निर्णय नं. १११८० - बैंकिङ कसुर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११८० - बैंकिङ कसुर भाग: ६५ साल: २०८० महिना: माघ अंक: १० फैसला मिति :२०७८/०५/२७ २५७९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७८।५।२७ ०७७-RB- ०३४२ मुद्दा : बैंकिङ कसुर पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, साबिक गोलढुङ्गा गाउँ विकास समिति वडा नं.१ दगुर्नेपानी टोल बालाजु स्थायी वतन तथा हाल काठमाडौं जिल्ला, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १३ पेप्सीकोला डेरा भई हाल कारागार कार्यालय नख्खुमा थुनामा रहेका सञ्जयकुमार श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.११ सिंहदरबार प्लाजा स्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय कार्यालयको तर्फबाट अख्तियारी प्राप्त प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार नियतवश बैंक सम्बद्ध कसैले अनियमित वा गैरकानूनी कार्य गरेको हो भने बैंकको नियमानुसार तथा प्रचलित कानूनविपरीतको कार्य भए कानूनबमोजिम कारबाही हुनु र गर्नुपर्ने । यसो भन्दैमा बैंकिङ प्रणालीमा रहेको प्राविधिक त्रुटिको जानी जानी फाइदा लिई विद्युतीय माध्यमको दुरूपयोग गरी बैंकको सम्पत्ति हिनामिना, हानि नोक्सानी गरेको र आफूले गैरकानूनी फाइदा लिई सिर्जना गरेको बैंकिङ कसुरको फौजदारी दायित्वबाट कसैले पनि छुटकारा नपाउने । (प्रकरण नं.४) अरूको गल्तीको फाइदा आफूले उठाउनुलाई कानूनसङ्गतको कार्य मान्न नमिल्ने । यस्तो कार्यबाट अन्यायिक समृद्धि हुने । यस प्रकारको मनसाय एवं योजनापूर्वक गरिएको कार्यबाट आपराधिक दायित्व सिर्जना हुन्छ भने त्यसको सजाय भोग्नुपर्ने । आफूले Software को गल्तीको कारण नेपाली रूपैयाँ रकमान्तर गर्दा सोही अङ्कले डलरमा देखिएको जानकारी एक दुई पटक बैंकलाई जानकारी गराउँदैमा र अर्काको दोष देखाउँदैमा आफ्नो कसुरजन्य दायित्वबाट उन्मुक्ति नपाउने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री राजिव उप्रेती र श्री शिवजी भण्डारी प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अपराध पीडित संरक्षण ऐन, २०७५ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री लोहित चन्द्र शाह माननीय न्यायाधीश श्री किरण पौडेल उच्च अदालत पाटन फैसला न्या.अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भई नियमानुसार पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः तथ्य खण्ड राष्ट्रिय वाणिज्य बैंकले भिसा डेबिट/क्रेडिट कार्ड, इन्टरनेसनल भिसा डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इलेक्ट्रोनिक फण्ड ट्रान्सफरलगायतका आधुनिक बैंकिङ प्रणालीमार्फत बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । यस्ता विद्युतीय उपकरणहरूलाई ग्राहकहरूले कम्प्युटर तथा मोबाइलमा सफ्टवेयरहरू डाउनलोड गरी शारीरिक रूपमा बैंकमा नआइकन नै एक खाताबाट अर्को खातामा रकम ट्रान्सफर गर्ने तथा विभिन्न निकायका बिलहरूको भुक्तानी गर्न सक्छन् । यस बैंकले एफ वान सफ्ट इन्टरनेसनल नामक कम्पनीका सफ्टवेयरहरू र ई­-सेवा भन्ने कम्पनीका सफ्टवेयरहरू प्रयोग गरी विद्युतीय माध्यमबाट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । सञ्जयकुमार श्रेष्ठले यस राष्ट्रिय वाणिज्य बैंकको मुख्य शाखा कार्यालय, विशालबजार, काठमाडौंमा जनवरी ०८, २०१५ (इ.सं.) मा नं.१०९००६६६१८०B रहेको USD खाता र मिति २०७३।१२।०६ (वि.सं.