निर्णय नं. ११२९९ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२९९ - उत्प्रेषणसमेत भाग: ६६ साल: २०८१ महिना: असोज अंक: ६ फैसला मिति :२०७८/११/१६ ५९९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री नहकुल सुवेदी आदेश मिति : २०७८।११।१६ ०७४-WO-०८३३ विषय : उत्प्रेषणसमेत निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३५ बुद्धनगरमा रजिस्टर्ड कार्यालय रहेको हिमालयन हाइड्रोपावर लिमिटेडको सञ्चालक कार्यकारी अध्यक्ष खोमबहादुर के.सी.समेत विरूद्ध प्रत्यर्थी : नेपाल सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिहदरबार, काठमाडौंसमेत जनचाहना एवम् आवश्यकता र उपयुक्तताका आधारमा सरकारले दीर्घकाल र तत्कालमा समेत विभिन्न नीतिहरू अख्तियार गर्दै तत्काल सम्बोधन गर्नुपर्ने देखिएका समस्याका निम्ति आवश्यक नीतिगत निर्णय गरी कार्यान्वयन गर्न सक्ने । लोकतान्त्रिक पद्धतिमा यो सरकारमा रहने अन्तरनिहित अधिकारसमेत हुने । औचित्यता पुष्टि हुने गरी गरेका हरेक नीतिगत निर्णय सरकारको अधिकारक्षेत्रका विषय हुने । सेवा सुविधा, छुट प्रदान गर्ने विषयमा सरकारले केही मापदण्ड, सर्तसहितका व्यवस्थाहरूसमेत राख्न सक्ने । व्यवहारतः सरकारको नीतिगत विषयमा न्यायिक हस्तक्षेप अपेक्षित नहुने । सिद्धान्ततःसरकारको नीतिगत विषयमा रिट क्षेत्राधिकार आकर्षित नहुने । (प्रकरण नं.९) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री किर्तीनाथ शर्मा पौडेल, श्री विकास भट्टराई, श्री अनन्तराज लुइटेल, श्री प्रतिभा उप्रेती प्रत्यर्थीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.प्रकाशमान सिंह राउत : नेपालको संविधानको धारा ४६, धारा १३३(२)(३) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् यस अदालतको आदेश यसप्रकार छ:- तथ्यगत बेहोरा हामी निवेदकहरू विद्युत् उत्पादन गर्ने व्यवसायी हौं । हामीहरूको २० मेगावाटको माथिल्लो मादी जलविद्युत् आयोजनाले मिति २०७३।९।२५ गतेबाट, ११.२ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाले मिति २०७४।८।२२ गतेबाट, १० मेगावाटको मद्क्यु खोला जलविद्युत् आयोजनाले मिति २०७४।१२।१९ बाट विद्युत् उत्पादन कार्य सुरू गरिसकेका छन् भने हिमालयन हाइड्रोपावर लिमिटेडअन्तर्गतको १२ मेगावाटको नामार्जुन मादी जलविद्युत् आयोजना २०७६ सालको आषाढ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य थियो । यी आयोजनाहरू सुरू हुनुपूर्व विभिन्न असहज परिस्थितिले समयमा वित्तीय व्यवस्थापन हुन नसक्दा निर्माण कार्यमा ढिलाई हुन गयो भनेपछि पनि अकस्मात आएको भूकम्प, अघोषित नाकाबन्दी जस्ता विषम परिस्थिति तथा निर्माण सामग्रीहरूमा भएको निरन्तर मूल्य वृद्धि जस्ता विविध कारणले नेपाल सरकारले घोषणा गरेको समयसीमा २०७१ साल चैत मसान्तभित्र विद्युत् उत्पादन गर्न सकिएन । सोपश्चात् केही समय सीमा थप भएको थियो । हामी निवेदकहरूको सञ्चालनमा रहेका उल्लिखित आयोजनाहरूको विद्युत् खरिद बिक्री (Power Purchase Agreement) को दर वर्षायाममा प्रति कि.वा. घण्टा रू.४ र सुख्खायाममा रू.७ थियो । मन्त्रिपरिषद्को मिति २०६८।१०।१७ को निर्णयबाट घोषित लोडसेडिङ न्यूनीकरण कार्ययोजना, २०६८ घोषणाबमोजिम नयाँ आयोजनाहरूको निर्माण कार्य गर्दा नयाँ दर रू.४.८० र रू.८.४० तोकियो । हामीले पनि नयाँ आयोजनाहरूसँगै निर्माण कार्य गर्नुपरेको र हरेक सामानमा भएको मूल्यवृद्धि, बैंकहरूको ब्याजदरमा भएको वृद्धिका कारण