निर्णय नं. ११३३८ - करारका सर्त पूरा गर्न ताला खोली बाटो खोली पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३३८ - करारका सर्त पूरा गर्न ताला खोली बाटो खोली पाऊँ । भाग: ६६ साल: २०८१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०८०/०६/०२ ७६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०८०।०६।०२ ०७३-CI-०२५९ मुद्दाः- करारका सर्त पूरा गर्न ताला खोली बाटो खोली पाऊँ । पुनरावेदक / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.११ स्थित हरिशरणम् स्टोर्स प्रा.लि. चाइनाटाउनमा व्यापार गरी बस्ने हरिशरणम् स्टोर प्रा.लि. का सञ्चालक हरिप्रसाद शर्मा आचार्य विरूद्ध प्रत्यर्थी / प्रतिवादी : हस्तमान सुनुवारको छोरा, काठमाडौं जिल्ला, कपन गा.वि.स. वडा नं.३ बस्ने दिपककुमार सुनुवारसमेत कुनै सम्झौता वा करार, करारका पक्षहरूबाट भएको थियो वा थिएन भन्ने विषयको समाधान गर्न त्यस सम्झौता वा करारको वैधानिकता परीक्षण गर्नुपर्ने । यस्तोमा पहिलो प्रमाण भनेकै सम्झौता वा करारको सक्कल प्रति हुने । यदि सक्कल प्रति अदालतमा प्रस्तुत गर्दा पनि विवाद समाधान हुन नसके त्यस सम्झौता वा करारमा रहेको पक्षहरूको सहीछाप, ल्याप्चे परीक्षणबाट विवादको समाधान गर्नुपर्ने । त्यस्तै सम्झौता वा करार गर्दा साक्षीहरू राखिएको भए साक्षी झिकाई वास्तविकता बुझ्नुपर्ने वा कुनै सरकारी कार्यालयमा गई पक्षहरूले सम्झौता वा करार प्रमाणित गराएको भए प्रमाणित गराएको कार्यालयबाट अधिकारिकता जाँचबाट मात्र सम्झौता भएको हो वा होइन भन्न सक्ने अवस्था रहने । (प्रकरण नं. ५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री डिल्लीप्रसाद पौडेल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री श्याम खरेल तथा अधिवक्ताद्वय श्री उज्ज्वल घिमिरे र श्री युवक कुमार गौतम अवलम्बित नजिर : सम्बद्ध कानून : करार ऐन, २०५६ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा.जि.न्या.श्री चिन्तामणी बराल काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री बाबुराम रेग्मी मा.न्या.श्री हरिप्रसाद बंगाले तत्कालीन पुनरावेदन अदालत पाटन फैसला न्या. कुमार रेग्मी : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी पर्न आएको निवेदनमा यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- तथ्य खण्ड म निवेदक फिरादी चाइनाटाउन कम्प्लेक्सअन्तर्गत पसल कबल नं.१०१, १०२, १५६, १५७ र १५८ को क्षेत्रफल प्र.लि. स्टल ११२.५० x ५=१०६२.५० वर्ग फिटको पसलधनी हरिशरणम् स्टोरको सञ्चालक हुँ । उक्त पसल कबलको दर्तावाला विष्णुलाल श्रेष्ठ र सविना कर्माचार्यबाट २०७२ सालसम्मका लागि पसल चलाउन पाउने गरी किटानी अधिकार पाएको छु । म फिरादीले माथि उल्लिखित पसल कबलहरू बहालमा लिएपश्चात् उक्त कम्प्लेक्समा स्वतः उपलब्ध हुनुपर्ने मेरो पसलको रूपमा रहने सटरहरू भोग चलन गर्न पाउनुपर्ने मेरो कानूनी अधिकार हो, यसरी मैले सञ्चालन गर्ने पसल कबलका बाहिरी सटरहरू नै मेरो व्यवसायको मेरूदण्ड हो । उक्त मूल सटर ढोकासम्म र ढोकाभित्र प्रवेश गर्न पाउनु मेरो तथा मेरो ग्राहक तथा परिवारसमेतको कानूनी अधिकार हो । मैले बहालमा लिएको पसलहरू चाइना टाउन कम्प्लेक्सको पहिलो तल्लामा पर्दछ । उक्त पसलहरूमा छिर्ने मूल सटर बाटोसँग जोडिएको भई उक्त सटर र बाटो एकआपसमा सम्बन्धित भई बाटो र सटरबिना व्यापारको कल्पनासम्म गर्न सकिँदैन । यस्तो अवस्थामा मेरो पसलहरूम