निर्णय नं. ११२६० - जबरजस्ती करणी गरी मारेको कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२६० - जबरजस्ती करणी गरी मारेको कर्तव्य ज्यान भाग: ६६ साल: २०८१ महिना: असार अंक: ३ फैसला मिति :२०८०/०१/२४ १०७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना फैसला मिति : २०८०।१।२४ ०७४-CR-०५०९ मुद्दा : जबरजस्ती करणी गरी मारेको कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : तुलसीबहादुर कार्कीका छोरा खोटाङ जिल्ला राजापानि गाउँ विकास समिति वडा नं.७ घर भई हाल जिल्ला कारागार सिन्धुलीमा थुनामा रहेका विदुर कार्की विरूद्ध विपक्षी / वादी : हरि सापकोटाको जाहेरीले नेपाल सरकार जहाँ बदलाको भाव उत्पन्न हुन्छ त्यहाँ आवेशको स्थान नरहने । आवेशमा आई होस गुमाएको मानिसले चुल्ठोमा समाई अनुहार आफूतर्फ फर्काई निधारजस्तो संवेदनशील अंग यकिन गरी पटकपटक प्रहार गर्ने अवस्था नहुने । भुइँमा लडेपछि पनि घाँटीमा च्याप्ने, चिउँडोमा टोक्नेलगायतका आक्रमण प्रतिवादीले मृतकउपर गरेको पुष्टि भएको अवस्थाले प्रतिवादीमा आवेशको स्थिति समाप्त भई उद्देश्यमूलक आक्रमणमा संलग्न भएको मान्नुपर्ने । भौतिक प्रहारपछि प्रतिवादीले मृतकलाई जबरजस्ती करणीसमेत गरेको प्रमाणित भएको अवस्थामा यस्तो वारदातलाई आवेश प्रेरित हत्याको कसुर मान्न नमिल्ने । जबरजस्ती करणीको निमित्त गरिने निर्मम हिंसाको स्वरूप नै मान्नुपर्ने । (प्रकरण नं. १०) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भोजेन्द्र बहादुर क्षेत्री विपक्षी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री लोकबहादुर कटुवाल अवलम्बित नजिर : ने.का.प. २०७३, अङ्क १ नि.नं.९५१९ ने.का.प. २०६७, अङ्क ७ नि.नं.८४१५ ने.का.प. २०३८, अङ्क ११, नि.नं.१५१४ सम्बद्ध कानून : सुरू फैसला गर्ने: मा. जि. न्या. श्री देवेन्द्र पौडेल सिन्धुली जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. न्या. श्री उमेशराज पौड्याल मा. न्या. श्री टेकप्रसाद ढुङ्गाना उच्च अदालत पाटन फैसला न्या. सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भई प्रतिवादीको पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:- तथ्य खण्ड जिल्ला सिन्धुली गा.वि.स. कपिलाकोट वडा नं. ९ स्थित पूर्वमा हर्कबहादुर माझीको खेत, पश्चिममा श्यामलाल घिसिङको गोठ मतान घर, उत्तरमा रामबहादुर कार्कीको घर, तथा इलाका वन कार्यालय कपिलाकोटको भवन र दक्षिणमा जयबहादुर घिसिङको घर, यति चार किल्लाभित्रमा दक्षिण मोहडा भएको प्रताप कार्कीको घर, सो घरमा महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय रहेको, सो कार्यालय कोठामा विदुर कार्की सुत्ने बस्ने गरेको, सो कोठाभित्र प्रवेश गरी हेर्दा खाटमा सिरक ओढी विदुर कार्की सुतिरहेको अवस्थामा निजलाई बोलाउँदा निजले कालो रंगको स्ल्याक्स कट्टु मात्र लगाएको अवस्थामा रहेको, निजको ओछयानको छेउमा रहेको जेब्रा झोलामाथि बेल्टसहित रातो प्याजी रंगको कटराइजको पाइन्ट पानीले भिजी चिसो अवस्थामा रहेको, कलेजी रंगको भेष्ट थान १, हरियो रंगको Comfort स्पोर्ट जुत्ता र ग्रे कलरको ज्याकेटको बाहुला पानीले भिजी बालुवासमेत लागेको अवस्थामा रहेको साथै कार्यालयको अगाडि तारमा कालो रंगको हाफ पाइन्ट भिजेको अवस्थामा फेला परेको, निजको साथबाट सामसुङ मोबाइल थान १, सोभित्र रहेको NCELL र SMART को सिम थान २ प्रयोग रहेको अवस्थामा उक्त सामानहरू बरामद गरी निज विदुर कार्कीलाई पक्राउ गरेको भन्नेसमेत बेहोर