निर्णय नं. ४२७४ - निषेधाज्ञा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२७४ - निषेधाज्ञा भाग: ३३ साल: २०४८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४८/०२/०९ ४४८५ निर्णय नं. ४२७४ ने.का.प. २०४८ अङ्क २, ३, ४ संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४५ सालको दोस्रो दे. पु.नं. ६८८ आदेश भएको मिति : २०४८।२।९।५ मा पुनरावेदक/प्रत्यर्थी: का.न.पं. वा.नं. १३ बस्ने कृष्णबहादुर श्रेष्ठ विरुद्ध रेस्पोण्डेण्ट/निवेदक: ल.पु.न.पं. वा.नं. १२ बस्ने तुल्सीभक्त श्रेष्ठ विषय : निषेधाज्ञा (१) विवादित घरजग्गातर्फ हक बेहकमा अदालतमा मुद्दा परेको कारणबाट घरको आकृति बिग्रने आशंका भयो सो रोकी पाउँ भनी परेको निवेदनमा निषेधाज्ञा जारी नहुने हो भने निषेधाज्ञाको आदेशको निस्प्रयोजन हुन जान्छ, निषेधाज्ञाको आदेशले न त हक बेहक गराउँछ न त यसले कसैको हकको सृजना गर्छ, यो त यथास्थिति कायम राख्ने Preventive उपचारको बाटो हो । (प्रकरण नं. १०) (२) निवेदनमा उल्लेख गरिएको घरको सम्बन्धमा अदालतमा हक बेहकमा मुद्दा परेको छ भने त्यस्तो अवस्थामा विवादको घर जग्गा हटाउने भत्काउने वा त्यसको आकृतिमा परिवर्तन गर्ने आशंका विद्यमान भएको अवस्थामा निषेधाज्ञाको आदेश जारी गरी त्यस्तो विवादित सम्पत्तिको यथास्थितिको कायम गर्नु नै न्यायोचित हुने । (प्रकरण नं. ११) (३) निवेदकले दावी गरेको घर जग्गामा प्रतिवादीबाट घर भत्काउने, आकृति अनुहार परिवर्तन गर्ने आंशकाको स्थिति (साविक पेज नं. १३१) विद्यमान देखिएको र यस्तो अवस्थामा यथास्थिति कायम राख्न निषेधाज्ञाको आदेश जारी गर्न मिल्ने । (प्रकरण नं. १२) पुनरावेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने अवलम्बित नजीर : रतनलाल अग्रवाल वि. फादर जेम्स ट्रेस म्यान भएको नि.नं. २९८७ को निषेधाज्ञा मुद्दामा पूर्णइजलासबाट प्रतिपादित सिद्धान्त । आदेश न्या.त्रिलोकप्रताप राणा १. श्री मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर यस अदालतमा पर्न आएको प्रस्तुत निवेदनको छोटकरी व्यहोरा निम्न प्रकार छ । २. मेरो साविक ताहाचल गा.पं. वा.नं. १ कि.नं. ४७ को ०–५–० जग्गा मिति २०२७।११।९ मा राजीनामा प्राप्त गरी मिति २०२८।३।६ को गुठी जग्गा कार्यालयको पर्चा बमोजिम मेरो नाममा दर्ता भएको जग्गामा घर बनाई हाल मेरो नाममा कि.नं. ११९ कि.का. भई ज.ध. प्रमाण पुर्जा समेत प्राप्त गरेको हुँ । उक्त घरमा मैले विपक्षीलाई मौखिक शर्तमा बहालमा दिएकोमा विपक्षीले बहाल पनि नदिएको र घर खाली पनि नगरेकोले सो सम्बन्धमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छु । तर विपक्षीले मेरो घर भत्काई दिन्छु भनी छेउमा ईंटा ढुंगा समेत जम्मा गरी घरको आकृति नै बिग्रिने संभावना भएकोले नागरिक अधिकार ऐन, २०१२ को दफा ६(१) बमोजिम प्रदत्त सम्पत्ति सम्बन्धी हकमा प्रतिकूल असर पार्ने स्थिति भएकोले ऐ.१७ बमोजिम निवेदन गर्न आएको छु । मेरो माथि उल्लेखित जग्गामा कुनै पनि निर्माण कार्य नगर्नु घर जे जस्तो अवस्थामा छ सोही अवस्थामा राख्नु भन्ने विपक्षीको नाममा स्थायी निषेधाज्ञा जारी गरी पाउँ भन्ने समेत व्यहोराको तुलसीभक्त श्रेष्ठको श्री बा.अं.अ.मा परेको निवेदनपत्र । ३. निवेदन जिकिर झुठ्ठा हो । उक्त कि.नं. ४७ को जग्गा १–१०–२ पचली भैरव दीपमाला गुठीको जग्गा हो । सो जग्गा नापी हुँदा जोताहा पूर्ण महर्जन र किसानको व्यहोरामा पुतली नानीसंग मोहियानीमा लिई जोती आएको भनी क्षेत्रीय किताबमा जनिएको थियो । त्यसपछि २ आना जग्गा विष्