निर्णय नं. ११२३७ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२३७ - अंश चलन भाग: ६६ साल: २०८१ महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०७/१८ ११८९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।७।१८ ०७३-CI-०५७३ मुद्दा:- अंश चलन पुनरावेदक / प्रतिवादी : भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.१५ बस्ने गणेशबहादुर फाँजु विरूद्ध प्रत्यर्थी / वादी : भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.१५ बस्ने लक्ष्मीभक्त फाँजु साहुले ऋण असुल भइसकेपछि आसामीको तर्फबाट ऋण चुक्ता गर्न जाने अंशियारले भनेबमोजिम तमसुकमा कैफियत बेहोरा लेखिदिन सक्ने तथ्यलाई न्यायको रोहमा सजगतापूर्वक हेर्नुपर्ने । प्रतिवादीले सगोलको सम्पत्तिबाट ऋण तिरेका नभई निजी आर्जनबाट तिरेको भन्ने स्वतन्त्र प्रमाणको अभावमा सगोलमा पिताको नाममा लिएको ऋण सगोलको पैतृक सम्पत्तिबाटै तिरे बुझाएको भनी मान्नुपर्ने । घरसारको बन्डापत्रबमोजिमको सम्पत्ति दाखेल खारेज नभई बन्डापत्र कार्यान्वयन नै नभएको र सोही कारण वादी प्रतिवादीबिच अंशबन्डा भएको मान्न नसकिएको अवस्थामा मानो छुट्टिएको मितिपूर्व पिताका नाममा भएको ऋण चुक्ता गरी निखनी आएको सम्पत्ति एकजना अंशियारले मात्र पाउने भन्नु न्यायोचित नदेखिने । (प्रकरण नं. ४) मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. ले मानो नछुट्टिई सँगै बसेको अंशियारहरूबिच सगोलको सम्पत्तिबाट बढेबढाएको सगोलको आर्जन मात्र बन्डा लाग्ने । मानो छुट्टिई आ-आफ्नो खतीउपती हुने गरी भिन्न बसेका अंशियारहरूको हकमा मानो छुट्टिएपछि कमाएको धन वा लगाएको ऋण अंशियारहरूलाई बन्डा लाग्न नसक्ने । (प्रकरण नं. ५) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल र श्री युवराज भण्डारी तथा विद्वान् अधिवक्ता श्री गंगाबहादुर फाँजु प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा र श्री देवीप्रसाद दाहाल तथा विद्वान् अधिवक्ता श्री सपना सुवेदी अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने: मा. जि. न्या. श्री बालेन्द्र रूपाखेती भक्तपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. न्या. श्री टेकराज नेपाल मा. न्या. श्री शारङ्गा सुवेदी पुनरावेदन अदालत पाटन फैसला न्या. नहकुल सुवेदी : साबिक न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भई प्रतिवादीको पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:- संक्षिप्त तथ्य बाबु हर्षबहादुर फाँजु र आमा दातीमाया फाँजुका ३ छोराहरूमा जेठो विपक्षी गणेशबहादुर, माइलो म लक्ष्मीभक्त र कान्छो पानबहादुर भएकोमा बाबु हर्षबहादुर र आमा दातीमायाको तथा कान्छो भाइ पानबहादुर अविवाहित अवस्थामा नै परलोक भएको, हामी वादी प्रतिवादीबिच हालसम्म अंशबन्डा नभई सगोलमा नै बस्दै आएको र बाबु आमा र भाइको मृत्युपश्चात् काजक्रियासमेत सगोलबाटै गरेको हो । सम्पूर्ण श्रीसम्पत्ति एकासगोलमा नै भएको कारण घर व्यवहार चलाउन असजिलो भएकोले रीतपूर्वक अंश भाग गरौँ भन्दा उल्टै गाली गलौज गरी धाक धम्की दिई इन्कार गरेकोले एकासगोलको सम्पूर्ण श्रीसम्पत्ति प्रतिवादीकै कब्जामा भएकोले उक्त सम्पत्तिको तायदाती फाँटवारी प्रतिवादीबाट दाखिल गराई उक्त सम्पत्तिलाई २ भाग लगाई १ भाग मेरो अंश भाग छुट्याई चलनसमेत चलाइपाउँ भन्नेसमेत बेहोराको लक्ष्मीभक्त फाँजुका तर्फबाट परेको फिराद दाबी । विपक्षीको पुस्तेवारी अपूर्ण छ । क