निर्णय नं. ११३३६ - पूर्वादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३३६ - पूर्वादेश भाग: ६६ साल: २०८१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/०८/०८ ७३९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७९।०८।०८ ०७५-RB-०१०१ मुद्दा:- पूर्वादेश पुनरावेदक : का.जि.का.म.न.पा. वडा नं. ३४, बानेश्वरस्थित स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि. को तर्फबाट ऐ. को अख्तियार प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भान्स विरूद्ध प्रत्यर्थी : आन्तरिक राजस्व विभाग, लाजिम्पाट TDS भनेको भुक्तानीकै समयमा स्रोतमा नै करकट्टी हुने प्रावधानलाई भुक्तानी (स्रोत) मा करकट्टी (Tax Deduction at Source) भन्ने बुझिने । भुक्तानी गर्दा लाग्ने कर रकम भुक्तानी प्राप्त गर्ने व्यक्ति वा प्रापकबाट आय गर्दाकै समयमा तिरिने करको अवधारणा भएकोले यसलाई Pay as you earn (PAYE) पनि भनिने । भुक्तानी कर्ताले भुक्तानीको समयमा सेवा प्रदायक व्यक्ति वा संस्थालाई रकम भुक्तानी गर्दा करदाताबाट भुक्तानीकै समयमा कर असुल गरी बाँकी रकम भुक्तानी गरी यसरी कट्टी गरी उठाएको कर रकम सरकारलाई भुक्तानी कर्ताले बुझाउनुपर्ने दायित्व रहने । यसरी भुक्तानी गर्दाका बखत सेवा प्रदायकबाट कर असुल नगरेमा भुक्तानी कर्ताउपर कारबाही गरी सरकारले जुनसुकै समयमा कर असुल गर्न सक्ने । सेवा प्रदायक अर्थात् आय आर्जन गर्ने संस्था वा व्यक्तिलाई लाग्ने कर भुक्तानी कर्ताले भुक्तानी गर्दाका समयमा नै असुल गरी सरकारलाई बुझाउने हुनाले भुक्तानी कर्ता संकलक मात्र हुने भएकोले यस्तो प्रकारको स्रोतमा करकट्टी गरिने प्रावधानलाई अप्रत्यक्ष कर पनि भनिने । यसबाट भुक्तानी कर्तालाई थप दायित्व पर्ने वा थप व्ययभार पर्ने अवस्था नदेखिने । (प्रकरण नं. ५) विदेशी करदाताबाट स्रोतमै कर कट्टी नगर्ने हो भने राज्यको कर प्रणालीमा गिरावट आई राजस्वमा क्षयीकरण हुने प्रबल सम्भावना देखिने । यस्तो क्षयीकरण हुने जोखिमलाई न्यूनीकरण गरी राजस्व सङ्कलन प्रक्रियालाई सबल पार्न स्थायी संयन्त्रको अवधारणा आएको हो । प्रविधिको विकाससँगै कुनै एक मुलुकमा रहेको व्यक्ति, संस्था वा निकायले अर्को मुलुकमा विद्युतीय माध्यम (कम्प्युटर, फ्याक्स, इमेल, इन्टरनेट, विद्युतीय क्यास मेसिन आदि.....) बाट आफ्नो भौतिक उपस्थितिबिना पनि व्यापार व्यवसाय गर्ने, सेवा गर्ने, व्यावसायिक लाभ उठाउन सक्ने भएकोले पनि लाभ तथा मूल्य सिर्जना भएको स्थानमा नै स्रोतमै कर कट्टी गर्ने प्रणालीको विकास भएको । यस्तै कुराहरूलाई स्पष्ट पार्न तथा कर प्रणालीलाई व्यवस्थित गर्न नेपाल र भारतबिच द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता भएको । उक्त सम्झौताबमोजिम नेपालमा कर तिरेपछि उक्त भुक्तानी प्रापकले माथि उल्लिखित अवस्थाबमोजिम आफ्नो देशमा कर तिर्नुपर्ने अवस्था नदेखिने । (प्रकरण नं. ६) नेपाल कानूनबमोजिम स्थापित बैंकले नेपालमा आफ्नो सेवाको व्यवस्थापन एवं स्तरोन्नतिको लागि उल्लिखित सेवा प्रदायक संस्थासँग उक्त बैंकमा जडित संयन्त्र, बैंकमा गरिने क्रियाकलाप र बैंकको व्यवस्थापकीय कार्यको लागि सो सेवाहरू लिएको देखिने । सेवा प्रदायक संस्था जुनसुकै भए पनि यसरी प्रदान गरिएको सेवा भुक्तानीको स्थान जहाँसुकै भए पनि नेपालमा सञ्चालित क्रियाकलाप नेपालकै स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेवा सुविधा र स्तरवृद्धिको लागि प्रयोग भएको देखिएको र त्यस्तो विदेशी कम्पनीलाई नेपालकै स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल कार्यालयबाट भुक्तानी भई भुक्तानीको स्रोत नेपालमै भए