निर्णय नं. १११९४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११९४ - उत्प्रेषण भाग: ६५ साल: २०८० महिना: फागुन अंक: ११ फैसला मिति :२०७८/११/११ १३९१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना आदेश मिति : २०७८।११।११ ०७८–WO-०००१ मुद्दाः उत्प्रेषण निवेदक : स्व. प्रताप राउत अहिरको नाति स्व. क्षत्री राउतको छोरा जिल्ला पर्सा गा.वि.स. हरपतगन्ज वडा नं.२ हाल परिवर्तित वीरगन्ज म.न.पा. वडा नं. २० बस्ने अ. वर्ष ७२ को देवनाथ राउतसमेत विरूद्ध प्रत्यर्थी : उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जसमेत लेनदेनको तमसुक लिखत हुँदाको अवस्थामा तत्काल प्रचलित मुलुकी ऐन, लेनदेन व्यवहारको महलको ८ र ९ नं. मा रहेका व्यवस्थाअनुसार घरका मुख्य भई व्यवहार गर्ने व्यक्तिको सहमति रहेको नदेखिएको अर्थात् तमसुक लिखतमा निजको सहीछाप नरहेको अवस्थामा अन्य अंशियारहरूको हक लाग्ने गोश्वारा धनबाट भरिभराउ गर्न नमिल्ने । यस अवस्थामा ऋणीको आफूखुस गर्न पाउने सम्पत्तिबाट मात्र बिगो भरिभराउ गरिदिनुपर्ने । मुद्दाका पक्षहरूबिच कानूनबमोजिम भएको मिलापत्रलाई निष्प्रयोजन तुल्याउने गरी व्यवाहारिक सुविधा वा असुविधाको कारण देखाएर ऋणीबाहेकका अंशियारहरूको अंशभागमा परेको सम्पत्तिबाट बिगो भराउन नमिल्ने; ऋणीकै नामको सम्पत्तिबाट बिगो भराइदिनुपर्ने । (प्रकरण नं. ३) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री मात्रिकाप्रसाद निरौला र विद्वान् अधिवक्ता श्री रामेश्वर सेडाई प्रत्यर्थीका तर्फबाट : विद्वान् अधिवक्ता श्री नन्दप्रसाद अधिकारी अवलम्बित नजिर : ने.का.प. २०७३ फाल्गुण, नि.नं. ९७१८, पृष्ठ २१६७ सम्बद्ध कानून : आदेश न्या. ईश्वरप्रसाद खतिवडा : नेपालको संविधानको धारा ४६ र १३३(२) र (३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ: तथ्यगत बेहोरा हामी निवेदकहरू देवनाथ राउत र दुलारी देवी पति पत्नी हौं । हाम्रो दाम्पत्य जीवनबाट ५ भाइ छोराहरूमा क्रमशः निवेदकहरू रामविदेश प्रसाद यादव, रामजनम प्रसाद यादव, रूपेस प्रसाद यादव, प्रत्यर्थी उमेशप्रसाद यादव तथा निवेदक सुमेश प्रसाद यादव हौं । निवेदकमध्ये म देवनाथ राउतले नै घरको मुख्य व्यक्तिको हैसियतले घर व्यवहार चलाई सगोलमा बसी आएका छौं । यसै क्रममा म रामविदेशले अन्य निवेदकहरूउपर पर्सा जिल्ला अदालतमा अंश मुद्दा गरेको थिएँ । सो मुद्दामा अंश लिने दिने गरी मिलापत्र भयो । सोबमोजिम दा.खा. गराउन मिति २०७५/११/१२ को पत्रसहित मालपोत कार्यालय जाँदा विभिन्न व्यक्तिहरूले प्रत्यर्थी उमेशप्रसाद यादवउपर अलग-अलग लेनदेन मुद्दा दायर गरी पर्सा जिल्ला अदालतको विभिन्न मितिका आदेशले म निवेदक देवनाथ राउतको नाउँ दर्ताको जिल्ला पर्सा गा.वि.स. हरपतगन्ज वडा नं. २ कि.नं. २८३ ज.वि. ०-१-६, ऐ. ऐ. कि.नं. ६२ ज.वि. ०-२-४, ऐ. वडा नं. १ कि.नं. १९ ज.वि. ०-११-०, ऐ. वडा नं. १ कि.नं. ४०९ ज.वि. ०-१-१०, म रामदुलारी देवीको नाउँ दर्ताको ऐ. वडा नं. २ कि.नं. ४२० ज.वि. ०-०-४ र हाम्रो पिता ससुरा हजुरबुबा स्व. क्षत्री राउतको नाउँमा ऐ. वडा नं. २ कि.नं. १४ ज.वि. ०-०-६ जग्गाहरू दोहोरो तेहोरो रोक्का भएको जानकारी हुन आयो । यसरी रोक्का राखेको थाहा भएपछि सो जग्गाहरू फुकुवाको निम्ति पर्सा जिल्ला अदालतमा निवेदन दिएका थियौं । उक्त निवेदन पर्सा जिल्ला अदालत इजलासमा पेस हुँदा रोक्का रहेको जग्गालाई ७ भाग लगाई १ भाग जग्गा रोक्का राखी बाँकी ६ भाग एकातर्फ पर्ने गरी कित्ताकाट गरी फुकुवा गर्न माल