निर्णय नं. ११२६५ - अंश नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२६५ - अंश नामसारी भाग: ६६ साल: २०८१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०५/३० १५१९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।०५।३० ०७४-CI-०७७८ मुद्दाः- अंश नामसारी पुनरावेदक / प्रतिवादी : जिल्ला रूपन्देही पटखौली गा.वि.स. वडा नं. ६ बस्ने जगन्नाथ कुर्मीसमेत विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला रूपन्देही पटखौली गा.वि.स. वडा नं. ६ बस्ने शिवकुमार चौधरी कुर्मी मुद्दा चल्दाचल्दै मृत्यु भएको अंशियारले दिएको बकसपत्रको सम्पत्ति सो परिवारको सगोलकै सम्पत्ति देखिने । अदालतबाट निर्णय निरूपण हुन बाँकी रहेकै अवस्थामा मृत्यु भएका व्यक्तिले सो परिवारको अंश हक लाग्ने सम्पूर्ण सम्पत्ति एक जना अंशियारलाई मात्र बकस गरिदिएका कारण सोमा अरू अंशियारको अंश हक मर्न जाने भएकाले त्यस्तो सम्पत्तिलाई सगोलकै मान्नुपर्ने । (प्रकरण नं. ५) जीवित अंशियारले अंशियारमध्येकै एकजनालाई मात्र गरेको बकसपत्र सम्पत्ति बन्डा प्रयोजनको लागि पैतृक नै हुने । अंश भई नसकेको अवस्थामा परेको अपुताली, अपुतालीको सम्पत्ति नभई सगोलको पैतृक सम्पत्ति देखिँदा जीवित रूपमा रहेका अंशियारको बिचमा बन्डा गरिदिनुपर्ने अंशबन्डासम्बन्धी मान्यता र प्रचलित कानूनको मनसाय रहँदा मृत्यु भइसकेको व्यक्तिबाट रीतपूर्वक कुनै अंश हक प्राप्त नगरेको स्थितिमा बाँकी जीवित अंशियारहरूको बिचमा पैतृक सम्पत्ति बराबर बाँडिदिनु न्यायोचित हुने । (प्रकरण नं. ६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री मञ्जुल गौतम प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री ईश्वरी प्रसाद भट्टराई र विद्वान् अधिवक्ता श्री ओजस्वी भट्टराई अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री मुरारीबाबु श्रेष्ठ रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या श्री ईश्वरराज आचार्य मा. न्या. श्री शान्ता सेढाई सापकोटा उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः तथ्य खण्ड मूल पुरूष गोकुल कुर्मीको छोरा शंकर र निजकी श्रीमती पियारीको चार जना छोराहरू नन्दलाल, जगन्नाथ, राजेन्द्र प्रसाद, लालसा प्रसाद हुन् । प्रतिवादी जगन्नाथ र निजकी श्रीमती सुखनाको छोरा राजकुमार र म शिवकुमार २ भाइ हौँ । गोकुल र निजको श्रीमती शंकर पियारी तथा म वादीका आमा सुखना अघि नै परलोक हुनुभयो । बाँकी नन्दलाल, जगन्नाथ, राजेन्द्र प्रसाद, लालसा प्रसाद ४ अंशियारा एकासगोलमा रहेको अवस्थामा राजेन्द्र प्रसाद कुर्मीले नन्दलाल कुर्मीसमेतउपर २०५७ सालको दे.नं. ११९१ को अंशनामसारी मुद्दा गरी रूपन्देही जिल्ला अदालतबाट फैसला भई बन्डा छुट्ट्याई अलग हुनुभएको छ । लालसा प्रसाद चौधरीले आफ्नो अंश भागको जग्गा २०६५।६।७ मा अंश बुझेको भरपाई गरी अलग हुनुभएको छ । बाँकी नन्दलाल, जगन्नाथ, राजकुमार र म शिवकुमारसमेतका अंशियार एकासगोलमा बसी आएका छौं । नन्दलालको श्रीमती र सन्तान छैनन् । अंशबन्डा गर्नुपर्ने अविवाहित दिदी बहिनी छैनन् । पैतृक तथा सगोल आर्जनको जग्गा नन्दलाल कुर्मी र राजकुमार चौधरीसमेतको नाममा दर्ता रहेको छ । घरको मुख्य विपक्षीहरूले म र मेरो परिवारलाई ख