निर्णय नं. ११२८९ - बन्दीप्रत्यक्षीकरणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२८९ - बन्दीप्रत्यक्षीकरणसमेत भाग: ६६ साल: २०८१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७९/१२/०८ २५०९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री नहकुल सुवेदी आदेश मिति : २०७९।१२।८ ०७९-WH-०१२७ विषय:– बन्दीप्रत्यक्षीकरणसमेत निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, साबिक वडा नं. ३४ शान्तिनगर (काठमाडौं जिल्ला अदालतको कैदी पुर्जीमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.९) घर भई हाल कारागार कार्यालय पाल्पा, तानसेनमा थुनामा रहेका ध्रुबबहादुर श्रेष्ठको छोरा राजकुमार श्रेष्ठ विरूद्ध विपक्षी : कारागार कार्यालय पाल्पा, तानसेनसमेत मानिसको जीवन एउटै मात्र हुने भएकाले जीवनपर्यन्त थुनामा राख्नुपर्ने व्यक्तिलाई दुईवटा जन्मकैदको सजाय कार्यान्वयन हुने भन्नु न्यायोचित नहुने । कानूनतः पहिलो जन्मकैदको सजाय भोगी कैदबाट छुटेपछि फेरि अर्को जन्मकैदको सजाय हुने खत गरेको अवस्थालगायतका तोकिएका केही अवस्थामा बाहेक जन्मकैदको सजाय भोगिरहेको कसुरदारलाई थप कैद वा जन्मकैदको सजाय हुन नसक्ने । (प्रकरण नं. १०) प्रचलित कानूनमा दुईवटा मुद्दामा भएको फरक फरक जन्मकैदको सजाय कार्यान्वयन गर्दा एउटा जन्मकैदको अवधि भुक्तान भएपछि अर्कोको गणना गर्नुपर्ने भन्ने स्पष्ट कानूनी व्यवस्था नभएको अवस्थामा एउटा जन्मकैदको सजाय भुक्तान गरेपछि अर्को जन्मकैदको सजायको अवधि गणना हुने गरी सजायको कार्यान्वयन गर्न नहुने । (प्रकरण नं. २०) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री मोहनबहादुर बञ्जारा र श्री पुजा बञ्जारा विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइटेल अवलम्बित नजिर : ने.का.प. २०५०, अङ्क २, नि.नं.४६९७ ने.का.प. २०६६, अङ्क ८, नि.नं. ८२०० ने.का.प. २०६१, अङ्क ९, नि.नं. ७४३२ ने.का.प. २०६७, अङ्क ८, नि.नं.८४२८ ने.का.प. २०७६ नि.नं.१०३०७ ने.का.प. २०७६ नि.नं. १०२८९ सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ नेपालको संविधान आदेश न्या. नहकुल सुवेदी : नेपालको संविधानको धारा ४६ र १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यसप्रकार छ:- निवेदनको संक्षिप्त तथ्य टिकाराम कुँवरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी म निवेदकसमेत भएको मिति २०६५।०४।२३ गते काठमाडौं जिल्ला अदालतमा दायर भएको कर्तव्य ज्यान मुद्दामा मिति २०६७।०३।२८ गते फैसला हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम मलाई जन्मकैद ठहर भएकोमा पुनरावेदन अदालत पाटनबाट मिति २०६९।०२।०९ र सर्वोच्च अदालतबाट मिति २०७२।०७।१९ गते सदर भई मुद्दा अन्तिम भई बसेको छ । त्यसैगरी, धनमाया लामासमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी म निवेदकसमेत भएको कर्तव्य ज्यान र चोरी मुद्दामा धादिङ जिल्ला अदालतमा मुद्दा दायर भई मिति २०६९।१२।२१ मा फैसला हुँदा कर्तव्य ज्यानतर्फ जन्मकैद र चोरीतर्फ मुलुकी ऐन, चोरीको महलको १४(२) नं.बमोजिम १।१५।० दिन कैद र रू.१५,४३,४६७।– जरिवाना र जरिवाना तिर्न बुझाउन नसकेकाले मुलुकी ऐन, दण्ड सजायको ३८ नं. ले कैद वर्ष ४ समेत जम्मा २४ वर्ष कैद ठहर गरी काठमाडौं जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा भएको फैसलाले लागेको कैद भुक्तान भएपछि धादिङ जिल्ला अदालतबाट प्रस्तुत कर्तव्य ज्यान र चोरी मुद्दामा ठहर भएको जन्मकैदबापत कानूनबमोजिम थुना