निर्णय नं. ११२४६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२४६ - उत्प्रेषण भाग: ६६ साल: २०८१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७७/१२/०५ ८२५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०७७।१२।५ ०७५-WO-१२४३ विषय: उत्प्रेषण निवेदक : जिल्ला चितवन, शिवनगर गा.वि.स. वडा नं. ८ परिवर्तित भरतपुर महानगरपालिका वडा नं. १४ घर भई हाल निजामती सेवाअन्तर्गतको कृषि सेवाअन्तर्गत ३ नं. प्रदेशको कृषि विकास निर्देशनालयको प्रमुख (रा.प. प्रथम श्रेणी (प्रा.), सहसचिवको) पदमा कार्यरत रही हाल प्रदेश नं. ५ मा समायोजनमा परेकी जानुका पण्डित विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत निवेदकको समायोजन गरिएको अवस्थामा प्रसुति तथा स्वास्थ्यका कारणबाट निज बिदामा रहेको र निजको काखमा एक वर्षकी छोरी रहेकोले एकातिर राष्ट्रसेवकको जिम्मेवारी र कर्तव्य निर्वाह गर्नुपर्ने अवस्था छ भने अर्कोतिर शिशुबालकको आमाको जिम्मेवारीसमेत सम्हाल्नुपर्ने हुन्छ । यस्तो अवस्थामा रहेका महिलाको सन्दर्भमा नेपालको संविधानको धारा ३८(२) द्वारा प्रदत्त सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी मौलिक हकलाई समुचित ध्यान दिन सकेको नदेखिने । यस स्थितिमा निवेदकको हकमा एकपटक संघमा समायोजन भइसकेकोमा पुनः प्रदेशमा समायोजन गर्दा निजको वृत्ति विकासमा आउन सक्ने अवरोध, संविधान प्रदत्त मौलिक हक तथा राज्यले अवलम्बन गरेको समावेशी नीतिलाई सम्बोधन गर्ने गरी निर्णयमा पुग्नुपर्नेमा विपक्षीहरूबाट सो कार्य भए गरेको नदेखिएको परिप्रेक्ष्यमा निवेदकलाई प्रदेशमा समायोजन गर्ने विपक्षीको निर्णय कामकारबाहीलाई कानूनसम्मत मान्न नमिल्ने । (प्रकरण नं. ४) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री केदारप्रसाद दाहाल विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री हरिप्रसाद जोशी अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान कर्मचारी समायोजन ऐन, २०७५ निजामती सेवा ऐन, २०४९ आदेश न्या. प्रकाशमान सिंह राउत : नेपालको संविधानको धारा ४६ र १३३ को उपधारा (२) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यसप्रकार छ:- तथ्य खण्ड म निवेदिका मिति २०६६।४।१६ मा रा.प. तृतीय (प्रा.) पदमा नियुक्ति भएको र मिति २०७३।१२।३ मा रा.प. प्रथम श्रेणीमा स्थायी नियुक्ति पाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको बजार अनुसन्धान तथा तथ्याङ्क व्यवस्थापन कार्यक्रमको प्रमुखको रूपमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत रहेकी थिएँ । यसैबिच मैले मिति २०७५।१।२४ बाट प्रसूति बिदा लिई आएको र सोही क्रममा मेरो स्वास्थ्यसमेतको कारणले थप बेतलबी बिदासमेत पटकपटक लिनुपरेको थियो । यसरी बेतलबी बिदा लिएकै अवस्थामा मलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २०७५।५।१३ को पत्रबमोजिम कृषि विकास निर्देशनालयको प्रमुखको रूपमा प्रदेश नं. ३ मा कामकाज गर्न खटाइएको पत्र दिएको थियो । उक्तबमोजिम मेरो बेतलबी बिदासमेत मिति २०७५।१०।२७ मा समाप्त भई कार्यालयमा कामकाज गरी आएकी छु । सोही अवधिमा उक्त कर्मचारी समायोजन ऐन, २०७५ को दफा ५ बमोजिम प्रत्यर्थीहरूले समायोजन हुनको लागि उपयुक्तताको लागि सूचित गरेकोमा म बिदामा रहेको कारण तत्काल उक्तबमोजिम निवेदन दिन छुटेको थियो । यद्यपि मेरो सेवा संघअन्तर्गत नै समायोजन हुने भनी मिति २०७५।१०।२१ मा सूचना प्रकाशित गरेकोमा आफूले