निर्णय नं. १११७६ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११७६ - बन्दीप्रत्यक्षीकरण भाग: ६५ साल: २०८० महिना: माघ अंक: १० फैसला मिति :२०७९/१२/०६ १००६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७९।१२।०६ ०७९-WH-००७६ विषयः बन्दीप्रत्यक्षीकरण निवेदक : धनकुटा जिल्ला, साबिक बोधे गा.वि.स., वडा नं. ४ को हाल चौबिसे गाउँपालिका, वडा नं. ५ घर भई हाल कारागार कार्यालय पर्सा, वीरगन्जमा थुनामा रहेका शेरबहादुर तामाङ विरूद्ध विपक्षी : धनकुटा जिल्ला अदालत तहसिल शाखा, धनकुटासमेत वारदात भएको धेरै पछाडि पेस भएको प्रतिलिपि जन्मदर्ताको कागजमा लेखिएको जन्ममिति सही साँचो रहेको भए सो आधिकारिक कागज समयमा नै पेस गर्न सक्नुपर्नेमा सो पेस भएको नदेखिएकाले पछि बनाइएको प्रतिलिपि जन्म दर्ता प्रमाणपत्रमा उल्लिखित जन्ममितिको आधिकारिक र विश्वसनीयता भरपर्दो प्रमाणले पुष्टि नगरेसम्म स्वीकार्य नहुने । बन्दीप्रत्यक्षीकरणको रिटबाट सजायलाई प्रभावित पार्ने र आफैँले अदालतसमक्ष दिएको बयानको प्रतिकूल हुने गरी सुरू र अन्तिम अदालतसम्म पेस नभएको जन्म दर्ता प्रमाणपत्रको आधारमा मात्र निवेदकलाई गैरकानूनी रूपमा कैदमा राखिएको मान्न नमिल्ने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामप्रसाद ढुङ्गेल विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री संजिवराज रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ बालबालिकासम्बन्धी ऐन, २०७५ आदेश न्या.कुमार रेग्मी : नेपालको संविधानको धारा ४६ र धारा १३३(२)(३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ: निवेदनको संक्षिप्त बेहोरा मउपर श्री धनकुटा जिल्ला अदालतमा चलेको सिखा सुब्बा लिम्बुसमेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी मसमेत भएको जबरजस्ती करणी, कर्तव्य ज्यान, जबरजस्ती चोरी मुद्दामा मलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर्‍याई धनकुटा जिल्ला अदालतबाट मिति २०६९।०९।०४ मा भएको फैसलाउपर पुनरावेदन परी तत्कालीन पुनरावेदन अदालत धनकुटाले सुरू अदालतबाट भएको फैसला सदर गर्ने गरी मिति २०७०।०२।२० मा र साधकको रोहमा सर्वोच्च अदालतबाट समेत सुरू फैसला सदर गर्ने गरी मिति २०७३।१०।११ मा फैसला भई मुद्दा अन्तिम भएको छ । उक्त मुद्दामा म मिति २०६९।०५।१३ मा अनुसन्धानका क्रममा आजका मितिसम्म निरन्तर थुनामा रहँदा १० वर्ष १ महिनाभन्दा बढी अवधि भइसकेको छ, जुन प्रचलित कानूनबमोजिम नाबालकलाई हुन सक्ने सजायजतिको अवधि हुन्छ । उक्त मुद्दाको वारदातको समयमा म १५ वर्ष ०१ महिना ०६ दिनको रहेको स्थानीय पञ्जिकाधिकारीको कार्यालय, बोधे गा.वि.स. बाट मिति २०६३।१०।२८ मा जारी भएको जन्मदर्ताको प्रमाणपत्रबाट प्रस्ट हुन्छ । सो समयमा मैले जन्मदर्ताको प्रतिलिपि पेस गर्न नसकेको र हालको कानूनी व्यवस्थाबमोजिम साबालकलाई हुने सजायको आधा सजाय हुनुपर्ने अवस्था रहेको हुँदा सोअनुसारको संशोधित कैदीपुर्जी दिलाई पाउँ भन्ने बेहोरा उल्लेख गरी मैले धनकुटा जिल्ला अदालतमा निवेदन दिएकोमा सम्मानित धनकुटा जिल्ला अदालतबाट मिति २०७९।०५।१७ मा आदेश हुँदा मलाई उमेर पुगेको व्यक्तिलाई हुने सजायको दुई तिहाइ सजाय हुने गरी आदेश भई सोहीअनुसारको संशोधित कैदीपुर्जी उपलब्ध गराएको अवस्था छ । मैले प्रचलित कानूनबमोजिम नाबालकलाई हुनसक्ने सजाय आधा सजाय १० वर्षबापत भन्दा बढी नै कैदमा बसिसकेको र कैद भुक्तान