निर्णय नं. ११३२० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३२० - कर्तव्य ज्यान भाग: ६६ साल: २०८१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०८०/०५/०४ १२६२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०८०।५।४ ०७६-CR-०४६४ मुद्दाः कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : खोटाङ जिल्ला, बासपानी गा.वि.स. वडा नं.५ बस्ने लछुराम राईको छोरा असिम राई विरूद्ध प्रत्यर्थी / वादी : खोटाङ जिल्ला, फेदी गा.वि.स. वडा नं.३ बस्ने बमबहादुर राईको छोरा हर्कराज राईको जाहेरीले नेपाल सरकार प्रतिवादीले अदालतमा बयान गर्दा कसुरमा इन्कार रहेको र जाहेरवालाले अदालतमा बकपत्र गर्दा प्रतिकूल बकपत्र गरेको भन्ने मात्र आधारमा कुनै प्रतिवादीले कसुरबाट सफाइ पाउँछ भन्न नमिल्ने । कुनै मुद्दामा के के प्रमाण छन् भन्ने हेर्नुपर्दा प्रतिवादीको बयान र जाहेरवालाको बकपत्र पनि प्रमाणको श्रृङ्खलाभित्र पर्ने कुरा हुन सक्ला तर प्रतिवादीको अदालतमा इन्कारी बयान भएको र जाहेरवालाले प्रतिकूल बकपत्र गरेको भन्ने कुरालाई यान्त्रिक रूपमा हेरी यी प्रमाणहरू प्रतिवादीको पक्षमा रहेको भन्ने आधारमा मात्र सफाइ पाउन नसक्ने । कुनै प्रतिवादीलाई लागेको अभियोग माग दाबीबमोजिमको कसुर निजले गरेको देखिन्छ वा देखिँदैन भन्ने सम्बन्धमा विचार गर्नुपर्दा कुनै खास प्रमाण विशेषलाई मात्र आधार मान्ने टुक्रे दृष्टिकोणलाई न्यायको रोहमा स्वीकार्य मान्न नसकिने । मिसिल संलग्न समग्र प्रमाणहरूको मूल्याङ्कनबाट निष्कर्षमा पुग्ने मान्यता नै न्याय सम्पादनको मान्यता हुने । सामान्यतयाः कुनै कसुरको अभियोग लागेको व्यक्ति कसुरमा इन्कार रहनुलाई अस्वाभाविक मान्न नसकिने । आफूले कसुर स्वीकार गर्दा बेहोर्नुपर्ने फौजदारी दायित्वबाट उन्मुक्तिका लागि इन्कार रहनु स्वाभाविकै हुने । तर यही स्वाभाविकताका बिचमा पनि कुनै व्यक्ति निजलाई लगाइएको अभियोगमा साबित हुन्छ भने त्यो पक्ष विचारणीय हुन्छ र अन्यथा प्रमाणित नभएसम्म यस्तो साबितीलाई मूल्यवान् प्रमाणको रूपमा लिनुपर्ने । किनभने यहाँनिर साँचो नभई आफैँउपर फौजदारी दायित्व आइपर्ने गरी कोही पनि साबित हुँदैन भन्ने मान्यता राख्ने गरिने । यसैले साबितीलाई प्रमाणमा लिने व्यवस्था गरिनुको पछाडि पनि साबित भयो भन्ने तथ्य महत्त्वपूर्ण नभएर त्यस्तो साबिती साँचो हुन्छ भन्ने तथ्य महत्त्वपूर्ण रहने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता प्रा.डा. श्री रञ्जितभक्त प्रधानाङ्ग र विद्वान् अधिवक्ता श्री प्रज्वल पौडेल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री श्यामप्रसाद दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री किशोर घिमिरे खोटाङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री विदुर बिक्रम थापा मा. न्यायाधीश श्री शालिग्राम कोइराला उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गा फैसला न्या.तिलप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः मुद्दाको संक्षिप्त तथ्य मेरो छोरा मनकुमार राई मिति २०७२।०९।०८ गतेका दिन बाक्सिला बजार भरी साथीहरूसँग आफ्नो घरतर्फ फर्कने क्रममा बेलुकी अं. ०७:३० बजेको समयमा खोटाङ जिल्ला बासपानी-५ ढोकाडाँडा भन्ने स्थानमा आउँदै गर्दा असिम राईसमेतका व्यक्तिहरूले वादविवाद कुटपिट, हातपात गरी