निर्णय नं. १११७८ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११७८ - जालसाजी भाग: ६५ साल: २०८० महिना: माघ अंक: १० फैसला मिति :२०७९/०१/२९ १६७५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।१।२९ ०७३-CR-०९१८ मुद्दाः- जालसाजी पुनरावेदक / वादी : ललितपुर जिल्ला, लेले गा.वि.स. वडा नं. १ वैकटोल घर भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. २८ नरदेवी बस्ने बट्टाई नेपालीको छोरा दिलीपकुमार नेपालीसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला, लेले गा.वि.स. वडा नं. १ बस्ने खुन्ते नेपालीको छोरा बट्टाई नेपाली (दमाई) समेत जग्गाको हक हस्तान्तरण गर्ने कार्य देवानी कारोबार भए तापनि मुलुकी ऐन, किर्ते कागजको ३ नं. मा परिभाषित “जालसाजी” एक फौजदारी कार्य भएकोले सोको पुष्टि हुन कर्ताको बदनियत तत्त्व स्थापित हुनुपर्ने । घरको मुख्य भई कार्य गरेका व्यक्तिले घर व्यवहार चलाउन असल नियतले गरेको काम कारबाही परिस्थितिको परिवर्तन वा अन्य अनपेक्षित अवस्था सिर्जना भएका कारण जालसाजीमा परिणत हुन नसक्ने । (प्रकरण नं. ४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बच्चु सिंह खड्का प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने: मा. जि. न्या. श्री लेखनाथ ढकाल ललितपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. मु. न्या. श्री केशरीराज पण्डित मा. न्या. श्री विष्णुदेव पौडेल पुनरावेदन अदालत पाटन फैसला न्या. नहकुल सुवेदी : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्राप्त भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- तथ्यगत बेहोरा प्रतिवादी पिता बट्टाई दमाई (नेपाली) दिने लिने विमला दाहाल भएको ललितपुर जिल्ला, लेले गा.वि.स. वडा नं. ३(ग) कि.नं. ३०८ को क्षेत्रफल ०-१४-२-० जग्गा र. नं. ८९५३(क) मिति २०६२।१०।४ मा पारित गरी लिएको लिखतको ३ भागमध्ये हामी फिरादीहरूको हुन आउने २ भाग लिखत जालसाजी घोषित गरी एवं किर्ते कागजको ३ नं.बमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी । मैले वादीहरूको हक जाने कुनै किसिमको जालसाजी कार्य नगरी कानूनबमोजिम नै प्रतिवादी बट्टाई दमाई नेपालीका नाममा रहे भएको निजको एकलौटी दर्ता स्रेस्ताको अंशियार छोराको मन्जुरी लिन नपर्ने आफूखुस गर्न पाउने निजी सम्पत्ति निज बट्टाई दमाईले सहकारीबाट ऋण लिई रोक्का भएको जग्गाको ऋण म विमलाले बुझाई रोक्का फुकुवा गराई सम्बन्धित मालपोत कार्यालयबाट कानूनबमोजिम मिति २०६२।१०।४ मा र.नं. ८९५३(क) बाट राजीनामाको लिखत रजिस्ट्रेसन गरी लिएको हो । जालसाजीपूर्ण तरिकाले लिखत गरेको होइन, हकदैया, हदम्यादविहीन फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विमला दाहालको प्रतिउत्तर जिकिर । प्रतिवादी बट्टाई नेपाली दमाईको नाउँको म्याद मिति २०६७।१।१३ मा तामेल भएकोमा निजले सोको म्याद गुजारी प्रतिउत्तर नफिराई सुरू म्यादै गुजारी बसेको । छोराहरूलाई थाहा जानकारी नै नदिई, नसोधी बुबाले जग्गा बेचेको हुन् । जग्गा पिता पुर्खाको हो, छोराहरूलाई जानकारी नदिई बेचेको हुँदा किर्ते जालसाजी नै हो भन्नेसमेत बेहोराको वादीको साक्षी राम नेपालीले सुरू अदालतमा गरेको बकपत्र । फाइनान्समा ऋण छ, तपाइँले जग्गा लिई दिनुहोस्, म ऋण तिर्छु भनी अनुरोध गरेका कारण यो जग्गा लिइएको हो ।