निर्णय नं. १११९५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११९५ - कर्तव्य ज्यान भाग: ६५ साल: २०८० महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/०५/१५ २३९१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७९।०५।१५ ०७७-CR-०७६९ मुद्दाः- कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : जिल्ला पश्चिम रूकुम, साबिक पिपल गा.वि.स., वडा नं. २ हाल बाँफिकोट गाउँपालिका, वडा नं. १ लागिम घर भई हाल कारागार कार्यालय, अर्घाखाँचीमा थुनामा रहेका रमेश वि.क.समेत विरूद्ध प्रत्यर्थी / वादी : बिना घर्ती मगरको जाहेरीले नेपाल सरकार आवेश प्रेरित हत्यामा पीडितको कारणबाट पनि प्रतिवादीले आफूले आफैँलाई नियन्त्रण गर्न नसकी तत्काल उत्पन्न कुनै कारणबाट उत्तेजित भई आफ्नो कार्यबाट हुने परिणामको ख्यालै नगरी पीडितउपर आक्रमण गर्दा सोही आक्रमणको कारणबाट पीडितको मृत्यु भएको अवस्था हो । यसमा प्रतिवादीलाई उत्तेजित पार्ने काम पीडित अर्थात् मृतकबाटै हुनुपर्ने । यो उत्तेजना योजनाबद्ध वा पहिलेदेखि नै विद्यमान रहेको नभई तत्काल नै मृतकको व्यवहारका कारणले जन्मेको हुनुपर्ने र आत्मनियन्त्रण गुमाउने अवस्था थियो थिएन घटनाको परिस्थिति तथा मानवीय संवेदनशीलता जस्ता कुरामा भर पर्ने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ सुरू फैसला गर्ने : माननीय न्यायाधीश श्री रामचन्द्र पौडेल अर्घाखाँची जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा.न्यायाधीश श्री कृष्णकमल अधिकारी माननीय न्यायाधीश श्री राज्यलक्ष्मी बज्राचार्य उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छः तथ्य खण्ड जिल्ला अर्घाखाँची, सन्धिखर्क नगरपालिका, वडा नं. १२ डिभर्ना सिमलका रूख स्थित पूर्व निमान्द बस्यालको बारी, पश्चिममा सार्वजनिक जमिन, उत्तर भेषराज बस्यालको जमिन (खर्‍यान), दक्षिण हुमप्रसाद बस्यालको जमिन यति चार किल्लाभित्र बस्याल टोलादेखि टाकुरातर्फ जाने कच्ची सडक सो सडकदेखि अं. १५ फिट दक्षिण बुद्धिराम बस्यालको खर्‍यानमा पर्ने सिमलको रूख भन्ने खोल्सामा बाँसको गाँजमुनि पहेंलो रंगको प्लास्टिकको बोरा टाउकोतर्फ र सेतो रंगको प्लास्टिकको बोरा कम्मरदेखि मुनि खुट्टातर्फ भई उत्तर टाउको, बायाँ हरले भुइँ टेकेको अवस्थामा अधवैंशे पुरूष व्यक्ति (पछि मात्र खुलेको धनबहादुर घर्ती मगर) को शव फेला परेको, उक्त बोरा खोली हेर्दा शवको घाँटी र खुट्टामा हरियो रंगको डोरीले बाँधेको, लासमा औंसा किरा परेको, अनुहार नचिनिने, सम्पूर्ण शरीर सडिसकेको, दुर्गन्धित भएको मृतकको बायाँ हातमा सिल्भर रंगको Millenium कम्पनीको घडी लगाएको, सम्पूर्ण शरीर कालो भएको, मृतकको शरीरमा भेस्ट (खैरो भएको) खैरो हाप कट्टु लगाएको, Boman Animal लेखिएको सेतो, गुलावी, खैरो रंगको पेन्टी लगाएको, कम्मरमा कालो बेल्ट बाँधेको, बोरा तथा मृतकको शरीर एवम् कपडा भिजेको अवस्थामा रहेको सो स्थान वरपरका घाँसहरू नमडारिएको, उक्त शवलाई पोस्टमार्टमको लागि प्रहरीले लगेको ठिक हो । साथै तत्काल शवको पहिचान नभएकोले मृतकको घाँटी र खुट्टामा बाँधेको डोरी, हातको घडीसमेत बरामद गरेको भन्ने बेहोराको लास जाँच प्रकृति मुचुल्का । जिल्ला अर्घाखाँची, सन्धिखर्क नगरपालिका,