निर्णय नं. ११३३५ - बहुविवाह

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३३५ - बहुविवाह भाग: ६६ साल: २०८१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/१२/२६ २४५८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७९।१२।२६ मुद्दा:- बहुविवाह ०७१-CR-०७६३ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३३ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १६ डेरा गरी बस्ने मनौवर हसन विरूद्ध प्रत्यर्थी / वादी : सविया तनविर हसनको जाहेरीले नेपाल सरकार ०७१-CR-०९४८ पुनरावेदक / प्रतिवादी : बाँके जिल्ला, नेपालगन्ज नगरपालिका, वडा नं. १ बस्ने मिना हलुवाई (अभियोग- पत्रमा मीना हसन उल्लेख भएको) विरूद्ध प्रत्यर्थी / वादी : सविया तनविर हसनको जाहेरीले नेपाल सरकार प्रचलित नेपाल कानूनले कुनै समुदाय वा सम्प्रदायमा प्रचलनमा रहेको सम्बन्ध विच्छेदको व्यवहारलाई मान्यता प्रदान नगरी सबै समुदाय र सम्प्रदायलाई लागु हुने एकीकृत कानून प्रचलनमा रहेको अवस्थामा मुस्लिम समुदायमा हुने एकतर्फीय प्रकृतिको सम्बन्ध विच्छेद जस्तै तीन तलाक (triple talaq) लाई अन्य देशहरूमा कसुरजन्य कार्य बनाइँदै गरेको अवस्थामा छरछिमेक वा समाजमा इस्लाम परम्परा र संस्कृतिअनुसार गरेको तलाक वा सम्बन्ध विच्छेदलाई कानूनले मान्यता नगरेको अवस्थामा दोस्रो विवाह गर्न छुट भएको मान्न नमिल्ने । (प्रकरण नं. ७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री यदुनाथ खनाल र प्रेमराज सुवेदी तथा विद्वान् अधिवक्ताद्वय श्री मीना थापा खड्का र श्री मनिषा बस्नेत प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री लोकराज पराजुली अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ सुरू तहमा फैसला गर्नेः- मा. जि. न्या. श्री लेखनाथ घिमिरे काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- मा. न्या. श्री दीपककुमार कार्की मा. न्या. श्री विष्णुदेव पौडेल पुनरावेदन अदालत पाटन फैसला न्या. हरिप्रसाद फुयाल: न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) (क) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदन परी यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान भई पुनरावेदनसरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड म जाहेरवाली जेठी श्रीमती र २ छोराहरूको साथमा घरमा शारीरिक तथा मानसिक रूपले सद्दे छँदाछँदै मेरो श्रीमान् मनौवर हसनले मिना हसनसँग दोस्रो विवाह गरी बहुविवाहको कसुर गरेको हुँदा निजहरूलाई कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको सविया हसनको जाहेरी दरखास्त । जाहेरवाली सविया हसनसँग २०४० सालमा विवाह भई हामीहरूको सम्बन्धबाट २ छोराको जायजन्मसमेत भई हामीहरू खुसीसाथ बस्दै आएकोमा १२/१४ वर्ष पहिलेदेखि निज श्रीमती मसँग राम्रो व्यवहार नगरी आफूखुसी हिँड्ने, भनेको नमान्ने गरेकाले हामी दुवैको मन नमिली धार्मिक परम्परा र इस्लाम धर्मअनुसार हामी सम्बन्ध विच्छेद गरी बसेको र हाल आएर मिना हसनसँग दोस्रो विवाह गरेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी मनौवर हसनले गरेको बयान कागज । मैले विवाह गरेको श्रीमान् मनौवर हसनको पहिला नै विवाह भएको छ भन्ने थाहा थियो तर निज श्रीमान्‌ले जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद गरिसकेको भनेकोले निजसँग विवाह गरेकी हुँ भन्नेसमेत बेहोराको प्रतिवादी मिना हसनको बयान । प्रतिवादी मनौवर हसनले आफ्नी ज