निर्णय नं. ११२१९ - उत्प्रेषणयुक्त परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२१९ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ६५ साल: २०८० महिना: चैत्र अंक: १२ फैसला मिति :२०८०/०२/१६ २५३७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०८०।२।१६ ०७९-WO-११३९ विषय: उत्प्रेषणयुक्त परमादेशसमेत निवेदक : नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको तर्फबाट अख्तियारप्राप्त ऐ.का उपमहासचिव युवाचन्द्र घिमिरे विरूद्ध विपक्षी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत खुला प्रतिस्पर्धाबाट आउने कर्मचारीलाई सुरू तलबमान दिइने कानूनी व्यवस्था भए तापनि सुरू नियुक्ति लिने गरी खुला प्रतिस्पर्धामा भाग लिने कर्मचारी र निजामती सेवामा कार्यरत कर्मचारीहरूसमेत खुला प्रतिस्पर्धामार्फत नियुक्ति भई आउनसक्ने प्रावधान कानूनमा राखिएको, निजामती सेवामा कार्यरत कर्मचारीको हकमा निजहरूको साबिक पदमा सञ्चित रहेको बिदा, कोषकट्टीको विवरण, पुरस्कार र सजायको अभिलेखलगायतका विवरणसमेत खुला प्रतिस्पर्धाबाट आउँदा पनि निजको व्यक्तिगत अभिलेखमा निरन्तर रहने र निजहरूले निजामती सेवाको तल्लो पदमा कार्य गरिरहेको समेतबाट निजहरूको हकमा सेवाको निरन्तरता मान्नुपर्ने । यस्तो अवस्थामा खाइपाइ आएको तलब नै घट्ने गरी सुरू नियुक्ति मान्न नसकिने हुँदा निजहरूलाई सुरू तलबमान बराबरको तलबभत्ता उपलब्ध गराउनु न्यायोचित नदेखिने । (प्रकरण नं.१२) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रमेश वडाल र विद्वान् अधिवक्ता श्री मुकुन्द अधिकारी विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सुर्यराज दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : निजामती सेवा ऐन, २०४९ नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१० आदेश न्या.सपना प्रधान मल्ल : नेपालको संविधानको धारा ४६ र १३३ (२)(३) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छः- संक्षिप्त तथ्य सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवामा बहाल रहेको कर्मचारीले लोक सेवा आयोगद्वारा विज्ञापन गरेको खुलातर्फको माथिल्लो पदमा उम्मेदवार भई उत्तीर्ण गरी पदोन्नतिसहितको नियुक्ति भएमा ग्रेड समायोजन नहुने भनी मिति २०७९।११।११ मा गरेको निर्णयले नेपालभरका निजामती कर्मचारीहरूलाई मर्का पर्न गएको हुँदा कर्मचारीको हकहितको लागि सार्वजनिक सरोकारको विषय भएकोले प्रस्तुत रिट निवेदन दायर गरेको छु । निजामती सेवा ऐन, २०४९ को दफा ७ख. को उपदफा (२) मा कानूनी व्यवस्था रहेबमोजिम निजामती किताबखानाबाट मिति २०७०/०९/०९ गते पारित भएको तलबी प्रतिवेदनमा खुला प्रतिस्पर्धाबाट पास गरी रमाना लिई जाने कर्मचारीको तल्लो पदबाट टाइम स्केस मिलान (ग्रेड समायोजन) गर्नुपर्ने रहेछ भने नियमित बढुवा भएसरह मानी टाइम स्केल मिलान (ग्रेड समायोजन) गर्ने भनी निर्णय भएकोमा निजामती सेवा ऐन तथा नियमावलीमा संशोधन नै नभएको अवस्थामा सो निर्णयलाई परिवर्तन गर्ने गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव स्तरीय मिति २०७९/११/११ गतेको निर्णय बदरभागी रहेको छ । निजामती सेवा ऐन, २०४९ को दफा ५८ मा कुनै पनि निजामती कर्मचारीलाई निजको नियुक्ति हुँदा तत्काल लागु रहेको तलब, उपदान, निवृत्तिभरण, अन्य सुविधा सम्बन्धित सेवाका सर्त निजको स्वीकृतिबेगर निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन नगरिने र पछि संशोधन गरी कुनै प्रकारको असर पर्ने भएमा मन्जुर गर