निर्णय नं. ११२५८ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२५८ - उत्प्रेषणसमेत भाग: ६६ साल: २०८१ महिना: असार अंक: ३ फैसला मिति :२०७९/०८/०६ १३७४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०७९।८।६ ०७७-WO-०१२८ मुद्दाः- उत्प्रेषणसमेत निवेदक : जनहित संरक्षण मञ्चको तर्फबाट काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, कुलेश्वर वडा नं. १४ बस्ने कार्यकारी अध्यक्ष वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मासमेत विरूद्ध प्रत्यर्थी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारसमेत पुरातत्त्व विभागले राष्ट्रिय कानून र नेपालले प्रतिवद्धता व्यक्त गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौतासमेतको पृष्ठभूमिमा प्राचीन सम्पदालाई आफैँ संरक्षित गर्ने वा मौलिक स्वरूपमा कुनै परिवर्तन नआउने गरी कुनै स्थानीय निकायलाई संरक्षण गर्ने गरी सहमति मात्रै दिन सक्ने भन्ने देखिएकोले संरक्षणबाहेकको कुनै पनि थप निर्माण गर्ने अधिकार स्थानीय तहलाई भए रहेको नदेखिने । (प्रकरण नं. २५) जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहमतिको नाउँमा हिजोका पुस्ताले निर्माण गरेका संरचनालाई आजका पुस्ताले विस्थापित गर्न मिल्दैन । लगन दरबार रहेको स्थानमा लगन पार्क भन्ने नयाँ नाम दिएर ऐतिहासिक पुरातात्त्विक महत्त्वका सम्पदालाई भत्काउने नभई पुरानै तथा मौलिक स्वरूपमा पुनःनिर्माण गरिनु पर्दछ । सहमतिको नाममा मौलिक स्वरूप परिवर्तन गरी नयाँ, आधुनिक कङ्क्रिटबाट त्यस्ता पुरातात्त्विक महत्त्वका कला, संस्कृति, सम्पदाहरू मासिने, नासिने गरी संरचना बनाउन कानूनतः नमिल्ने । (प्रकरण नं. २७) दरबारको संरचनाको मूल स्वरूप, आकृति, मौलिकता तथा क्षेत्रफल आदिसमेत परिवर्तन नहुने गरी पुर्नःनिर्माणको निर्णय गर्ने वा मर्मत सम्भार र अन्य प्रकृतिबाट संरक्षण गर्ने कार्यको जिम्मेवारी नेपाल सरकार, पुरातत्त्व विभागलाई भएको देखिएबाट काठमाडौं महानगरपालिका नगर सभासँग सो सम्बन्धमा निर्णय गर्न पाउने अधिकार तथा कार्यक्षेत्र नभएको देखिने । (प्रकरण नं. २८) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री महेश थापा र श्री पंकज कुमार कर्ण प्रत्यर्थीसमेतका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री संजिवराज रेग्मी, विद्वान् अधिवक्ता प्राड प्रमुख सेनानी श्री अमित प्याकुरेल र विद्वान् अधिवक्ता श्रीराजकुमार रंजित र विद्वान् अधिवक्ताहरू श्री ओमप्रकाश अर्याल र श्री शंकरप्रसाद पुडासैनी अवलम्बित नजिर : ने.का.प.२०५३, अङ्क १, नि.नं.६१२७ ने.का.प.२०७४, अङ्क ६, नि.नं.९८२५ ने.का.प. २०७४, अङ्क ६, नि.नं.९८२९ ने.का.प. २०७२, अङ्क ९, नि.नं.९४६५ ने.का.प.२०६४, अङ्क ११, नि.नं.७९०३ सम्बद्ध कानून : नेपालको संविधान प्राचीन स्मारक संरक्षण ऐन, २०१३ आदेश न्या. कुमार रेग्मी : नेपालको संविधान, २०७२ को धारा ४६ तथा १३३ (२) र (३) का आधारमा यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः- संक्षिप्त तथ्य ऐतिहासिक एवं पुरातात्त्विक सम्पदाहरू राष्ट्रका धरोहर हुन् । यिनैबाट ती राष्ट्रहरू कति सभ्य, सम्पन्न / विपन्न र अविकसित भनी आँकलन पनि गर्न सकिन्छ । पूर्वजबाट निर्मित सम्पदाहरूको संरक्षण गर्दै तिनलाई भावी पुस्तामा जस्ताको तस्तै हस्तान्तरण गर्नु वर्तमान पुस्ताको कर्तव्य हो । मानव सभ्यताको सुरूवातदेखि नै सम्पदाको ज्ञान विभिन्न समुदाय, जातजातिबिचमा पुस्तौंपुस्ता एकपछि अर्को गरी हस्तान्तरण हुँदै गएको पाइन्छ । सांस्कृत