निर्णय नं. ११२९० - उत्प्रेषण / परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२९० - उत्प्रेषण / परमादेशसमेत भाग: ६६ साल: २०८१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७९/०५/३० ११४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री सुष्मालता माथेमा आदेश मिति : २०७९।०५।३० ०७८-WO-०५२८ मुद्दाः उत्प्रेषण / परमादेशसमेत निवेदक : धनुषा जिल्ला, लवटोली गाउँ विकास समिति वडा नं. २ हाल परिवर्तित गणेशमान चारनाथ नगरपालिका वडा नं. ७ बस्ने सन्तोष पुर्वे सुडीको छोरा अनिल पुर्वे विरूद्ध विपक्षी : जिल्ला प्रशासन कार्यालय, धनुषासमेत नागरिकता राज्यसँग सम्बन्ध जोड्ने, व्यक्तिको पहिचानको महत्त्वपूर्ण प्रमाण हो । यो व्यक्तिको राष्ट्रियताको अधिकारसँग पनि सम्बन्धित रहेको हुने । कुनै पनि व्यक्तिले राज्यद्वारा प्रदान गरिने नागरिक, राजनीतिक, आर्थिकलगायतका अधिकारप्राप्त गर्ने आधार नै नागरिकता हो । नागरिकता प्राप्त गर्नु कुनै पनि व्यक्तिको नैसर्गिक अधिकारभित्र रहेको हुँदा नागरिकता नहुँदा राज्यद्वारा प्रदत्त अधिकारहरूको उपयोग गर्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्थाको सिर्जना हुने । (प्रकरण नं. १३) वंशजको नागरिकता व्यक्तिको नैसर्गिक अधिकार हो । विवाह वा सन्तान जन्मेको आधारमा व्यक्तिको वंशजको नागरिकतामा असर नपर्ने । निजले आफ्नो नागरिकता नलिएमा वा परित्याग गरेको अवस्थामा बाहेक रिट निवेदकको आमा वंशजको नेपाली नागरिक नै रहने । केवल प्रमाण पत्र पछि लिएको भन्ने विषयले वंशजको आधारमा पाउने नागरिकताको पहिचानलाई असर पार्दछ भन्न नमिल्ने । रिट निवेदकको आमा वंशजको नागरिक भई नेपाली नागरिकतालाई योग्य भएको तर नागरिकता प्रमाण पत्रसम्म पछि लिएको आधारमा मात्र निजको नागरिकतालाई अन्यथा भन्न नसकिने । यो संविधानबमोजिम वंशजको आधारमा नागरिकता प्राप्त गर्न योग्य व्यक्ति नेपालको वंशजको नागरिक ठहर्ने नै देखिने । (प्रकरण नं. १५) नेपालमा नै जन्मी नेपालमा नै हुर्की स्वतन्त्र जीवनयापन गर्न, शिक्षा प्राप्त गर्न, प्राप्त शिक्षाको समकक्षता प्रमाणपत्र पाउन नसक्ने अवस्थामा एउटा व्यक्ति पुग्ने परिकल्पना संविधानले गरेको छैन । अधिकारको अधिकारपत्रको रूपमा रहेको नागरिकताको संवैधानिक अधिकारबाट कार्यविधि अड्चनको नाममा लामो समय वञ्चित बनाउनु संविधानअनुकूल नहुने । (प्रकरण नं. २०) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री रक्षाराम चमार विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कैलाश के.सी. अवलम्बित नजिर : ने.का.प. २०५८ अङ्क ११ नि.नं ७०४४ ने.का.प. २०६५ नि.नं.८०३५ अङ्क १२ ने.का.प. २०७४ नि.नं.९८१८ अङ्क ५ ने.का.प. २०७७ नि.नं.१०५७३ अङ्क ९ ने.का.प. २०७७, नि.नं. १०४५८ सम्बद्ध कानून : नेपालको संविधान नेपाल नागरिकता ऐन, २०६३ नेपाल सन्धि ऐन, २०४७ आदेश न्या. सपना प्रधान मल्ल : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ : म निवेदक धनुषा जिल्ला, लवटोली गाउँ विकास समिति वडा नं. २ मा मिति २०५३।१०।२० गते (जन्मदर्ता नं. १०५ जारी मिति २०५७।०९।१०) जन्म भई हाल परिवर्तित गणेशमान चारनाथ नगरपालिका वडा नं. ७ मा स्थायी रूपमा बसोबास गर्ने नेपाली नागरिक हुँ । मेरो बुबा सन्तोष पुर्वे सुडीले मिति २०६४।०१।०८ मा जन्मको आधारमा नागरिकता प्रमाणपत्र नं. ०१७०३०४६/४४ र आमा गितादेवी पुर्वे सुडीले मिति २०६४।०१।०९ मा वंशजको आधारमा ना.प्र.नं. ०१७०३०४६/३९६ प्राप्त गर्नुभएको छ । मैल