निर्णय नं. ११२६९ - झुठ्ठा विवरण पेस गरी नागरिकता लिएको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२६९ - झुठ्ठा विवरण पेस गरी नागरिकता लिएको भाग: ६६ साल: २०८१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०९/१७ ७२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।०९।१७ ०७४-CR-०८१५ मुद्दाः- झुठ्ठा विवरण पेस गरी नागरिकता लिएको पुनरावेदक / प्रतिवादी : सर्लाही जिल्ला, रामवन गाउँ विकास समिति, वडा नं.२ बस्ने उमामहेश्वर साह विरूद्ध प्रत्यर्थी / वादी : अशोककुमार गुप्ताको जाहेरीले नेपाल सरकार कोही व्यक्ति वंशजको आधारमा नागरिकता प्राप्त गर्न योग्य हुन्छ भने निजले सो योग्यता जन्मदै हासिल गरेको सम्झनुपर्ने । (प्रकरण नं. ५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सतिसकृष्ण खरेल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री दिनेशप्रसाद घिमिरे अवलम्बित नजिर : ने.का.प. २०७१, अङ्क-१, नि.नं. ९१०३ सम्बद्ध कानून : नेपाल नागरिकता ऐन, २०६३ सुरू फैसला गर्ने : मा. जि. न्या. कृष्णकमल अधिकारी सर्लाही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. न्या. श्री प्रेमराज ढकाल मा. न्या. श्री गुणराज ढुंगेल पुनरावेदन अदालत, जनकपुर फैसला न्या.डा.आनन्दमोहन भट्टराई : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा(१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनसरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः तथ्य खण्ड प्रतिवादी विदेश भारत, प्रान्त बिहार, जिल्ला सितामढी थाना सोनबरसा पञ्चायत, पुनरदाहा रजवरा पश्चिम ग्राम चिलरा बस्ने उमामहेश भन्ने उमामहेश्वर साह मिति २०६३।१०।१३ गतेका दिन जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट खटिएको नागरिकता टोलीबाट जिल्ला सर्लाही, रामवन गाउँ विकास समिति वडा नं.२ को बासिन्दा हुँ भनी झुठा विवरण पेस गरी १९३०१६/१७ नं. को नागरिकता प्रमाणपत्र लिएकोले निजलाई पक्राउ गरी निजबाट सोधपुछ गरी संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक कारबाही गरिपाउँ भन्ने बेहोराको जाहेरी दरखास्त । मेरो वास्तविक वतन विदेश भारत, प्रान्त बिहार, जिल्ला सितामढी थाना सोनवरसा पञ्चायत, पुनरदाहा रजवरा पश्चिम ग्राम चिलरा भई सो स्थानमा मतदाता नामावलीमा मेरो नाम समावेश रहे तापनि मेरो मावली गाउँ जिल्ला सर्लाही, रामवन गाउँ विकास समिति, वडा नं. २ मा पर्दछ । मावलीतर्फ एक मात्र छोरी मेरी आमा फेकनी देवी हो, सोही गाउँमा ०-७-१० र ०-१-८ गरी दुईवटा घडेरी छ । सो घडेरीमध्ये ०-७-१० मा फुलवारी, ०-१-८ मा घर रहेको छ । मेरो जन्म मावली गाउँमा नै भएको हो । हामी सबै परिवार रामवन गाउँमा नै बस्दै आएको हो । मेरो विवाह जिल्ला सर्लाही, लक्ष्मीपुर सुकचैना गाउँ विकास समिति वडा नं. १ रामऔतार साहकी छोरीसँग भएको हो । मेरी आमाको आमा राजकुमारी भन्ने फुलकुमारी साहले जिल्ला सर्लाही, लक्ष्मीपुर १ स्थित रहेको २-१०-० जमिन मलाई हस्तान्तरण गरेकोमा सो बखत मेरो नेपाली नागरिकता नभएको कारण ससुरा रामऔतार साहका नाउँमा १-१०-० र सासू झरोखादेवीको नाउँमा १-०-१ जमिन पास गरिदिएको हो । बाबुको २०४० सालतिर र आमाको १८/२० वर्षपहिला कालगतिले मृत्यु भएको हो । मावलीको जमिन र आमाले पास गरिदिनु भएको जमिन मैले नै भोगचलन गर्दै आएको हुँदा मैले नेपाली नागरिकता लिनको लागि मिति २०६३।१०।१३ गते रामवन गाउँ विकास समितिमा खटिएको नागरिकता टोलीबाट नागरिकता बनाउनलाई आफ्नो आमाको वंशज नागरिकताको फोटोकपी