निर्णय नं. १११५० - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११५० - अंश चलन भाग: ६५ साल: २०८० महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/०१/०४ २८९० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।०१।०४ ०७६-CI-०९०५ मुद्दा : अंश चलन पुनरावेदक/वादी : मंगलप्रसाद श्रेष्ठको छोरा गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं. ६ पाटेचौर बस्ने राजेन्द्रकुमार श्रेष्ठ विरूद्ध प्रत्यर्थी/प्रतिवादी : मंगलप्रसाद श्रेष्ठको श्रीमती ऐ.ऐ. बस्ने गुनमाया भन्ने मिनकुमारी श्रेष्ठसमेत कानूनद्वारा हदम्याद तोकिएको अवस्थामा हदम्यादलाई अनदेखा गरी जहिलेसुकै पनि निवेदन दिने लिने र मुद्दाको सुनुवाइ गर्ने गरिएमा विधायिकाले तोकेको हदम्यादको अस्तित्व नै नरहने । हदम्यादको सिद्धान्त समयसीमामा आधारित हुने । हदम्यादको लागि समयतत्त्व नै महत्त्वपूर्ण हुने हुनाले तोकिएको समयसीमालाई ध्यान नदिई वा कपटपूर्ण तवरबाट तथ्य लुकाई निवेदकको तर्फबाट दायर हुन आएको निवेदनलाई ग्रहण गरी निर्णयमा पुग्नु न्यायसङ्गत नहुने । तोकिएको समयमा नै आफ्नो अधिकारको प्रयोग नगरी समयसीमा बिताई अदालतमा प्रवेश गर्ने पक्षलाई अदालतले सहयोग गर्न नसक्ने । (प्रकरण नं. ४) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामचन्द्र न्यौपाने प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री उपेन्द्रकेशरी न्यौपाने र विद्वान् अधिवक्ताहरू श्री भोजराज भट्ट र श्री मदन रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०७३ मुलुकी देवानी कार्यविधि संहिता, २०७४ सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री बसन्तराज पौडेल गोरखा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री कुमार चुडाल मा. न्या. श्री नरबहादुर शाही उच्च अदालत पोखरा फैसला न्या. अनिलकुमार सिन्हा: उच्च अदालत पोखराबाट मिति २०७५।७।२६ मा भएको फैसलाउपर वादीको तर्फबाट यस अदालतमा दोहोर्याई पाउँको निवेदन परी न्याय प्रशासन ऐन, २०७३ को दफा १२ बमोजिम दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहबाट पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड बुबा मंगलप्रसाद श्रेष्ठ र विपक्षी आमा गुनमाया श्रेष्ठको तर्फबाट ३ भाइ छोराहरू जेठो म राजेन्द्रकुमार श्रेष्ठ, माइलो विपक्षी भाइ योगेन्द्रकुमार श्रेष्ठ, कान्छो विरेन्द्र कुमार श्रेष्ठ र छोरीहरू २ जना भएकोमा सबै जनाको विवाह भइसकेको अवस्था छ । बाबु मंगलप्रसादको मृत्यु भइसकेको अवस्थामा मूलतः हामी ३ दाजुभाइ र आमा गरी ४ अंशियारबिच पैतृक सम्पत्ति भाग बन्डा गर्न बाँकी नै हुँदा हामी सगोलमा नै छौं । मेरो अंश हक लाग्ने जग्गा सम्पत्ति विपक्षीकै नाउँमा रहेकोले तायदाती फाँटवारी माग गरी फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गरी सम्पूर्ण सम्पत्तिलाई ४ भाग लगाई सोको १ भाग अंश म वादीलाई दिलाइपाउँ भन्ने बेहोराको फिरादपत्र । विपक्षी आफूले आजभन्दा ४४/४५ वर्षअगाडि हाम्रा श्रीमान् तथा बुबा ससुराबाट अंश बुझी अलग भई बसेको कुरालाई बुबाबाट अंश बुझेको भरपाईमा उल्लेख गरिसक्नुभएको छ । आफूले अंश लिई अलग बसेका विपक्षीले बुबाको मृत्युपश्चात् अदालतसमेतलाई गुमराहमा पार्ने नियतले आफ्नो अंश बुझिसकेको आफूसरहका अंशियारलाई विपक्षी बनाई गरिएको फिराद विरोधाभाषपूर्ण छ । विपक्षी अलग भएपश्चात् फिरादीबाहेकका हामी अंशियारहरू आमा मिनकुमारी श्रेष्ठ र दुई भाइ योगेन्द्र तथा विरेन्द्रकुमार श्रेष्ठसमेतलाई २०४५ साल म