निर्णय नं. ११२०५ - धर्मलोपसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२०५ - धर्मलोपसमेत भाग: ६५ साल: २०८० महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/११/१८ ११४८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।११।१८ ०७४-CI-०३९८ मुद्दा: धर्मलोपसमेत पुनरावेदक / वादी : रत्नबहादुरको नाति, भैरवबहादुरको छोरा, साबिक भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.९ चोछें घर भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.६ बौद्ध बस्ने रामकाजी कायस्थ विरूद्ध प्रत्यर्थी / प्रतिवादी : रत्नमानको नाति, रत्नलालको छोरा, गोपाल कायस्थ परलोक भई निजकी पत्नी काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.१६ बस्ने भवानी कायस्थसमेत हदम्यादको प्रश्न कानूनी प्रश्न हुन्छ । कानूनले नै यो यस्तो विषयमा नालिस गर्ने हदम्याद यति हुन्छ भनी व्यवस्था गरेको वा जहिलेसुकै पनि नालिस गर्न पाउने गरी खुला हदम्यादको व्यवस्था गरेको रहेछ भने अदालतले त्यस्तो कानूनी व्यवस्थाको विपरीत आफ्नो विवेक प्रयोग गरेर निश्चित अवधिको हदम्याद तोकेकोमा जहिलेसुकै पनि नालिस लाग्ने गरी व्याख्या गर्न वा जहिलेसुकै पनि नालिस गर्न पाउने गरी खुला हदम्यादको व्यवस्था गरेकोमा यति अवधिभित्रै नालिस गर्नुपर्ने गरी हदम्यादको सङ्कुचन गर्न नमिल्ने । (प्रकरण नं.३) शेषपछिको दानपत्रबमोजिम गुठी राखिएका जग्गाहरू गुठीको लिखतबमोजिमको काममा प्रयोग नभई बेचबिखनलगायतको कार्यहरू गरी धर्मलोप गरेको भन्ने प्रश्न समावेश भएको देखिएको र यस्तो विषयमा मुलुकी ऐन, गुठीको महलको १६ नं. ले निश्चित अवधिभित्रै नालिस गर्नुपर्ने गरी हदम्यादको व्यवस्था गरेको नदेखिँदा ४७ वर्षपछि नालिस पर्न आएको बेहोरालाई आधार बनाई विवादको तथ्यभित्रै प्रवेश नगरी फिराद हदम्यादभित्रको नदेखिएको भनी मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८० नं. बमोजिम भनी फिराद खारेज गर्न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सिताराम तिवारी र विद्वान् अधिवक्ता श्री जगदिशचन्द्र पाण्डे प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री बाबुराजा जोशी र श्री ताराबहादुर सिटौला तथा विद्वान् अधिवक्ताहरू श्री रामभक्त सुवाल, श्री प्रियहरि भण्डारी र श्री चिरञ्जीवि खतिवडा अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने मा.जिल्ला न्यायाधीश श्री श्रीकृष्ण भट्टराई भक्तपुर जिल्ला अदालत पुनरावेदन तहको फैसला गर्ने : माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी माननीय न्यायाधीश श्री युवराज सुवेदी पुनरावेदन अदालत पाटन फैसला न्या.तिलप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) बमोजिम तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलाउपर मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनसरह दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- मुद्दाको संक्षिप्त तथ्य मेरा कान्छाबाजे रत्नमोहन कायस्थले मेरा पिता भैरवबहादुर कायस्थ, विपक्षी भवानीका पति गोपाल कायस्थ, दीर्घमान कायस्थ र कृष्णभक्त कायस्थसमेतले गुठी चलाउने गरी मिति २०१३।५।१२ मा र.नं. २९२ बाट शेषपछिको दानपत्र पारित गरी दिएकोमा उक्त जग्गा २०२१ सालको नापीमा भक्तपुर जिल्ला, चित्तपोल गा.वि.स. वडा नं.१(ङ) कि.नं.५५ को क्षेत्रफल ०-१३-२ र कटुन्जे गा.वि.स. वडा नं.१(ख) कि.नं.२२० को क्षेत्रफल १-१२-० कायम भई कि.नं.२२० को जग्गाधनी महलमा दीर्घमान कायस्थ जनिएकोमा निजको मृत्युपश्चात् निजका छोरा विपक