निर्णय नं. १११५९ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११५९ - अंश चलन भाग: ६५ साल: २०८० महिना: पौस अंक: ९ फैसला मिति :२०७९/०२/२७ २५०३ सर्वोच्च अदालत, संयुक्त इजलास स.का.मु.प्रधान न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७९।०२।२७ ०७५-CI-००३६ मुद्दा : अंश चलन निवेदक / वादी : काठमाडौं जिल्ला मुलपानी गा.वि.स. वडा नं. ४ घर भई हाल परिवर्तित कागेश्वरी मनोहरा न.पा. वडा नं. ९ मुलपानी बस्ने रन्जन शाहीसमेत विरूद्ध विपक्षी / प्रतिवादी : काठमाडौं जिल्ला मुलपानी गा.वि.स. वडा नं. ४ घर भई हाल परिवर्तित कागेश्वरी मनोहरा वडा नं. ९ मुलपानी बस्ने राजन शाही सगोलको सम्पत्ति र सगोलको ऋण सबै अंशियारहरूमा बराबर भाग लगाई बन्डा गर्नुपर्ने । घरको मुख्य भई काम गर्ने व्यक्तिले लिएको ऋणलाई सगोलको ऋण मान्नुपर्ने । (प्रकरण नं.११) निवेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री प्रकाश खनिया विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामभक्त सुवाल अवलम्बित नजिर : ने.का.प.२०४३, अङ्क १, नि.नं.२५९४ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ न्याय प्रशासन ऐन, २०७३ सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्या.श्री पुरूषोत्तम प्रसाद ढकाल काठमाडौं जिल्ला अदालत, काठमाडौं पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री प्रेमराज ढकाल माननीय न्यायाधीश श्री अनन्तराज डुम्रे पुनरावेदन अदालत पाटन फैसला न्या.मनोजकुमार शर्मा : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । मूल फिरादीमध्येकी रत्नशोभा शाही हाम्रो आमा र विपक्षी राजन शाही हामीहरूको पति/पिता नाताको हुनुहुन्छ । निजहरूको तर्फबाट रन्जन शाही, सुजन शाही, रश्मी शाहीको जायजन्म भई एकाघर सगोलमै बसी आएकोमा विपक्षी प्रतिवादीले हामीहरूको सगोलको अंशहक लाग्ने सम्पत्ति धमाधम बेचबिखन गर्न थालेको हुँदा किन हामीहरूको अंशहक लाग्ने सम्पत्ति बिक्री गर्न लागेको भनी सोध्दा तिमीहरूलाई अंश पनि दिन्न अंश माग्नेलाई घरमा पनि बस्न दिन्न भनी कुटपिट गरी खान लाउन नदिई घरबाट निकाला गरी अन्याय गरेको हुनाले यो फिराद गर्न आएका छौं । बन्डा गर्नुपर्ने सम्पत्ति विपक्षीको जिम्मामा रहेकोले तायदाती फाँटवारी माग गरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी फिरादीमध्येको १ जनाको विवाह नभएको हुनाले विवाह खर्च पर सारी सम्पूर्ण सम्पत्तिको ५ भाग लगाई ५ भागमध्ये ४ भाग अंश हामीलाई दिलाई भराइपाउँ भन्ने वादीको फिराद दाबी । हामीहरूको नाता र अंशियारमा विवाद नभए पनि छोरा छोरीहरूको शिक्षादीक्षा मैले नै दिँदै आएको छु । म व्यापार व्यवसायको सिलसिलामा घरबाहिर बस्नुपर्ने भएकोले सोही विषयमा श्रीमती रत्नशोभा शाहीले पटकपटक विवाद गर्न आउने र घरमा आउँदा पनि कुनै वास्ता नगरी खानासमेत नखुवाउने गरी समस्या भएकोले मैले मिति २०६५/११/३ गते कान्छी श्रीमती कविता कार्कीसँग विवाह गरी अलग्ग कोठा लिई बसी कान्छी श्रीमतीको तर्फबाट हाल मेरो ६ वर्षको सक्षम राज शाही र ८ महिनाको सभ्य शाहीको जायजन्मसमेत भएको छ । विपक्षीहरूलाई मैले अंश दिनुपर्ने होइन किनभने मेरो नाममा रहेको काठमाडौं जिल्ला, मुलपानी गा.वि.स. वडा नं.४ग कि.नं. ६५४ को घर जग्गा विपक्षीहरूले नै कब्जा गरी बस्दै आएका छन् । म विपक्षीहरूसँग २०६५ सालमा मानो छुट्टी बसेको हुँदा सोही मितिलाई मानो छुट्टिएको मिति कायम गरिप