निर्णय नं. ११२४७ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२४७ - जबरजस्ती करणी भाग: ६६ साल: २०८१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७९/१२/२४ २०४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला मिति : २०७९।१२।२४ ०७४-CR-१४९७ मुद्दाः- जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : बागलुङ जिल्ला, साबिक खुँगा गा.वि.स. वडा नं. ८ को हाल ऐ. ढोरपाटन नगरपालिका, वडा नं. ४ बस्ने स्व. पहलसिंह अर्गेजाको छोरा धनबहादुर अर्गेजा विरूद्ध प्रत्यर्थी / वादी : नाम थर परिवर्तन गरिएकी ४५(११) को जाहेरीले नेपाल सरकार व्यक्तिले कुनै घटनाका बारेमा लामो समयपछि व्यक्त गर्दा पहिलेको बेहोरासँग सामान्य फरक पर्नु सामान्य भए पनि घटनाको प्रकृति र मुद्दाको स्वरूपमा नै बदलाव आउने गरी जाहेरीमा प्रतिवादीले बन्दुक बोकेको सम्बन्धमा उल्लेख नगरेको अवस्थामा बकपत्रमा प्रतिवादीले बन्दुकसमेत साथमा लिएको भनी उल्लेख गरेको कुरालाई सामान्य मान्न मिल्दैन । यसबाट घटनाको प्रकृति र प्रतिवादीलाई लाग्न सक्ने कसुरमा समेत भिन्नता आउने गरी भएको बकपत्रमा सामान्य फरक परेको मात्र भन्न मिल्दैन । त्यसैले मौकाको जाहेरी बेहोरा र जाहेरवालीको अदालतको बकपत्रमा तात्त्विक फरक परी विरोधाभाषपूर्ण रहेको देखिन्छ । यसरी, अनुसन्धानका क्रममा सङ्कलित प्रमाणहरू न्यायिक परीक्षणका क्रममा समर्थित नभई परस्पर विरोधाभाषपूर्ण रहेको देखिएमा त्यस्ता प्रमाणहरूका आधारमा कसैलाई कसुरदार ठहर गर्न नमिल्ने । (प्रकरण नं. २) श्रीमतीउपर जबरजस्ती करणी गरेको देख्ने जाहेरवालीका श्रीमान्‌ले आवश्यक प्रतिकार तथा गुहार मागी समयमै घटनाको जाहेरी नदिएबाट पनि घटना वारदातको विश्वसनीयतामा शङ्का संशय पैदा हुन पुगेको देखिन्छ । मुद्दामा तोकिएको हदम्यादभित्र जाहेरी दिन सक्ने कुरालाई नकार्न नसकिए पनि घटनाको बारेमा जतिसक्दो छिटो जाहेरी तथा सूचना दिएको खण्डमा मात्र घटनाको वास्तविकतासम्म पुग्न सकिने हुँदा यसतर्फ जाहेरवाला तथा वादी पक्ष सजग हुनु त्यति नै महत्त्वपूर्ण हुन जान्छ । प्रतिवादी र पीडित पनि एकै समाजको छिमेकी भएका कारण समाजमा तथा छिमेकीमा हुने व्यवहार तथा सम्बन्धहरूले पनि यस्ता घटना प्रभावित हुने र त्यस्ता कुराले घटनाको स्वरूप नै परिवर्तन हुनेतर्फ पनि अदालतले ध्यान दिनुपर्ने । (प्रकरण नं. ४) जबरजस्ती करणी मुद्दामा पीडित भनिएकी जाहेरवालीको कथन सर्वोत्तम प्रमाण हुने भए पनि त्यस्तो कथन मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणहरूबाट समेत समर्थित हुनुपर्दछ । साथै, जाहेरवालीको मौकाको र अदालतमा व्यक्त गरेको भनाइमा समेत एकरूपता भई विश्वसनीय हुनुपर्दछ । जबरजस्ती करणीको वारदातका सम्बन्धमा नै फरक परी विरोधाभाषपूर्ण भई शङ्कास्पद देखिएको जाहेरवालीको भनाइलाई अकाट्य प्रमाणको रूपमा लिन नमिल्ने । (प्रकरण नं. ५) पुनरावेदक / प्रतिवादी : विद्वान् वरिष्ठ अधिवक्ता श्री राघवलाल वैद्य प्रत्यर्थी / वादी : विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल अवलम्बित नजिर : २०७९ साल, अङ्क २, नि.नं. १०८१६ २०७६ साल अङ्क-१, नि.नं. १०१७२ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. न्या. श्री हिमलाल बेल्बासे बागलुङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री शेषराज शिवाकोटी मा. न्या. श्री हरिप्रसाद पौडेल उच्च अदालत पोखरा, बागलुङ इजलास फैसला न्या. डा. मनोजकुमार शर्मा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत