निर्णय नं. १११७२ - आपुताली हक कायम टिप्पणी तथा आदेश बदर दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११७२ - आपुताली हक कायम टिप्पणी तथा आदेश बदर दर्ता बदर दर्ता भाग: ६५ साल: २०८० महिना: पौस अंक: ९ फैसला मिति :२०७७/०८/३० २८७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७७।०८।३० ०७२-CI-१३५२ मुद्दा:- आपुताली हक कायम टिप्पणी तथा आदेश बदर दर्ता बदर दर्ता निवेदक / वादी : स्व.भक्तबहादुरको छोरा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.२९ गल्कोपाखा, ठमेल बस्ने विरेन्द्रकुमार सिंह राजभण्डारीको वारिस भई आफ्नो हकमा समेत ऐ.को छोरा ऐ.ऐ. बस्ने विजयकुमार सिंह राजभण्डारी विरूद्ध विपक्षी / प्रतिवादी : श्यामलाल ठकु श्रेष्ठको छोरा जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका वडा नं.१३ बस्ने गजेन्द्रदेव ठकु श्रेष्ठ अपुताली र अंशमा केही मूलभूत भिन्नताहरू हुने । अंश हक व्यक्तिले जन्मबाट र अंशियार भएको नाताले प्राप्त गर्ने हक हुने । अपुतालीको हक मर्नेको हकको सम्पत्ति अंशियार वा अन्य कुनै नाताको सम्बन्ध भए वा पालन पोषण र काज किरियासमेत गरेको रहेछ भने उसैले र नातासम्बन्धी भए र नभए पनि अर्थात् ऐन कानूनले निर्धारण गरेको हकवाला वा अन्य टाढाको नाता सम्बन्ध भए पनि उसले बाचुन्जेल दवाई पानी, हेरचाह, पालन पोषण र मरिसकेपछि काजकिरिया गरेको रहेछ भने मर्नेको अपुताली उसैले नै पाउने । (प्रकरण नं.४) निवेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बसन्तराम भण्डारी र विद्वान् अधिवक्ता श्री मेघराज भट्ट विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री शम्भु थापा, श्री बालकृष्ण न्यौपाने र विद्वान् अधिवक्ता श्री युवराज बंजाडे अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्या. श्री राजेशकुमार काफ्ले पर्सा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री डा.कुलरत्न भुर्तेल माननीय न्यायाधीश श्री सरिता शर्मा पुनरावेदन अदालत हेटौंडा फैसला न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन परी निस्सा प्रदान भई पुनरावेदनसरह दर्ता भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । तथ्य खण्ड सौतेनी आमा सावित्रीदेवी सिंह राजभण्डारी आफ्नो कालगतिले मिति २०६७।०७।२० गतेका दिन मृत्यु भएकाले निजको हकदार हामी फिरादी मात्र भएको र निजको नाउँ दर्ताको जिल्ला पर्सा गाउँ विकास समिति, नौतन(वि) वडा नं. ९ कि.नं. ४७४ को ज.वि.०-३-० जग्गा हामी फिरादीलाई अपुताली हक प्राप्त भई हामीले सो जग्गा भोगचलन गरी आएको कुरामा कुनै विवाद थिएन । यसरी हामीहरूको अपुताली हकको जग्गा प्रतिवादीले आफूलाई अपुताली हक प्राप्त भएको भनी जालसाजीबाट निवेदन दिई सर्जमिनसमेत गराई मालपोत कार्यालय पर्साबाट मिति २०६७।११।१७ मा टिप्पणी आदेश सदर गराई सो टिप्पणी आदेशको आधारमा उल्लिखित जग्गा आफ्नो नाउँमा दर्ता गराई हाम्रो अपुताली हक मेटाएकोले उक्त मितिको टिप्पणी आदेश दर्ता बदर गरी हाम्रो अपुताली हक कायम गरिपाउँ भन्ने वादीको फिराद दाबी । विपक्षीहरूले मर्ने सावित्रीदेवी सिंह राजभण्डारीको जीवनकालमा सेवा सत्कार तथा मरेपछि क्रिया श्राद्ध नगरेको र मैले नै सावित्रीदेवी सिंह राजभण्डारीका सेवा टहल क्रिया श्राद्ध गरेकोले वादी दाबीबमोजिम दाबीको जग्गामा वादीहरूको अपुताली हक कायम हुनुपर्ने हैन भन्ने प्रतिवादीको प