निर्णय नं. ११२५५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२५५ - उत्प्रेषण भाग: ६६ साल: २०८१ महिना: असार अंक: ३ फैसला मिति :२०७९/१२/२७ ८७४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७९।१२।२७ ०७३-WO-०१६७ मुद्दाः- उत्प्रेषण निवेदक : युनाइटेड विल्डर्स एण्ड एमपी कन्स्ट्रक्सन जे.भि. नेपालगन्ज २ बाँके विरूद्ध प्रत्यर्थी : पुनरावेदन अदालत नेपालगन्ज, बाँकेसमेत कुनै पनि सार्वजनिक खरिद तथा निर्माण कार्यको लागि निर्धारित कानूनबमोजिमको प्रक्रिया पूरा भई सम्झौतासमेत भइसकेको अवस्थामा उक्त सम्झौता र सोका सर्तहरू नै सार्वजनिक खरिद र निर्माण प्रक्रिया व्यवस्थापनका आधारहरू हुने । यसप्रकार निर्माण सम्झौतामा मूल्य वृद्धिको प्रावधान रहे नरहेको सम्बन्धमा निर्माण व्यवसायीले सम्झौता अवधिमा नै निर्क्योल गरी सोहीबमोजिम सम्झौताका सर्तहरूमा परिमार्जन र व्यवस्थापन गर्न सक्ने । सार्वजनिक निकायले विड डकुमेन्टमा सर्तहरू निर्धारण गरी सोहीबमोजिम सार्वजनिक निर्माण र खरिद सम्झौता गरेको हुनुपर्ने । निर्माण व्यवसायी र सार्वजनिक निकायबिच सम्झौतामा हस्ताक्षर भइसकेपश्चात् उक्त सम्झौतामा मूल्य वृद्धिको प्रावधान नरहेको सर्त स्वीकार गरेको अवस्थामा सोही सम्झौताबमोजिम गरेको कार्यमा थप भुक्तानी प्रदान गर्न नमिल्ने । (प्रकरण नं. ३) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री डिल्लीराज भण्डारी र विद्वान् अधिवक्ता श्री देवीप्रसाद रिजाल प्रत्यर्थीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री शम्भु कार्की अवलम्बित नजिर : ने.का.प.२०७६, अङ्क १०, नि.नं.१०३६९ सम्बद्ध कानून : मध्यस्थता ऐन, २०५५ प्रमाण ऐन, २०३१ सार्वजनिक खरिद ऐन, २०५५ फैसला न्या.डा.मनोजकुमार शर्मा: नेपालको संविधानको धारा १३३ (२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- तथ्यगत बेहोरा हामी निवेदक युनाइटेड विल्डर्स एण्ड एम.पि. कन्स्ट्रक्सन जे.भी. नेपालगन्ज बाँके र विपक्षी जिल्ला विकास समितिको कार्यालय नेपालगन्ज बाँकेबिच भारतीय दूतावास काठमाण्डौंको आर्थिक सहयोगमा श्री धम्बोझी उच्च मा.वि. बाँकेको विद्यालय भवन तथा कम्पाउन्ड वाल निर्माण गर्न २६ अप्रिल २००६ (२०६२ वैशाख १३) मा रू.१,६१,७६,४९२.७३ (एक करोड एकसठ्ठी लाख छयहत्तर हजार चार सय बयानब्बे रूपैयाँ त्रिहत्तर पैसा) मा भएको सम्झौताअनुरूप धम्बोझी उच्च मा.वि. बाँकेको विद्यालयको लागि भवन निर्माण तथा कम्पाउन्डवाल निर्माण कार्य सम्पन्न भई कार्य स्वीकार भएको अवस्था छ । हामी निवेदक जे.भी.ले मिति २०६४।१।२३ गते जि.वि.स. कार्यालय नेपालगन्ज बाँकेमा सम्झौतामा उल्लिखित रकमभन्दा लागत मूल्य बढी परेको हुँदा मूल्य वृद्धिको कारण बढी पर्न गएको लागत रकम भराई दिलाइपाउँ भनी मिति २०६४।१।३० गते निवेदन पेस गरी सोको विस्तृत विवरण २०६४।४।२१ गते र २०६५।५।२७ गते पेस गरेका थियौं भने मिति २०६६।१२।९ गते विपक्षी जि.वि.स. कार्यालय नेपालगन्ज बाँकेमा मूल्य वृद्धि समायोजनसहित फाइनल बिलको भुक्तानी सम्बन्धमा निवेदन पेस गरेका थियौं । यस सम्बन्धमा जि.वि.स.ले आफ्नो कार्यालयको प्राविधिकद्वारा रू. ४५,५८,५१८.०५ (पैंतालिस लाख अन्ठाउन्न हजार पाँच सय अठार रूपैया पाँच पैसा) मूल्याङ्कन गराई सो मूल्याङ्कनअनुसार भुक्तानीको सिफारिससमेत गरेको छ । यस अवस्थामा जि.वि.स. कार्यालयले नेपाल सरकार "सङ्घीय मामिला तथा स्थानीय विकास