निर्णय नं. ११३१४ - जालसाज
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३१४ - जालसाज भाग: ६६ साल: २०८१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/०१/२८ १२२६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।०१।२८ ०७२-CR-०२५५ मुद्दाः जालसाज पुनरावेदक / प्रतिवादी : बद्रीप्रसाद लामिछानेको नाति, हरिप्रसाद लामिछानेको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १२ बस्ने पुरूषोत्तम लामिछाने विरूद्ध प्रत्यर्थी / वादी : श्रीसम्पत्ति शाक्यको छोरा जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. १२ बस्ने प्रकाशमान शाक्य प्रचलित कानूनले वादीलाई दुई वा सोभन्दा बढी उपचारका मार्ग (विकल्प) प्रशस्त गरेको अवस्था छ भने कुन मार्गबाट उपचारको खोजी गर्ने भन्ने वादीको छनोटको विषय हुने । अमुक कानूनी व्यवस्थाबमोजिम नै उपचार खोजी गर्नुपर्छ वा अमुक कानूनी व्यवस्थाबमोजिम दाबी गर्न मिल्दैन भनी प्रतिवादी वा यस अदालतले समेत बाध्य गर्नु उचित नहुने । यस स्थितिमा मुद्दाको तथ्यको रोहबाट प्रतिवादीको कार्य जालसाजपूर्ण देखिएको अवस्थामा वादीले लेनदेन व्यवहारको महलअन्तर्गत लिखत बदरतर्फ दाबी नगरी जालसाजी मुद्दाको फिराद दायर गर्न नसक्ने भन्ने प्रतिउत्तर तथा पुनरावेदन जिकिर कानून र न्यायको रोहमा मिल्दो नदेखिने । (प्रकरण नं. ५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री भोजराज सुवेदी, श्री गोपालप्रसाद अर्याल र कमलेश द्विवेदी प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री ऋषिप्रसाद अधिकारी मोरङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री भीमकुमार ओझा मा.न्या.श्री रमेशबहादुर थापा पुनरावेदन अदालत विराटनगर फैसला न्या. नहकुल सुवेदी : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड स्व. पिता श्रीसम्पत्ति र माता दिलकुमारी शाक्यको २ भाइ छोरामा जेठा म फिरादी कान्छा नरेशमान शाक्य हो । भाइ नरेशमान २०४५ सालदेखि आफ्नो अंश भाग बुझी छुट्टिई भिन्न भई बसेका छन् । आमा दिलकुमारी शाक्य मूलघरमा मसँगै बस्दै आउनुभएकोमा हाल छुट्टिई भिन्न भएको भाइसँग बस्दै आउनुभएको छ । मेरो परिवार मूलघरमा नै बसी आएका छौं । आमा र मबिच अंशबन्डा नभई सबै चल अचल सम्पत्ति आमाकै नाममा दर्ता एवं जिम्मा छ । पिताको नाममा रहेका पुर्ख्यौली सम्पत्ति रैती नं.३६९ र ३७० घर जग्गा २०४३ सालमा सर्भे नापी हुँदा जिल्ला मोरङ, विराटनगर-१२ सिट नं.१७८-०७४३-१३ मा कि.नं.३२ को ज.वि.०-०-१६-१ र सिट नं.१७८-०७४३-१८ मा कि.नं.२५ को ०-०-७ कायम भएको छ र कि.नं.३२ को जग्गामा पक्की घर जनिएको र नापीमा उपस्थित हुन नसक्दा जग्गा दर्ता गर्न छुट हुन गएकोले छुट दर्ता गर्ने प्रक्रियामा विपक्षी आमाले साबिक रैती नं.३७० का ०-७-२ जग्गा दाइजो पेवाको देखाई कि.नं.३२ लाई फोड गरी कि.नं.६६ को ०-०-७-२ जग्गा आमाका नाममा र सोमध्ये कि.नं.६७ को जग्गा स्व.पिताका नाममा यथावत् कायम रही सो कि.नं.६७ को जग्गामा मेरो परिवार बसोबास गरी भोगचलन गरी आएकोमा आमाले मलाई नदेखाई नभनी गुपचुप रूपमा उक्त जग्गा नामसारी दाखिल खारेज दर्ता गरी मलाई बिचल्ली एवं निरअंशी बनाई घर बसोबासबाट हटाउने नियत लिई छोरा नरेशमान शाक्य र निजकी श्रीमती मनोरमा शाक्यलाई साक्षीमा राखी भाइ सुरेशदास श्रेष्ठलाई र.नं.४६८३(क) मिति २०६४।०८।१३ गते राजीनामा पास