निर्णय नं. ११३०१ - उत्प्रेषणयुक्त परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३०१ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ६६ साल: २०८१ महिना: असोज अंक: ६ फैसला मिति :२०७९/११/१७ ८५९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७९।११।१७ ०७८-WO-०२०४ विषय: उत्प्रेषणयुक्त परमादेशसमेत निवेदक : डडेलधुरा जिल्ला, वेलापुर गाउँपालिका वडा नं । ९ घर भई हाल प्रहरी प्रधान कार्यालय, नक्साल सुरक्षा महाशाखामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्दबहादुर साउद विरूद्ध विपक्षी : प्रहरी प्रधान कार्यालय, नक्सालसमेत अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानको विषय फौजदारी कसुरको पाटो हुने । त्यस्तो उजुरी तामेलीमा राखिने निर्णय भए तापनि प्रहरी प्रधान कार्यालयबाट भएको अनुसन्धानको विषय प्रहरी आचरण विरूद्धको काम कारबाहीमा विभागीय कारबाहीको पाटो हुने भएकाले यी दुई फरक विषय हुने । प्रहरी कर्मचारीले ऐन, नियमले तोकेको काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आचरण र दायित्वको प्रतिकूल हुने गरी कुनै काम कारबाही गरेको अवस्थामा अख्तियार प्राप्त अधिकारीले प्रहरी ऐन एवं नियमावलीमा उल्लेख भएको कानूनी व्यवस्था र कार्यविधिबमोजिम त्यस्ता प्रहरी कर्मचारीलाई विभागीय कारबाहीको सजाय गर्न सक्ने । भ्रष्टाचारमा अनुसन्धान गर्ने अख्तियारी नभएको निकायले छानबिन गरी भ्रष्टाचार मुद्दा नचल्ने निर्णय गरी तामेलीमा राख्नुको अर्थ विवादित विषय (मेरित्) मा प्रवेश नभएकै अवस्थामा दोहोरो कारबाही भएको भनी मान्न नमिल्ने । (प्रकरण नं ।८) विभागीय कारबाही प्रशासनिक निकायबाट हुने कारबाही हो र यो अदालतभन्दा भिन्न प्रकृतिको मुद्दाको सन्दर्भमा दोहोरो खतराको सिद्धान्त आकर्षित भएको भन्न नमिल्ने । (प्रकरण नं ।९) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री शालिकराम सापकोटा र श्री गणेशप्रसाद शर्मा विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली अवलम्बित नजिर : ने ।का ।प ।२०६४, अङ्क २, नि ।नं ।७८१६ सम्बद्ध कानून : अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ प्रहरी ऐन, २०१२ आदेश न्या ।सपना प्रधान मल्ल : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनसहितको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ: संक्षिप्त तथ्य म निवेदक प्रहरी कर्मचारीको रूपमा रही कीर्तिपुरको ट्याङ्लाफाँटमा डेरामा बसोबास गरिआएकोमा कीर्तिपुरकै एक स्थानीय दिपेन्द्र के ।सी ।ले आफ्नै दिदी विमला श्रेष्ठको साथबाट नगद रू ।२५,०००।- (पच्चिस हजार) र रेड्मी मोबाइलसहितको ब्याग कलंकीबाट चोरी भएको र प्रहरीमा जानकारी दिँदा कुनै कारबाही नभएकोले सहयोग गरिदिन आग्रह गर्नुभएकोले सहजीकरण गरी निजको दिदी विमला श्रेष्ठको मोबाइलसम्म पत्ता लगाउन मद्दत गरेको थिएँ । यसैबिच मिति २०७७।०४।११ गते आइतबार म निवेदक आफ्नो ड्युटी पूरा गरेर घर फर्कन लाग्दा साथीले आफ्नो वर्थ डे भएकोले आउनुपर्छ भनेकोले पार्टी प्यालेसमा पुगी पार्टीमा रहेकै समयमा साँझ ८ बजेको समयमा रिकेश श्रेष्ठले मलाई फोन गरेको र भेट्न खोजेको जानकारी दिएपछि आफू सतुंगलमा रहेको जानकारी दिएको थिएँ । करिब ८१० मिनेटमा रिकेश श्रेष्ठ त्यहाँ आई दिपेन्द्र के ।सी ।लाई आफूले रू ।१० हजार दिन खोजेको तर उहाँ कीर्तिपुर बल्खुतिर भएको भन्दै मेरो पाइन्टको खल्तीमा घुसार्दै १० हजार रूपैयाँ छ है सर भन्दै जानुभयो । यसैबिच सोही राति ठिक १ बजेको समयमा महानगरीय प्रहरी