निर्णय नं. ११२६२ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२६२ - अंश चलन भाग: ६६ साल: २०८१ महिना: असार अंक: ३ फैसला मिति :२०७९/०५/१९ १०११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७९।५।१९ मुद्दा : अंश चलन ०६९-CI-०७२२ पुनरावेदक / प्रतिवादी : हिरालालको नाति सानु कृष्ण लालको छोरा काठमाडौं जिल्ला, सुन्दरीजल गा.वि.स. वडा नं. ९ बस्ने नारायण कृष्ण श्रेष्ठसमेत विरूद्ध प्रत्यर्थी / वादी : हिरालालको नाति विष्णुलालको छोरा काठमाडौं जिल्ला, सुन्दरीजल गा.वि.स. वडा नं. ९ घर भई हाल काठमाडौं जिल्ला, जोरपाटी गा.वि.स. वडा नं.३ बस्ने प्रकाशबहादुर श्रेष्ठसमेत ०६९-CI-०७२३ पुनरावेदक / प्रतिवादी : हिरालालको नाति धनबहादुरको छोरा काठमाडौं जिल्ला, सुन्दरीजल गा.वि.स. वडा नं. ९ बस्ने इन्द्रबहादुर श्रेष्ठसमेत विरूद्ध प्रत्यर्थी / वादी : हिरालालको नाति विष्णुलालको छोरा काठमाडौं जिल्ला, सुन्दरीजल गा.वि.स. वडा नं. ९ घर भई हाल काठमाडौं जिल्ला, जोरपाटी गा.वि.स. वडा नं. ३ बस्ने प्रकाशबहादुर श्रेष्ठ कसैको सम्पत्ति बकसपत्रबाट प्राप्त गर्दा बकसपत्र गरिदिने व्यक्तिले निजले मलाई पालनपोषण वा संरक्षण गरी रिझाएबापत इनाम, पुरस्कार वा बक्सिस स्वरूप प्रदान गरेको हुँ भनी उल्लेख गरी कसैलाई निःशुल्क प्रदान गर्ने कार्यले बकसपत्रको रूप लिन्छ । कुनै व्यक्तिले आफ्नो हक पुग्ने वा स्वामित्वको सम्पत्ति हकवाला व्यक्तिलाई बकस गरिदिँदा कानूनबमोजिम हक लाग्ने व्यक्तिको मन्जुरी लिनुपर्नेमा त्यस्तो व्यक्तिको मन्जुरी नलिई बकसपत्र गरिदिए त्यो बकसपत्रले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं. ७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री रविन्द्र नाथ अर्याल र श्री तोरनमान गोंछे प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भूमिनन्दन चुडाल अवलम्बित नजिर : ने.का.प. २०६९, अङ्क ३, नि.नं. ८७८८ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : मा. जि. न्यायाधीश श्री वैद्यनाथ गुप्ता काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. न्या. श्री एकराज आचार्य मा. न्या. श्री हरिकुमार पोखरेल पुनरावेदन अदालत पाटन फैसला न्या. प्रकाशकुमार ढुङ्गाना : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड हिरालाल श्रेष्ठका ५ भाइ छोराहरूमा जेठा म फिरादीका पिता विष्णुलाल श्रेष्ठ, माइला स्व. लक्षुमन भन्ने घनबहादुर श्रेष्ठ भई निजको श्रीमतीसमेतको मृत्यु भइसकेकाले निजहरूको हक खाने छोराहरू विपक्षीमध्येका शंकरबहादुर श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठ गरी २ जना छन् । साइँला स्व. सानुकृष्णलाल हुनु भएकोमा निज र निजको श्रीमतीसमेतको मृत्यु भइसकेकाले निजहरूको हक खाने छोरामा विपक्षीमध्येका श्यामकृष्ण श्रेष्ठ, नारायणकृष्ण श्रेष्ठ र हरिकृष्ण श्रेष्ठ गरी ३ जना छन् भने काइँला छोरा विपक्षीमध्येका मोतिलाल श्रेष्ठ र कान्छा रामशरण श्रेष्ठको जायजन्म भएको अवस्था छ । निजहरूमा हालसम्म कुनै छोराहरूका बिचमा अंशबन्डा भइसकेको छैन । म फिरादीका पिता विष्णुलाल श्रेष्ठको सगोलमा रहँदाकै अवस्थामा मृत्यु भएपश्चात् म फिरादी सगोलमै रहन बस्न नसकी पैतृक सम्पत्ति नलिई आफू र आफ्नो परिवार बेगल भान्सा गरी बसेको र हाल आएर काका तथा काकाहरूका छोराहरूलाई आ-आफ्नो भागमा पर्ने श्री सम्पत्तिको बन्डा गरौं भन्दा नमानेकाले फिराद परेक