निर्णय नं. ११२८४ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२८४ - उत्प्रेषणसमेत भाग: ६६ साल: २०८१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७९/११/०४ ५७३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री सुष्मालता माथेमा आदेश मिति : २०७९।११।०४ ०७९-WO-०६६८ मुद्दा : उत्प्रेषणसमेत निवेदक : विश्वम्भर लामिछानेको छोरा, सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं.५ को हाल वडा नं.४ घर भई हाल ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं.१०, एकान्तकुना बस्ने विप्लव लामिछानेसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिहंदरबारसमेत जब चिकित्सा शिक्षा ऐनले नै योग्यताक्रममा जोड दिँदै र योग्यताक्रममा माथि रहेको व्यक्तिले रोजेको प्राथमिकतालाई भर्नाको आधार मानेको छ भने सो कुरा ऐनको कार्यान्वयन गर्न बनाइएको नियम र कार्यविधिले व्यावहारिकरूपमा सुनिश्चित गर्नुपर्ने । योग्यताक्रममा माथि रहेको व्यक्तिलाई आफूले गरेको छनौट वा प्राथमिकतालाई व्यावहारिकरूपमा कार्यान्वयन गर्न नपाउने गरी घडीको सुई घुमाउने वा एकपटक बोलेपछि सोमा पुनः विचार गर्न नपाउने वा आफूभन्दा योग्यताक्रममा माथि रहेको व्यक्तिले छाडेको सिट रोज्न नपाउने व्यवस्थाको कल्पना ऐन, नियम वा कार्यविधिले गरेको भनी सम्झन नमिल्ने । यदि कार्यविधिमा त्यस्तो कुरा परेकै अवस्थामा रहेछ भने पनि सो कुरा ऐनको व्यवस्थाअनुरूप नहुने । ऐन र कार्यविधिमा उल्लिखित कुनै पनि कुराले योग्य व्यक्तिलाई पन्छाएर कम योग्य व्यक्तिलाई प्राथमिकता दिन सक्छ भन्न नमिल्ने । (प्रकरण नं. ७) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू डा. श्री सुरेन्द्र भण्डारी, श्री अमिता श्रेष्ठ, श्री मदन रेग्मी र विद्वान् अधिवक्ताहरू डा. श्री भिमार्जुन आचार्य, श्री हर्कबहादुर रावल, श्री किरण कुमारी शाह विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सञ्चिव राज रेग्मी, विद्वान् अधिवक्ता श्री नारायण खनाल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ आदेश न्या. डा. आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छः तथ्य खण्ड हामी निवेदकहरू चिकित्सा शिक्षा अर्थात् MBBS अध्ययन गराउने विभिन्न विश्वविद्यालयबाट MBBS अध्ययन गरी उत्तीर्ण भई सरकारी एवम् गैरसरकारी एवम् निजी स्वास्थ्य सेवा प्रदान गर्ने निकाय तथा संस्थाहरूमा कार्यरत रहिआएका नेपाली नागरिक, चिकित्सक (डाक्टर) हरू हौं । हामी निवेदकहरू MBBS उत्तीर्ण गरी स्वास्थ्य सेवामा रहिआएकोमा हामीले अध्ययन गरेकोभन्दा माथिल्लो चिकित्सा शिक्षा MD / MS तहको विभिन्न शैक्षिक कार्यक्रमहरूको प्रवेश परीक्षाको लागि विपक्षी चिकित्सा शिक्षा आयोगले मिति २०७९।०६।१४ मा प्रकाशित गरेको प्रवेश परीक्षामा आवेदन दिई परीक्षामा समावेश भई MD / MS अध्ययन गर्न प्रवेश परीक्षा उत्तीर्ण गरेका थियौं, छौं । हामी निवेदकले MD / MS अध्ययन गर्ने प्रवेश परीक्षा उत्तीर्ण गरेपश्चात् विपक्षी चिकित्सा शिक्षा आयोगको राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७, चिकित्सा शिक्षा स्वीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्नासम्बन्धी कार्यविधि, २०७९ बमोजिम आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्था र शैक्षिक विषयको प्राथमिकता निर्धारण (Priority Setting) को लागि अनलाइन फाराम माग