निर्णय नं. १११८८ - क्षतिपूर्ति भराई पाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११८८ - क्षतिपूर्ति भराई पाऊँ भाग: ६५ साल: २०८० महिना: माघ अंक: १० फैसला मिति :२०७९/१२/१९ ३११३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।१२।१९ ०६९-CI-१०४३ मुद्दाः- क्षतिपूर्ति भराई पाऊँ पुनरावेदक/वादी : जुम्ला जिल्ला लाम्रा गा.वि.स. वडा नं. ४ घर भई सर्वोच्च अदालत रामशाहपथमा नायब सुब्बामा कार्यरत रही हाल अवकाशप्राप्त वर्ष ४८ को देवीकृष्ण चौलागाई विरूद्ध प्रत्यर्थी/प्रतिवादी : काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नं.१८ कुलेश्वर पारिजात सडक घर भई तत्काल वीर अस्पताल महाबौद्ध काठमाडौंमा कार्यरत भई अवकाश हुँदा हाल नर्भिक अस्पताल थापाथली तथा नेपाल मेडिकल कलेज जोरपाटी काठमाडौंमा कार्यरत डाक्टर मनोहरलाल श्रेष्ठसमेत हानि नोक्सानी पुगेको कुराको जानकारी भएपछि मात्र उजुर गर्नुपर्ने कारण सिर्जना हुने देखिएको र हानि नोक्सानी पुगेको जानकारी भएको मितिबाट ३५ दिनभित्रै उजुर परेकोलाई हदम्याद नाघी उजुर परेको भन्न नमिल्ने । (प्रकरण नं. ३) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री ज्योति बानिया र डा. श्री रमेश पराजुली र विद्वान् वैतनिक अधिवक्ता श्री अमिता गौतम प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : उपभोक्ता संरक्षण ऐन, २०५४ मुलुकी देवानी कार्यविधि संहिता, २०७४ सुरू तहको फैसला गर्ने : अध्यक्ष श्री लक्ष्मीप्रसाद ढकाल, प्रमुख जिल्ला अधिकारी सदस्य श्री रामचन्द्र सिंखडा, प्रतिनिधि उपभोक्ता संस्था सदस्य श्री बद्रिप्रसाद ओली, जिल्ला न्यायाधिवक्ता सदस्य श्री ईश्वरप्रसाद उपाध्याय, प्रतिनिधि, वरिष्ठ मेडिकल अफिसर सदस्य श्री किशोरकुमार अग्रवाल, प्रतिनिधि, उद्योग वाणिज्य महासंघ सदस्य सचिव श्री प्रेमप्रसाद पौडेल, प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय जिल्ला क्षतिपूर्ति समिति, काठमाडौं पुनरावेदन तहको फैसला गर्ने मा. न्या. श्री सुरेन्द्रवीर सिंह बस्न्यात मा. न्या. डा. श्री कूलरत्न भुर्तेल पुनरावेदन अदालत पाटन फैसला न्या. तिलप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ बमोजिम दायर भई हाल प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा (९) (१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः- मुद्दाको संक्षिप्त तथ्य मेरो पित्तथैलीमा रहेको पत्थरी अपरेसनका लागि वीर अस्पतालमा भर्ना भई मिति २०६२।६।३० मा पत्थरी अपरेसन भयो । तत्पश्चात् अपरेसनमा संलग्न डाक्टर मनोहरलाल श्रेष्ठ र डाक्टर प्रमोदकुमार अधिकारीले लेखाइदिएको औषधी सेवन गर्ने र अपरेसन गरेको घाउ ड्रेसिङ गर्दै जाँदा मलाई रोग निको हुनुको सट्टा झन् झन् व्यथा बढ्दै गई घाउ दुखेकोमा सोसम्बन्धी सम्पूर्ण बेहोरा जानकारी गराउँदा उपचारमा संलग्न डाक्टरले वास्ता नगरेको र शारीरिक पीडा सहन नसकेपछि ज्यान बचाउन लखनउ (भारत) गई उपचार गराई अपरेसन गर्दा पित्तथैलीमा GML6 Stone छुटेको भनी KK Hospital 87187, N.H.L. 226108P, 0522-2619049, 2619050, OPD, Date of admission 15-12-05, Bill No. 2155 र E.R.C.P. बाट झिकिएको रिपोर्टसमेतले प्रस्ट भएको हुँदा विपक्षीहरूको लापरबाहीका कारणले मेरो शारीरिक अवस्था बेकम्मा भएको हुँदा उपभोक्ता संरक्षण ऐन, २०५४ बमोजिम विपक्षीहरूबाट शारीरिक, मानसिक र औषधोपचार खर्चबापत रू.१८,४७,१७०।– क्षतिपूर्ति दिलाइपाउँ भन्नेसमेत बेहोराको वादी देवीकृष्ण चौलागाईको