निर्णय नं. १११६९ - अंश दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११६९ - अंश दर्ता भाग: ६५ साल: २०८० महिना: पौस अंक: ९ फैसला मिति :२०७९/०७/२७ २३४० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७९।०७।२७ ०७२-CI-१०६९ मुद्दा: अंश दर्ता पुनरावेदक / वादी : जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं.४ बस्ने स्व. कदमलाल दासको छोरा युगेश्वर दास विरूद्ध विपक्षी / प्रतिवादी : जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं.४ बस्ने स्व. कदमलाल दासको छोरा वैद्यनाथ दाससमेत जग्गा खरिद गर्दा भएको लिखतमा दाइजो पेवा भनी उल्लेख नहुँदैमा त्यस्तो जग्गा सगोलको जग्गा भनी अनुमान गर्नु मनासिब नहुने । एकाघर सगोलको सम्पत्ति प्रयोग नगरी सगोलको सम्पत्ति नमिसाईकन आफ्नै श्रम सिप वा दान दातव्यबाट कुनै अंशियारले सम्पत्ति आर्जन गरेको छ भने त्यस्तो सम्पत्तिलाई स्वआर्जन मान्नुपर्ने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री तुलसी राम निरौला विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सनद देवकोटा तथा अधिवक्ताद्वय श्री जगदिश चन्द्र पाण्डे र श्री भवेश गौतम अवलम्बित नजिर : ने.का.प.२०६१, अङ्क २, नि.नं.७३३४ ने.का.प.२०६३, नि.नं.७६९८ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री किरणप्रसाद शिवाकोटी सप्तरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल माननीय न्यायाधीश श्री उमेशकुमार सिंह पुनरावेदन अदालत राजविराज फैसला न्या.कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ:- तथ्य खण्ड मूल पुरूष स्व. कदमलाल दासको तीन जना छोराहरूमा जेठा सरजुग दास, माहिला वैद्यनाथ दास र कान्छा युगेश्वर दास हौं । वैद्यनाथ दासकी पत्नी नागिनाकुमारी भन्ने अहिल्यादेवी र स्व. सरयुग दासको पत्नी विपक्षी जयन्ती देवी हुन् । हामी सबै अंशियार परिवार सगोलमा रहँदा एकआपसमा बराबर झै-झगडा भई छोरा छोरीको पढाइ लेखाइमा कठिनाई भइरहेको र हामीहरूबिच रीतपूर्वक अंशबन्डासमेत नभएकोले एकआपसमा बन्डा गरी आ-आफ्नो खती उपती गरी बसौं भनी मिति २०६६।०६।२३ गतेका दिन विपक्षीहरूलाई भन्दा बन्डा गर्न इन्कार गरेकोले फिराद परेको अघिल्लो दिनलाई चुल्हो मानो छुट्टिएको मिति कायम गरी बन्डा गर्नुपर्ने सम्पूर्ण चल अचल सम्पत्तिको तायदाती फाँटवारी दाखिल गर्न लगाई सम्पूर्ण सम्पत्तिलाई ३ भाग लगाई ३ भागको १ भाग मेरो अंश छुट्याइपाउँ भन्नेसमेत बेहोराको वादी युगेश्वर दासको फिराद दाबी । म प्रतिवादीबाहेकका अन्य प्रतिवादीहरू र वादीसमेत भारत विहार सुपौल थाना राघोपुर सिमराही गाउँका बासिन्दा भारतीय नागरिकहरू हुन् । वादी र अन्य प्रतिवादीहरू भारतीय नागरिक रहेकोले फिरादपत्रमा देखाएको सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं.४ का वतन बिल्कुल बनावटी कृत्रिम र मिथ्या रहेको छ । नेपाल राज्यभित्र विपक्षी वादी तथा मबाहेकका अन्य प्रतिवादीहरूको घर जग्गा जमिन छैन । भारतीय नागरिकलाई मुलुकी ऐन अदालती बन्दोबस्तको २९ नं. तथा अ.बं. ८२ नं.बमोजिम यो मुद्दा गर्ने हकदैया छैन । मेरो पतिसँग झै-झगडा भएकोले २०३० सालदेखि राजविराज नगरपालिका वार्ड नं. ४ माइतीघरमा बस्दै आएको छु । बुबाको सरसल्लाहअनुसार मैले भारतमा दानपत्रबाट पाएको जमिनको आयस्ता, बुबाले दाइजोमा दिएको नगद गरगहनाबाट मिति २०३१।३