निर्णय नं. ११३१० - चेक अनादर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३१० - चेक अनादर भाग: ६६ साल: २०८१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०८०/०९/०१ २६८३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी फैसला मिति : २०८०।९।१ ०७३-CR-०६०७ मुद्दा:- चेक अनादर पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३५, सुविधानगर, मुनीभैरव मार्गमा रजिस्टर्ड कार्यालय रहेको ॐकार रियल स्टेट एण्ड हाउजिङ कम्पनी प्रा.लि.समेत विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.५ विशालनगर बस्ने काशीनाथ आचार्यको नाति, भरतमणि आचार्यको छोरा विजयमणी आचार्य वादी प्रतिवादीबिच अन्य लेनदेन कारोबार भएका कारण चेक दिएको नै भए तापनि लेनदेन कारोबारतर्फ प्राप्त उपचार र चेक अनादरमा प्राप्त हुने उपचार दुई पृथक् वैधानिक अवस्था हुन् । चेकको प्रकृति नगदसरह तत्काल भुक्तानी हुनुपर्ने हुँदा बैंकिङ प्रणाली सञ्चालनका लागि बैंकमा पेस गर्नासाथ चेकको भुक्तानी तत्काल हुनुपर्ने र नभएमा त्यसबाट सिर्जित दायित्व चेक लेख्ने व्यक्तिले वहन गर्नुपर्ने । प्रतिवादीहरूले वादीलाई जग्गा पारित गरिदिएको र सोबापतको प्रतिफल प्राप्त नगरेको भए सोको उपचार सोही मुद्दाबाट खोजिनुपर्ने । बैंकिङ प्रणालीअन्तर्गत चेक काटिदिएपछि चेक भुक्तानी नभएमा बैंकिङ प्रणालीको साखमा नै गम्भीर असर पर्ने र बैंकिङ प्रणाली सुसञ्चालन हुन नसक्ने भएकाले चेक अनादर हुनुको औचित्य अन्य कारोबार वा व्यवहारबाट स्थापित हुन नसक्ने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने तथा विद्वान् अधिवक्ताद्वय श्री राजकुमार कार्की र श्री युवराज गौतम प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री पूर्णमान शाक्य अवलम्बित नजिर : ने.का.प.२०७५, अङ्क ११, नि.नं.१०१३७ सम्बद्ध कानून : विनिमेय अधिकारपत्र ऐन, २०३४ सुरू तहमा फैसला गर्ने: मा. न्यायाधीश श्री महम्मद जुनैद आजाद काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य तत्कालीन पुनरावेदन अदालत पाटन फैसला न्या.डा.नहकुल सुवेदी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :- मुद्दाको संक्षिप्त तथ्य विपक्षीहरू चन्द्र महर्जन र शान्तिराम न्यौपाने मेरोमा आई मेरो नाम दर्ताको काठमाडौं जिल्ला, मुलपानी गा.वि.स. वडा नं. ८(ख) कि.नं. १३७, १३८, १४३ र ७७९ समेतका जग्गाहरू मैले बेचबिखन गर्न लागिरहेको अवस्थामा तपाइँको जग्गाहरू हाम्रो कम्पनीको नाममा पारित गरिदिनुहोस्, जग्गा प्लटिङ गरी पैसा बुझाउँदै जाउँला यसको जिम्मेवार हामी हुने छौं भनी लागिपरेका र आफन्तहरूको कुरासमेत सुनी विपक्षीहरूको कुरामा विश्वास गरी जग्गा पास गरिदिएको हो । जग्गाको मूल्य प्लटिङ गरी बिक्री गर्दै चुक्ता गर्ने छौं, त्यसको सुरक्षणको लागि उक्त कित्ता जग्गाहरू दृष्टिबन्धक पारित गरिदिने भन्ने सल्लाह र सहमति भई उल्लिखित जग्गाहरू विपक्षीहरूले भनेको कम्पनीको नाममा पारित गरेको हो । सोपश्चात् विपक्षीहरू टाढा हुँदै जाने र जग्गाहरू उनाउ व्यक्तिहरू तथा कम्पनीका नाममा पास गरिदिन थालेको थाहा पाई विपक्षीहरूलाई ताकेता गरिरहेको कारण मिति २०६६।२।२२ गते राष्ट्रिय वाणिज्य बैंकको चेक नं.१३६७