निर्णय नं. ११२२५ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२२५ - उत्प्रेषणसमेत भाग: ६५ साल: २०८० महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/१०/२२ १५८३५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ आदेश मिति : २०७९।१०।२२ ०७४-WO-०३१८ विषयः उत्प्रेषणसमेत निवेदक : स्व. भवानीरत्न यमीको बुहारी स्व. धर्मरत्न यमीको श्रीमती का.जि.का.म.न.पा. वडा नं. २८ भुरूङखेल बस्ने वर्ष ६६ की सावित्रीदेवी यमी विरूद्ध विपक्षी : नेपाल सरकार मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंसमेत जिउनीबापत पाएको सम्पत्ति रजिस्ट्रेसन गरी लिँदा त्यसमा कुनै किसिमले हक हस्तान्तरण गर्न नपाइने भनी सर्त उल्लेख भएकै आधारमा सो जग्गा आफूखुस गर्न पाउने वा बेचबिखन गर्न पाउने हो होइन भन्ने सम्बन्धमा हेर्दा सामान्यत: कानूनबमोजिम दर्ता गर्नुपर्ने वा नपर्ने कुनै पनि लिखतमा कानूनविपरीत कुनै सर्त लेखिएको र त्यस्तो लिखत आधिकारिक निकायमा दर्ता भए पनि सो कानूनविपरीत लेखिएको सर्त पालना गर्नुपर्ने दायित्व कुनै पक्षको हुन्छ भन्न नमिल्ने । जिउनीलाई अंशको नै प्रकार मानी अंशसरह नै उपभोग प्रयोग तथा उक्त सम्पत्तिको हक हस्तान्तरणसमेत गरी आफूखुस गर्न पाउने सम्पत्तिको रूपमा मान्नुपर्ने । यसरी पारित भएको लिखतमा कानूनविपरीत लेखिएका कुनै सर्तले सो सम्पत्तिको प्रयोग र चलनमा कुनै बाधा अवरोध सिर्जना गर्दछ भने त्यस्ता सर्तलाई सम्पत्तिका स्वामीले मान्न बाध्य हुने भन्न नमिल्ने । जीवनयापन गर्नका लागि भनी पाएको जिउनीको सम्पत्ति प्रयोग गरी आफ्नो जीवन रक्षा गर्न र सम्मानपूर्वक बाँच्न नपाउने हो भने त्यस्तो सम्पत्तिलाई जिउनी भन्न सकिने अवस्था पनि नहुने । (प्रकरण नं. १०) जीवनको अधिकार सम्पत्तिको अधिकारसँग जोडिएको हुने र सम्पत्तिसम्बन्धी अधिकार भोग गर्न नपाएमा जीवनको अधिकारको कुनै अर्थ नरहने हुँदा बासस्थान निर्माणको लागि रिट निवेदकले जिउनीबापत प्राप्त गरेको जग्गा अंशसरह प्रयोग गरी हक हस्तान्तरण गर्न पाउने । (प्रकरण नं. १२) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री इन्द्र खरेल र श्री शम्भु थापा तथा विद्वान् अधिवक्ता श्री शान्तिराम खतिवडा विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री डिल्लीप्रसाद पौडेल र श्री मुकुन्दराज श्रेष्ठ तथा विद्वान् अधिवक्ताद्वय श्री सन्तकुमार बाँस्कोटा र श्री दिनेशलाल श्रेष्ठ अवलम्बित नजिर : ने.का.प.२०६३, अङ्क ४, नि.नं. ७६८८ ने.का.प.२०४९, अङ्क २, नि.नं.४४६९ ने.का.प. २०६२, अङ्क ९, नि.नं.७५८८ ने.का.प. २०४६, अङ्क ६, नि. नं. ३८५० सम्बद्ध कानून : नेपालको संविधान मालपोत ऐन, २०३४ आदेश न्या. कुमार रेग्मी : नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२) र (३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः तथ्य खण्ड मेरो पति धर्मरत्न यमीको पहिलो श्रीमती हिरादेवी यमी २०२४ सालमा परलोक भएपछि पति धर्मरत्न यमीले मलाई २०२५ सालमा विवाह गर्नुभएको हो । पति धर्मरत्न यमी र हिरादेवीको तर्फबाट जायजन्म भएका सन्तानहरूमा छोरा विधान रत्न यमी-१ र छोरीहरूमा धर्मदेवी-१, तिमीला-१, न्छेशोभा-१, चिढिक शोभा-१, क्यःदेवी-१, हिसला-१ समेत जना ६ गरी जम्मा ७ जना सन्तानको जायजन्म भएको हो । सम्पूर्ण सन्तानको विवाहदान भइसकेको छ भने छोरा विधानरत्न यमीको मिति २०७२।१०।०६ मा परलोक भइसकेको छ । विधानरत्न यमीको श्रीमती प्रत्यर्थी दिलतारा यमी हुन् । मेरोतर्फबाट कुनै सन्तानको जायजन्म नहुँदै पति ध