निर्णय नं. ११२६६ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२६६ - अंश चलन भाग: ६६ साल: २०८१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०६/०२ १०८५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।०६।०२ ०७०-CI-०९८० मुद्दा: अंश चलन पुनरावेदक / वादी : लालीमालको छोरा, सुनसरी जिल्ला, पश्चिम कुशाहा गा.वि.स. वडा नं. ९ बस्ने सिताराम माल यादव विरूद्ध प्रत्यर्थी / प्रतिवादी : ऐ. बस्ने स्व. रघुवीरको श्रीमती ठकनी देवी यादवसमेत समान पुस्ताका अंशियारका बिचमा एकपटक व्यवहार प्रमाणबाट भएको अंशबन्डा अन्यथा प्रमाणित नभएसम्म निज अंशियारका बिचमा पुनः अंशबन्डा गर्ने हो भने उक्त कार्यले व्यक्तिको व्यक्तिगत सिप, परिश्रमको प्रतिफल निषेध हुने । (प्रकरण नं. ११) कानूनले पैतृक सम्पत्तिउपर सन्तानको अंश हकलाई पूर्ण रूपमा संरक्षण गरेको भए तापनि यो हक पटक-पटक प्राप्त भइरहने प्रकृतिको भने होइन । आफूले पाउनुपर्ने अंश हक जुनसुकै माध्यमबाट भए पनि एकपटक प्राप्त भइसकेपछि अन्यथा प्रमाणित भएमा बाहेक पैतृक सम्पत्तिउपरको अंश हक सधैँको लागि समाप्त हुने । (प्रकरण नं. १२) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री तुलसीराम निरौला र श्री शतिषकृष्ण खरेल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री इन्द्रबहादुर अधिकारी अवलम्बित नजिर : ने.का.प. २०६६, अङ्क ९, नि.नं. ८२२७ ने.का.प. २०६६, अङ्क २, नि.नं. ८०८८ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा. जि. न्या. श्री लक्ष्मीकृष्ण श्रेष्ठ सुनसरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. न्या श्री गिरिराज पौड्याल मा. न्या. श्री कुमार चुडाल पुनरावेदन अदालत विराटनगर फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ तथा प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड फिराद दाबीः स्व. पिता लाली माल यादवका ६ छोरामा जेठा म वादी त्यसपछि क्रमशः स्व. रघुवीर, दामोदर, सदानन्द, श्रीलाल र चन्द्रदेव हुन् । आमाको स्वर्गवास भइसकेको, सदानन्द, श्रीलाल, चन्द्रदेव र दामोदर यादवसमेत अंश लिई छुट्टिसकेका, स्व. रघुवीरका २ पत्नीमा जेठी ठकनी देवी र कान्छी फुलेश्वरी देवी हुन् । निजको १ छोरी चम्पाको विवाह भइसकेको छ । २ छोरामा धनिकलाल र इन्द्रदेव हुन् । हामी सगोलमै बसी आएका छौं । परिवार ठुलो भई विवाद झगडा हुने गरेकोले मिति २०६३।१२।०५ मा गाउँ छिमेक बसाइ अंश भाग मिलाऔँ भन्दा तिमीले पहिले नै अंश पाइसकेका छौं, तिम्रो अंश भाग हाम्रो जिम्मा छैन भनी जवाफ दिएकोले विपक्षी इन्द्रदेव यादव नाम दर्ताको सुनसरी जिल्ला, पश्चिम कुशाहा गा.वि.स. वडा नं. ८ख, कि.नं. २९२, २९४, ऐ. वडा नं. ८क, कि.नं. ३८९ र विपक्षी धनीकलाल यादव नाम दर्ताको ऐ. वडा नं. ८ख, कि.नं. २८५, २११ समेतका जग्गालाई २ भाग लगाई एक भाग अंश दिलाइपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी । प्रतिउत्तर जिकिरः विपक्षी वादीसमेतका ६ अंशियार भएकोमा सदानन्द, श्रीलाल र चन्द्रदेवसमेतका ३ जना देवर / काकाहरूले सिताराम, रघुवीर र दामोदरसमेतका ३ जनाउपर २०४५ सालको दे.नं. २०५२ को अंश चलन मुद्दा दिई कारबाही हुँदा ६ अंशियारमध्ये सिताराम माल यादवका नाममा सुनसरी जिल्ला, पश्चिम कुशाहा वडा नं. ८ख, कि.नं. ४७, ५० र ५६ मा क्रमशः १