निर्णय नं. ११३०० - उत्प्रेषणयुक्त परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३०० - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ६६ साल: २०८१ महिना: असोज अंक: ६ फैसला मिति :२०७९/१०/१६ ५७७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ आदेश मिति : २०७९।१०।१६ ०७८-WO-०१२५ विषयः- उत्प्रेषणयुक्त परमादेशसमेत निवेदक : जनहित संरक्षण मञ्चको तर्फबाट र आफ्नो हकमा समेत जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं.१ बस्ने संजय अधिकारी विरूद्ध विपक्षी : नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंसमेत रेट्रोफिटिङ गर्ने वा जीर्णोद्धार गर्ने भन्ने जस्ता कार्यहरू नितान्त प्राविधिक विषय भएकोले यस्तो विषयमा प्राविधिक तवरले प्रमाणित भएमा बाहेक भावनात्मक रूपमा दिइएको सल्लाह र सुझावको खासै अर्थ नरहने । सरसर्ती हेरेर वा अवलोकन गरेर बनाइएको धारणाभन्दा पनि सो घरका सम्बन्धमा गरिएको प्राविधिक जाँच र परीक्षणबाट सो घर संरक्षणका लागि सुदृढीकरण (retrofitting), जीर्णोद्धार (restoration) वा पुनर्निर्माण (reconstruction) मध्ये के कुन पद्धति प्रयोग गर्न उपयुक्त हुने हो भन्ने सम्बन्धमा विज्ञ एवम् प्राविधिकहरूले निकालेको निष्कर्ष नै महत्त्वपूर्ण र स्वीकारयोग्य हुने । विना प्राविधिक आधार र कारण निवेदकले विज्ञलाई उद्धृत गर्दै व्यक्त गरेको कथनको भरमा महाकवि देवकोटाको घर रेट्रोफिटिङ वा जीर्णोद्धार पद्धतिबाट नै दुरूस्त तुल्याउन सम्भव हुने भनी अर्थ गर्न मनासिब नहुने । (प्रकरण नं.३) पुरानोपन बोकेको घर हो भन्दैमा सबै घर पुरातात्विक महत्त्वका नहुने । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ले पनि विशिष्ट व्यक्ति बसोबास गरी आएको भन्ने आधारमा नै त्यस्तो घरलाई पुरातात्विक वस्तु मानिने । यस दृष्टिले महाकवि देवकोटालाई कविकुञ्जको सापेक्षतामा नहेरी महाकवि देवकोटाको निवास रहेको कविकुञ्जलाई महाकवि देवकोटाको सापेक्षतामा हेर्नु वाञ्छनीय हुने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री पंकजकुमार कर्ण र श्री संजय अधिकारी विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री लोकराज पराजुली, विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिप्रसाद उप्रेती र श्री नरेन्द्रप्रसाद पाठक, विद्वान् अधिवक्ता श्री शंकरप्रसाद पुडासैनी अवलम्बित नजिर : सम्बद्ध कानून : प्राचीन स्मारक संरक्षण ऐन, २०१३ जग्गा प्राप्ति ऐन, २०३४ आदेश न्या.तिलप्रसाद श्रेष्ठ : नेपालको संविधानको धारा ४६ एवम् धारा १३३ को उपधारा (१) र (२) बमोजिम दायर भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त बेहोरा र आदेश यसप्रकार छः- निवेदनको संक्षिप्त तथ्य ऐतिहासिक एवम् पुरातात्विक सम्पदाहरू राष्ट्रका लागि धरोहर हुन्छ र यिनैबाट ती राष्ट्रहरू कति सभ्य, सम्पन्न र विपन्न र अविकसित भनी आँकलन पनि गर्न सकिन्छ । पूर्वजबाट निर्मित सम्पदा तथा नेपालको इतिहासमा अमूल्य योगदान गर्ने व्यक्तित्वहरूको घर तथा तिनले प्रयोग गरेको सरसामानको संरक्षण गर्दै तिनलाई भावी पुस्तामा जस्ताको त्यस्तै हस्तान्तरण गर्नु वर्तमान पुस्ताको कर्तव्य हो । इतिहाससँग राष्ट्रको अतित जोडिएकोले ऐतिहासिक, पुरातात्विक एवम् सांस्कृतिक सम्पदाहरूले हामीलाई अतीतका बारेमा बुझ्न मद्दत गरिरहेको हुन्छ । तिनमा जनताको भावनात्मक सम्बन्ध पनि गाँसिएको हुन्छ । त्यसैले ऐतिहासिक, पुरातात्विक एवम् सांस्कृतिक धरोहरको बारेमा हामीले युवा पुस्तालाई जानकारी गराउनुपर्छ । नत्र कालान्तरमा आफ्नो पहिचान हराउँदै जाने र बिस्तारैबिस्तारै अस्तित्व नै खतरामा आउन सक