निर्णय नं. ११२८१ - करारको यथावत् परिपालना

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२८१ - करारको यथावत् परिपालना भाग: ६६ साल: २०८१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७८/११/२२ १८७३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७८।११।२२ ०६९-RB-००६८ मुद्दा: करारको यथावत् परिपालना पुनरावेदक / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ स्थित रोड सो रियल स्टेट प्रा.लि. का अख्तियारप्राप्त कालु गुरूङ विरूद्ध प्रत्यर्थी / प्रतिवादी : चुडामणी थापाकी श्रीमती स्याङ्जा जिल्ला, साबिक क्याक्सी गा.वि.स. वडा नं. ३ बस्ने नन्दमाया थापा कानूनको कुनै शब्द वा वाक्य वा कुनै खण्डको अर्थ र व्याख्या गर्दा समग्र ऐनको संरचना, उद्देश्य र दायरालाई ख्याल गर्नुपर्ने । (प्रकरण नं. ४) करार ऐन तथा अन्य नेपाल कानूनमा करारको स्पष्ट ढाँचा रहे भएको नपाइने । तोकिएको ढाँचा नभएको अवस्थामा सम्झौता गर्ने पक्षले आफ्नो अनुकूलको लिखत तयार गरी व्यवहार चलाइआएको देखिने । अचल सम्पत्ति घर जग्गा हक छाडिदिँदा लिँदा विभिन्न कारणले तत्काल राजीनामा वा अन्य लिखत पारित गर्न नसक्ने अवस्थामा व्यवहारमा बैनाबट्टाको लिखत तयार गर्ने गरेको पाइने । यही लिखतको आधारमा पछि सम्बन्धित कार्यालयमा गई सहमति कार्यान्वयन गर्ने गरेको देखिने । यसरी हेर्दा बैनाबट्टा लिखत दुई वा दुईभन्दा बढी पक्षबिचको सहमतिको कागज भएकाले यसलाई पनि करारकै एक रूपमा लिन सकिने । (प्रकरण नं. ८) अचल सम्पत्तिमा बैनाबट्टा गरी लेनदेन गर्ने गरी भएको करार स्वत: अमान्य नहुने र यस्तो करारलाई कानूनले निषेध गरेको पनि नदेखिएको तर रजिस्ट्रेसन गर्नुपर्ने कानूनी बाध्यता गरेकोमा त्यस्तो रजिस्ट्रेसन नभएको अवस्थामा त्यस्तो अचल सम्पत्ति हस्तान्तरण गर्नुपर्ने बाध्यात्मक अवस्थासम्म सिर्जना नगरेको भन्ने यस अदालतको बृहत् पूर्ण इजलासबाट फैसला भएको भए तापनि तत्कालीन करार ऐन, २०५६ को दफा ८४(१) तथा मुलुकी देवानी संहिता, २०७४ को दफा ५३८(१) बमोजिम बैनाबट्टा गर्दाको अवस्थामा भएको लिखतबाट एक पक्षबाट अर्को पक्षलाई रकम भुक्तानी गरेको भन्ने प्रस्ट देखिएको रकमको दश प्रतिशत ब्याज, हर्जाना वा दोब्बरसम्म रकम भराइदिने वा त्यस्तो करारमा अचल सम्पत्ति हस्तान्तरण गर्नेबाहेकको अन्य कुनै सर्त एवं दायित्व तोकिएको भएमा त्यस्तो सर्त दायित्व पालना गर्दा भएको हानि नोक्सानी बैना बुझ्ने पक्षबाट भराइदिनुपर्ने । जग्गा हक हस्तान्तरण गरिदिने छु भनी बैना लिने व्यक्तिले अचल सम्पत्ति पनि हस्तान्तरण नगर्ने र बैनाबापतको रकम पनि फिर्ता नगर्ने गरी बेमुनासिब लाभ वा फाइदा (unjust enrichment) को अवस्था परिकल्पना गरेको नदेखिने । (प्रकरण नं.१५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री शरदप्रसाद कोइराला र विद्वान् अधिवक्ता श्री गोपालप्रसाद अर्याल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने अवलम्बित नजिर : ने.का.प.२०७७, नि.नं. १०५४८ ने.का.प.२०४७, अङ्क ४, नि.नं. ४१२० ने.का.प.२०५०ग, अङ्क ९, नि.नं. ४७९६ ने.का.प. २०७४, अङ्क ७, नि.नं. ९८४७ ने.का.प. २०७३, अङ्क ३, नि.नं.९५५६ ने.का.प. २०६८, अङ्क, ६, नि.नं. ८६३५ सम्बद्ध कानून : करार ऐन, २०५६ मुलुकी देवानी संहिता, २०७४ सुरू तहमा फैसला गर्ने :- मा. जि. न्या. श्री टेकनारायण कुँवर काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने :- मा. न्या श्री भरत प्रसाद अधिकारी मा. न्या. श्री हरिकुमार पोखरेल पुनरावेदन अदालत पाटन