निर्णय नं. १११५७ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११५७ - बन्दीप्रत्यक्षीकरण भाग: ६५ साल: २०८० महिना: मंसिर अंक: ८ फैसला मिति :२०७५/१२/२३ ११३२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ आदेश मिति : २०७५।१२।२३ ०७८-WH-०१०६ विषय : बन्दीप्रत्यक्षीकरण निवेदक : जिल्ला रौतहट साबिक औरैया गा.वि.स. वडा नं. ९ को हाल परिवर्तित ईशनाथ नगरपालिका वडा नं.३ पिपरटोल, हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १७ शिवनगरटोल बसोबास गरी हाल कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेका WLC College Nepal का सञ्चालक अध्यक्ष बाकेश्वर झाको छोरा संजयकुमार झा विरूद्ध प्रत्यर्थी : श्री उच्च अदालत पाटनसमेत प्रमाणको मूल्याङ्कनको विषय रिट क्षेत्राधिकारको विषय नभए पनि प्रत्यक्ष देखिने समान अभियोग र सजायको माग भएको मुद्दामा कुनै प्रतिवादीका हकमा धरौट माग गरिनु र कुनै प्रतिवादीका हकमा थुनामा नै राख्ने आदेश गर्नुलाई औचित्यपूर्ण र न्यायसम्मत मान्न नमिल्ने । (प्रकरण नं. ५) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री सुनिलकुमार पोखरेल, श्री ईश्वरीप्रसाद भट्टराई, श्री पवनकुमार जैसवाल, श्री सतिषकुमार झा, श्री भोजराज आचार्य र श्री शैलेन्द्रप्रसाद यादव प्रत्यर्थीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विष्णुप्रसाद पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ आदेश न्या. कुमार रेग्मी : नेपालको संविधानको धारा ४६, १३३(२) र (३) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्यगत बेहोरा र आदेश यसप्रकार छ । तथ्यगत बेहोरा केन्ट ग्रुप प्रा.लि. अन्तर्गतको केन्टकलेज अफ टेक्नोलोजी मेनेजमेन्ट प्रा.लि. समेतको सञ्चालक सेयरधनी रहनुभएको प्रतिवादीहरूसँग नेपाल सरकारबाट अनुमति प्राप्त शैक्षिक संस्थाहरू धेरै संख्यामा रहे तापनि सञ्चालनको लागि पुँजी अभाव रहेकोले सञ्चालकहरूमध्येका संजयकुमार झाले म जाहेरवालासँग कम्पनीलाई पुँजी आवश्यकता पर्‍यो भनी रकम माग गरेकोले मैले ऋण सहयोगबापत विभिन्न मितिमा नगद र मेरो NIC Asia बैंकमा रहेको खाताबाट भुक्तानी हुने गरी विभिन्न मितिमा चेकहरू जारी गरी निज संजयकुमार झाले भनेको निजकै लेखा अधिकृत मुकेश महर्जन, अभय श्रीवास्तव, निज संजयकुमार झा र दिपकप्रसाद मिश्रसमेतको नाउँमा चेकहरू खिची संजयकुमार झालाई दिएकोमा ती सबै चेकहरूबाट विपक्षीहरूले रकम भुक्तानी लिएका थिए । पछि मलाई आवश्यक परेको हुँदा रकम फिर्ता माग्दा तपाइँ हाम्रो कम्पनीको सेयरधनी भएर बस्नु, हामी तपाइँलाई कम्पनीको सेयरधनी बनाइदिन्छु भनी मौखिक तथा इमेलसमेतबाट म्यासेज गरी विश्वास दिलाउनु भएकोमा निजले हालसम्म पनि कुनै कम्पनीको सेयरधनी नबनाउनुका साथै हालसम्म रकम माग गर्दा सुरूमा ब्याजसहितको रकम फिर्ता गर्छु भन्ने विश्वास दिलाई रकम सापटी लिई झुठ्ठा कथाको रचना गरी म जाहेरवालालाई गफलतमा पारी पटकपटक गरी रू. ७९,४४,६३४।- रकम लिई कुनै कम्पनीको सेयर नदिई तथा रकमसमेत फिर्ता नगरी आफूहरूले आर्थिक लाभ लिई म जाहेरवालालाई हानि नोक्सानी पुर्‍याएको हुँदा निजहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको प्रविणकुमार झाको मिति २०७८/४/२२ को जाहेरी दरखास्त परी कारबाही भई सरकारी वकिलबाट काठमाडौं जिल्ला अदालतमा मउपर ठगी मुद्दाको अभियोग दायर भई म रिट निवेदकलाई मुद्दा पुर्पक्षको निमित्त थुनामा राखिएको र सो आदेशउपर मैले उच्च अदालत पाटनसमक्ष निवेदन