निर्णय नं. ११२९१ - निर्णय दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२९१ - निर्णय दर्ता बदर भाग: ६६ साल: २०८१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७९/०८/२९ १०९३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७९।८।२९ मुद्दा: निर्णय दर्ता बदर ०७२-CI-११४३ पुनरावेदक / प्रतिवादी : काठमाडौ जि.का.म.न.पा.वडा नं. ६ बस्ने मनोहर महर्जनको श्रीमती वर्ष ५२ की ज्यानीमाया डंगोल विरूद्ध विपक्षी / वादी : ललितपुर जिल्ला ल.पु.उ.म.न.पा. वडा नं. ६ बस्ने भिमलालको छोरा अ.वर्ष ७३ को बाबुलाल श्रेष्ठसमेत ०७२-CI-१२१२ पुनरावेदक / वादी : ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. ६ सुनधारा चालाछे बस्ने बाबुलाल श्रेष्ठ विरूद्ध प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. ६ सुनधारा ओकुबहाल ल.पु.जि. नख्खु कारागारमा कैद भुक्तान गरिरहेका बुद्धरत्न शाक्यसमेत रैकर जग्गा पूर्णतया व्यक्तिगत जग्गा भई यसको प्रयोजनको लागि निश्चित सर्तहरू तोकिएको हुँदैन भने निजी गुठी पारिवारिक वा सामूहिक रूपमा सञ्चालन गरिने भए पनि त्यस्को स्वामित्व र प्रयोजन रैकर जग्गा जस्तो नि:सर्त (unconditional) नभई सर्तबन्धनात्मक (conditional) रहने । (प्रकरण नं.४) गुठियार सबैले सामूहिक रूपमा निर्णय गर्दासमेत गुठीको सम्पत्तिमा हानि नोक्सानी पुर्याउने गरी गुठीको उद्देश्यविपरीत हक हस्तान्तरण, बेचबिखन गर्न नपाउने र गुठी सञ्चालन गरी बाँकी रहेको शेष-कसर मात्र खान पाउने हुँदा केही गुठियार वा सम्पूर्ण गुठियारहरूले सहमति दिएको भए तापनि गुठीको जग्गा कसैको निजी रैकर जग्गामा परिणत हुन सक्ने गरी कानूनले मानेको नदेखिने । (प्रकरण नं.१०) आफ्नो निजी वा आफूले भोग गर्न पाउने वा निर्णय खटन पटन गर्न सक्ने सम्पत्ति सामूहिक वा सार्वजनिक काममा लगाउन दान दिई सो कार्य चिरकाल पर्यन्त सोही कामका लागि कायम रहोस् भन्ने चाहनाका साथ गुठी स्थापना गर्ने कार्य नेपालको आफ्नो मौलिक पहिचानको उदाहरणीय पक्ष रहेको देखिने । यसले हाम्रा पूर्वजहरूमा परोपकारी कामबाट सामाजिक दायित्व निर्वाह गर्ने उत्कृष्ट मानवीय मूल्य विकसित भइसकेको दृष्टान्त पेस गर्ने । राज्यको मात्र मुख नहेरी तत्कालीन समाजको आवश्यकतानुसार धार्मिक तथा सांस्कृतिक रीति परम्पराको जगेर्नासँगै बाटा घाटा, पाटीपौवा, इनार, धारा, मठ मन्दिरको निर्माण तथा संरक्षण गरी आफ्नो र आफ्ना सन्ततिहरूको कृति राख्न गुठीमा आफ्नो अचल सम्पत्ति राखी त्यसको आयस्ताबाट ती कार्यहरू अघि बढिरहुन् भन्ने आफ्ना वा अरूका पुर्खाको सदिच्छालाई सम्मान गर्नुपर्नेमा पुर्खाको नासो मासेर आफ्ना व्यक्तिगत स्वार्थ र चाहना पूर्तिमा लाग्नु आफ्नै पूर्वजप्रतिको असम्मान मात्र नभई अवहेलनासमेत हुने । (प्रकरण नं.११) परापूर्व कालदेखि सञ्चालन हुँदै आइरहेको गुठी प्रथा, धार्मिक, सांस्कृतिक परम्पराको साक्षी मात्र नभई ती सांस्कृतिक र परम्परालाई जीवन्त राख्ने उचित र अनुकूल अभ्यास पनि हुने । गुठी जग्गा यदि फिल्डबुकमा गरिएको केरमेट त्रुटि वा केही गुठियारहरू वा सम्पूर्ण गुठियारहरूले हकदाबी छोडिदिएको आधारमा मात्र रैकरमा परिणत गर्दै जाने हो भने गुठीको अस्तित्व मात्र नभई धार्मिक र सांस्कृतिक परम्पराको अस्तित्वसमेत समाप्त हुन सक्ने । निजी गुठीको सञ्चालन एवं भरणपोषणको दायित्व गुठियारहरूमा रहे पनि गुठी प्रथाको संरक्षण र संवर्द्धन गर्ने दायित्व अन्ततः नेपाल सरकार र यसअन्तर्गतका सरकारी निकायहरू मूलतः गुठी संस्थान र मालपोत कार्यालयमा रहेको देखि