निर्णय नं. ११२३५ - भन्सार चोरी पैठारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२३५ - भन्सार चोरी पैठारी भाग: ६६ साल: २०८१ महिना: बैशाख अंक: १ फैसला मिति :२०७८/०८/२७ १०६० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश डा.श्री कुमार चुडाल फैसला मिति : २०७८।८।२७ ०७१-RB-००३६ मुद्दा: भन्सार चोरी पैठारी पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका वडा नं. १० स्थित श्री राम आभुषण ट्रेडर्सको प्रोपाइटर ऐ.ऐ बस्ने प्रभुप्रसाद सर्राफ विरूद्ध प्रत्यर्थी / वादी : राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर कुनै पनि वस्तु वा सामान कसैले कानूनबमोजिम प्राप्त गरेको हो भने सोको स्पष्ट विवरणसहितको आधिकारिक र प्रामाणिक कागजात निजसँग हुनुपर्ने । त्यस्तो कागजात कानूनबमोजिमको अख्तियारीप्राप्त अधिकारीले माग गरेमा सो बखत पेस गर्नु अनिवार्य हुने । त्यसरी माग भएका अवस्थामा त्यस्ता कागजात पेस गर्न सकिँदैन भने त्यस्ता वस्तु अवैध रूपमा प्राप्त गरेको मान्नुपर्ने । सुन खरिदको बिल बीजकलगायतका प्रतीतलायक प्रमाणहरू पेस गर्न नसकेको अवस्थामा भन्सार ऐन, २०६४ को दफा ३८ अनुसार चोरी पैठारी गरेको मानिने । (प्रकरण नं. ४) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री नारायण नेपाल प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली अवलम्बित नजिर : सम्बद्ध कानून : भन्सार ऐन, २०६४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने:- मा. अध्यक्ष श्री दीपककुमार कार्की लेखा सदस्य श्री भोलाप्रसाद खकुरेल राजस्व सदस्य श्री यज्ञबल्क उपाध्याय राजस्व न्यायाधिकरण काठमाडौं फैसला न्या. प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड सुराकीको सुराकको आधारमा भारत घर भएका पिताम्बर भन्ने मानिसले अवैध रूपमा सुन नेपालबाट भारततर्फ लग्दैछन् भन्ने जानकारी प्राप्त भई निजको खोजतलास गर्दै जाने क्रममा मिति २०६९।४।२३ गते काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.१४ कलंकीमा निज पिताम्बर पासवानलाई फेला पारी निजको शरीर तलासी लिँदा शरीर कम्मरमा गम्छाले बेरी लुकाइराखेको अवस्थामा चारवटा सुनको टुक्रा तौल १(एक) के.जी.फेला परी आवश्यक कारबाहीको लागि बरामदी सुनसहित निज पिता पासवानलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको मिति २०६९।४।२४ को पत्रसाथ दाखिला हुन आएकोमा दाखिला हुन आएको सुनको केन्द्रीय अनुसन्धान ब्युरोको कर्मचारीको रोहबरमा तौल गर्दा ९९९.०८८ ग्राम (नौ सय उनान्सय ग्राम अठासी मिलिग्राम) भएको उक्त सुन चोरी पैठारी गरी ल्याएको हुँदा भन्सार ऐन, २०६४ को दफा ५७(१) बमोजिम जफत गरी लिलाम बिक्रीबाट प्राप्त हुने रकमबाट पुरस्कारसमेत पाउँ भन्ने प्रहरी नायब महानिरीक्षक श्री उपेन्द्रकान्त अर्यालसमेतको अभियोग प्रतिवेदन । मिति २०६९।४।२३ मा सुनसहित पक्राउ परेका पिताम्बर पासवानले राजस्व अनुसन्धान विभागका निर्देशक श्री मोहनबहादुर चन्दसमक्ष मिति २०६९।४।२६ मा “मेरो साथबाट बरामद भएको सुन वीरगन्जको सुन व्यवसायी प्रभुप्रसाद सर्राफको हो । सो सुन विशाल बजारस्थित इलेक्ट्रोनिक पसलबाट (बिक्की मारवाडीको) किनेको हो । बस छुट्ने हतारले बिल लिन बिर्सेको हो । सुरक्षाको कारणले कम्मरमा बाँधेर लैजान लागेको हो । विक्की मारवाडी र प्रभुप्रसाद सर्राफलाई उपस्थित गराउन सक्छु । मलाई भन्सार ऐनबमोजिम कारबाही ह