निर्णय नं. ११२७३ - दूषित शेषपछिको बकसपत्र बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२७३ - दूषित शेषपछिको बकसपत्र बदर भाग: ६६ साल: २०८१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०४/२४ १२७६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७९।०४।२४ ०७१-CI-१६०५ मुद्दा:– दूषित शेषपछिको बकसपत्र बदर पुनरावेदक / वादी : जिल्ला काठमाडौं, साँखु सुन्टोल गा.वि.स. वडा नं. १ बस्ने हरिभक्त श्रेष्ठको छोरा लक्ष्मीभक्त श्रेष्ठसमेत विरूद्ध विपक्षी / प्रतिवादी : जिल्ला काठमाडौं, साँखु सुन्टोल गा.वि.स. वडा नं.१ बस्ने हरिभक्त श्रेष्ठको छोरा श्रीभक्त श्रेष्ठसमेत बन्डापत्रमा वादीहरूको हक समाप्त भएको स्पष्टरूपमा उल्लेख नभएको अवस्थामा आमाको नाउँमा एकलौटी दर्ता भएकै आधारमा पैतृक स्रोतबाट प्राप्त त्यस्तो जग्गाहरूमा निजले आफूखुस गर्न पाउने सम्पत्ति हो वा उक्त जग्गाहरूबाट वादीहरूको हक समाप्त भएको अर्थ गर्नु अंशसम्बन्धी अवधारणाको प्रतिकूल हुने । पैतृक सम्पत्तिको हकमा बन्डापत्रमा नै स्पष्ट रूपमा यो यति सम्पत्ति कुनै अंशियारको मात्र हक लाग्ने वा यो यस्तो सम्पत्ति यो अंशियारले मात्र खाने भन्ने स्पष्ट रूपले उल्लेख भएबाहेक बन्डापत्र मौन रहेको अवस्थामा कुनै सम्पत्ति यो यस्तो अंशियारको एकलौटी हुने एवम् अन्य अंशियारको हक नलाग्ने वा सो सम्पत्तिबाट कुनै अंशियारको हक समाप्त भएको अर्थ गर्नु न्यायोचित्त नहुने । (प्रकरण नं. ४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रमेश कुमार मैनाली र विद्वान् अधिवक्ता श्री उमाशंकर जोशी विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री सर्मिला श्रेष्ठ र श्री सुनिलकुमार श्रेष्ठ अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री खडानन्द तिवारी काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री विनोद शर्मा मा.न्या.श्री मनोजकुमार शर्मा पुनरावेदन अदालत पाटन फैसला न्या. प्रकाशमान सिंह राउत : साबिक न्याय प्रशासन ऐन, २०४८ दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन दर्ता हुन आई न्याय प्रशासन ऐन, २०७३ समेतले यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड हामी फिरादीको बुबा स्व.हरिभक्त श्रेष्ठ र आमा टिकामाया श्रेष्ठको कोखबाट ४ छोराको जन्म भएको हो । जसमा जेठा म लक्ष्मीभक्त श्रेष्ठ, माइलो म फिरादी धर्मभक्त श्रेष्ठ, साहिँलो विपक्षीमध्येको श्रीभक्त श्रेष्ठ र कान्छो विपक्षी राजेन्द्रभक्त श्रेष्ठ हौं । त्यस्तै पाँच जना छोरीहरूको विवाह भइसकेको छ । आमा बुबाको मृत्यु भइसकेकोले हामी चार जना अंशियार रहेका छौं । हामीहरूका बिच आमाको नाउँमा रहेको पछि बन्डा गर्ने घर सल्लाहबमोजिम आमाको नाममा हाललाई दुई कित्ता राख्ने र बाबुबाजेको दर्ता गर्न बाँकी जग्गा जमिन आमाकै नाममा पछि बन्डा गर्ने सहमति गरी मिति २०५४।०७।२१ गते सबै अंशियारहरूबिच अंशबन्डा भएको हो । केही पैतृक सम्पत्ति बाबुकै दाजुभाइबिच बन्डा नभएको र बुबाको शेषपछि आमाको चित्त दुखाउनु हुन्न भनी केही सम्पत्ति स्व.आमाकै नाउँमा राखिदिने सहमति भई आमाको नाउँमा राखेकोसम्म हो । हामी फिरादीसमेतको अंश हक मार्न विपक्षीहरूले एक आपसमा मिलेमतो गरी आमाको नाउँको सम्पूर्ण सम्पत्ति आफूहरूले खाने नियतले हामी फिरादीसमेत संरक्षक रहेको अवस्थामा हामीलाई थाहा जानकारी नदिई पारित गरेको र.नं.८८३० मिति २०६२।०९।०७ को शेषपछिको बकसपत्रमध्ये ४ भागको दुई भाग बदर