निर्णय नं. १११८६ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११८६ - उत्प्रेषणसमेत भाग: ६५ साल: २०८० महिना: माघ अंक: १० फैसला मिति :२०७९/१०/१८ १३५८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा आदेश मिति : २०७९।१०।१८ ०७५-WO-११७५ मुद्दा:- उत्प्रेषणसमेत निवेदक : नन्दराम न्यौपानेको छोरी राजकुमार भण्डारीको पत्नी सिन्धुपाल्चोक जिल्ला हेलम्बु गा.पा. वडा नं.२ घर भई बि. एण्ड बि. अस्पतालमा एच.ए. पदमा कार्यरत अवस्थामा सेवाबाट हटाइएकी बिना न्यौपाने विरूद्ध विपक्षी : बि. एण्ड बि. अस्पताल प्रा.लि. ग्वार्को, ललितपुरसमेत बिदाको निवेदन दर्ता गर्नु र बिदा स्वीकृत हुनु फरक/फरक विषय भएको हुँदा बिदाको निवेदन दर्ता गर्नु नै बिदा स्वीकृत भयो भनी मान्नु कदाचित औचित्यपूर्ण नदेखिने । बिदाको निवेदन दर्ता गराएकोमा उक्त बिदा स्वीकृत भयो भएन सो सम्बन्धमा बिदामा बस्ने कर्मचारीले बुझी बिदा स्वीकृत भएको भन्ने स्पष्ट जानकारी लिई मात्र बिदा बस्नुपर्ने । बिदाको निवेदन स्वीकृत भए नभएको भन्नेबारे आधिकारिक रूपमा नबुझी कसैले मौखिक रूपमा भनेको आधारमा मात्र बिदा स्वीकृत भयो होला भनी अनुमानको आधारमा तिस दिन लामो बिदामा बसेकोलाई मनासिब र औचित्यपूर्ण मान्न नमिल्ने । (प्रकरण नं.३) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री कुमार मगर र श्री दिपकप्रसाद चौलागाई विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता श्री श्यामकुमार खत्री अवलम्बित नजिर : सम्बद्ध कानून : श्रम ऐन, २०७४ आदेश न्या.प्रकाशकुमार ढुङ्गाना : नेपालको संविधानको धारा ४६ र १३३(२)(३) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार रहेको छ:- तथ्य खण्ड म निवेदिका विगत ४ वर्षदेखि विपक्षी बि. एण्ड बि. अस्पतालमा हेल्थ असिस्टेन्ट (HA) पदमा निरन्तर अनुशासित र इमानदारपूर्वक जिम्मेवारी निर्वाह गर्दै उच्च शिक्षालाई समेत अगाडि बढाइरहेको थिएँ । यसै क्रममा मिति २०७४।०७।२० देखि २०७४।०८।२० गतेसम्म १(एक) महिनाको लागि म निवेदिकाको कलेजबाट स्थल अध्ययनका लागि खबर गरेकाले म रिट निवेदिकालाई एक महिनाको तलबी बिदा दिन समस्या हुने हुँदा बेतलबी बिदाका लागि रीतपूर्वकको निवेदन दिन मौखिक रूपमा सल्लाह दिएबमोजिम मिति २०७४।०७।२० देखि लागु हुने गरी ३० दिने बेतलबी बिदाको लागि प्रशासनसमक्ष मिति २०७४।०७।१६ गते निवेदन दर्ता गराएकी थिएँ । निवेदन दर्ता भई बिदा स्वीकृत भएको मौखिक जानकारी भएपछि बिदामा रहेकी थिएँ । बिचमा म रिट निवेदिकाको निवेदनबमोजिमको बिदा अस्वीकृत भएको सम्बन्धमा समेत अस्पताल प्रशासनबाट कुनै जानकारी दिइएन । यसरी म रिट निवेदिका ३० दिने बेतलबी बिदामा बसी बिदाको समयावधि सम्पन्न भएपछि मिति २०७४।०८।२० मा अस्पतालको काममा निरन्तरता दिन भनी उपस्थित हुँदा म निवेदिकाको नाम ड्युटी सूचीमा नभएकाले सो सम्बन्धमा सोध्दा तपाइँलाई रोजगारीबाट बर्खास्त गरिसकेको हुँदा तपाइँको ड्युटी सूचीमा नाम समावेश गर्न नमिल्ने जनाउ दिई मिति २०७४।०९।०३ मा मात्र ७ दिनभित्र स्पष्टीकरण पेस गर्न भनी म निवेदिकालाई स्पष्टीकरण को पत्र बुझाएकोमा म रिट निवेदिकाले समेत उक्त मितिको ३ दिनभित्र नै मिति २०७४।०९।०६ मा सत्य तथ्य बेहोराको स्पष्टीकरणसमेत पेस गरेकोमा निज विपक्षीबाट म निवेदिकालाई मिति २०७४।०९।१४ को पत्रले तपाइँ मिति २०७४।०७।२० गतेबाट बिदा स्वीकृत नगराई लगातार ३० दिनभन्दा बढी कार्यालयमा गैरहाजिर रहेको हुँदा यस अस्पतालको मिति २०७४।०९।१३ को निर्णयअनुसार यस अस्पतालको सेवाबाट बर्खास