निर्णय नं. ४२७१ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२७१ - उत्प्रेषणयुक्त परमादेश भाग: ३३ साल: २०४८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४८/०१/१० २६६९ निर्णय नं. ४२७१ ने.का.प. २०४८ अङ्क २, ३, ४ संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा २०४७ सालको रिट नं. १३३३ आदेश भएको मिति: २०४८।१।१०।३ मा रिट निवेदक: ल.पु.जिल्ला छायावाल नटोल स्थित काठ चिरान उद्योगको तर्फबाट अधिकार प्राप्त रविन्द्र अमात्यसमेत विरुद्ध प्रत्यर्थी : उद्योग विभाग, त्रिपुरेश्वर काठमाडौंसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) कुनै उद्योग दर्ता वा स्थापना हुँदाका बखत प्रचलित ऐनले कुनै सुविधा सहुलियत वा संरक्षण प्रदान गरेको छ भने त्यस बखत कुनै कानुन सूचनाद्वारा उक्त सुविधा उपभोग गर्नबाट बञ्चित गरिएको छैन भने त्यस्तो सुविधा सहुलियत उक्त उद्योगमा निहित भइसकेको मान्नु पर्ने । सूचना प्रकाशित हुनु भन्दा अगावै कानुन बमोजिम दर्ता भई उत्पादन शुरु गरेको एवं कानुन बमोजिम सुविधा प्राप्त गराएको उद्योगको निहित सुविधालाई औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १० खण्ड (ख) को उपखण्ड (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम प्रकाशित सूचनाले त्यस्तो सुविधालाई कुण्ठित गर्न नसक्ने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षी प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट अवलम्बित नजीर: रि.नं. २९८९ निवेदक रत्नलाल संघाई विरुद्ध श्री ५ को सरकार अर्थ मन्त्रालय समेत भएको उत्प्रेषण परमादेशको मुद्दामा सिद्धान्त प्रतिपादित । आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार छ :– २. साझेदार ऐन, २०२० अन्तर्गत साना उद्योगको रुपमा श्री ५ को सरकार उद्योग विभागबाट रिट (साविक पेज नं. १२०) निवेदकहरुको काठ चिरान उद्योग मिति २०४४।८।७ मा दर्ता भई मिति ०४४।८।१५ मा आयकर दर्ता प्रमाणपत्र प्राप्त गरी मिति ०४५।५।३० देखि उद्योग संचालन तथा उत्पादन शुरु भयो । औद्योगिक विकासको लागि उद्योगका शुरुका केही वर्षसम्म प्रोत्साहन पुर्याउने हेतुले शुरुका ५ वर्षसम्म आयकर छूटको सुविधा पाउनु पर्ने सम्बन्धमा प्रत्यर्थी कर कार्यालय, ललितपुरसंग छलफल हुँदा कर विभागको सिफारिश भएपछि पाउने हो भनिदा कर विभागबाट उद्योग विभागको सिफारिश लिएर आउनुहोस् भनियो । फेरि उद्योग विभागमा सिफारिश लिन जाँदा हाम्रो माग दावी अनुरुप आयकर छूटको सुविधा नदिने गरी उद्योग विभाग (सुविधा शाखा) बाट ०४६।६।९ र ०४७।२।२७ मा पत्र दिने काम भयो । ३. हाम्रो उद्योग औ.व्य.ऐन, (२०४४ सालको संशोधन सहित) २०३८ को दफा १० को १(ख) को (२) (३) समेत अन्तर्गत पर्दछ । यस उद्योगको कच्चा पदार्थ तथा कोरामालमा कुनै हालतमा पनि दश प्रतिशत भन्दा बढी परिवत्र्य विदेशी मुद्रा खर्च हुँदैन । आजसम्म त्यस्तो खर्च भएको पनि छैन । औद्योगिक व्यवसाय ऐनले प्रत्याभूत आयकर छूटको सुविधालाई सोही ऐनले कटौती वा अन्यथा प्रावधान नगरी आयकर ऐन लगायत कुनै पनि अरु नेपाल कानुनले सो सुविधा खोस्न नसक्ने व्यवस्था उक्त औ.व्य. ऐनको दफा १०, २१ र तत्सम्बन्धमा कैयौं मुद्दाहरुमा समेत प्रतिपादित नजीरले स्पष्ट गरेको हुँदा यो उद्योग रजिष्टर्ड दर्ता भएको मिति ०४४।८।७ मा बहाल रहेको प्रचलित नेपाल कानुनले प्रदान गरेको औद्योगिक सुविधा सहुलियत संरक्षण उपभोग गर्न पाउने हक यस उद्योगमा निहित भइसकेकोले नेपाल कानुन व्याख्या सम्बन्धी