बेहोराले व्यक्तिको अंश पाउने हक समाप्त भएको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ६) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री रामनाथ राई तथा दीपेन्द्रराज पोखरेल प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र श्री लक्ष्मण न्यौपाने अवलम्बित नजिर : ने.का.प. २०५६, नि.नं. ६६८२ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने मा. न्या. श्री खडानन्द तिवारी सुनसरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने मा. न्या. श्री कुमारप्रसाद पोखरेल मा. न्या. श्री पुष्पराज कोइराला उच्च अदालत विराटनगर फैसला न्या.डा.आनन्दमोहन भट्टराई: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः- तथ्य खण्ड स्व. पिता धनवीर तामाङको एक मात्र श्रीमती स्व. बसन्तमाया तामाङका ४ भाइ छोरामा स्व. रामबहादुर तामाङ‚ लोकबहादुर तामाङ‚ कुसबहादुर तामाङ र कान्छा पूर्ण पाख्रिन हौं । जेठा दाजु रामबहादुर तामाङको २ छोरामा जेठा मणीकुमार तामाङ र कान्छा मनोज कुमार तामाङ हुन् । हामी हाल ४ अंशियार रहेका छौं । बाबु आमाको मृत्युपश्चात् हाम्रो जेठा दाजु रामबहादुर तामाङ नाउँ दर्ताको जिल्ला भोजपुर गा.वि.स. वडा नं.१ को कि.नं.६६, ६५, ७४‚ १३४‚ १३५,१३८ का जग्गा अबन्डामा रहे पनि आयस्ता भने भागशान्तिले सबै भाइले भोगचलन गरी आएका थियौं । उक्त जग्गा २०४३ सालमा दाजु रामबहादुर तामाङका नाउँमा दर्ता गरी राखे तापनि सबै भाइले बराबरी बन्डा छुट्याइलिने सहमति भएको थियो । यसरी हाम्रोसमेत अंशहकको अबन्डा रहेको उक्त जग्गा विपक्षी मणीकुमार तामाङले २०६३ सालमा एकलौटी नामसारी गरेकाले हाम्रो भाग जति ४ भागको ३ भाग हामी फिरादीको अंशभाग छुट्याई चलनसमेत चलाइपाउँ भन्नेसमेत बेहोराको मिति २०६८।५।२५ को फिराद पत्र । सर्वप्रथम हामी वादी प्रतिवादीहरूको वतन सुनसरी जिल्ला भएको हुँदा भोजपुर जिल्ला अदालतमा दायर गरेको प्रस्तुत मुद्दा क्षेत्राधिकारको अभाव रहेको‚ वादीहरू मेरा नाता सम्बन्धका मानिस भए तापनि अंशियार नरहेका‚ यी वादीहरू र हाम्रा बाबुबिच अंशबन्डा भइसकेकाले दोहोरो बन्डा गर्नुपर्ने होइन‚ मेरा स्व. पिता रामबहादुरका दुई छोरामा मनोजकुमार तामाङलाई प्रतिवादी नबनाएको‚ हामी दाजुभाइबिच २०५८।७।१५ मा अंशबन्डा भइसकेको सोमा पूर्ण पाख्रिनसमेत साक्षी सनाखत बस्नुभएको‚ सो लिखतमा