निर्णय नं. ११३३९ - चेक अनादर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३३९ - चेक अनादर भाग: ६६ साल: २०८१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/०८/१३ २४२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।०८।१३ ०७४-CR-१३११ मुद्दा:- चेक अनादर पुनरावेदक / प्रतिवादी : हिरामणी भण्डारीको छोरा, कास्की जिल्ला, साबिक लेखनाथ नगरपालिका वडा नं.१ भई हाल ऐ. पोखरा लेखनाथ महानगरपालिका वडा नं.२९ बस्ने मदनमणी भण्डारीसमेत विरूद्ध प्रत्यर्थी / वादी : कास्की जिल्ला, साबिक लेखनाथ नगरपालिका वडा नं.२ भई हाल ऐ. पोखरा लेखनाथ महानगरपालिका वडा नं.२७ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३ बस्ने धनलक्ष्मी गुरूङ बैंकको खाता सञ्चालकलाई खातामा के कति रकम मौज्दात छ, के कति रकमको चेक खिच्दा सोको भुक्तानी हुन सक्दछ भन्नेलगायतका खातासँग सम्बन्धित सम्पूर्ण कुराको विवरण र जानकारी प्राप्त हुने । यसरी सम्पूर्ण विवरणको जानकार व्यक्तिले खातामा रहेको मौज्दातले नखाम्ने अङ्कको चेक काटी दिई सो चेक भुक्तानी हुन नसकेको अवस्थामा त्यसरी जानी-जानी चेक काट्ने व्यक्तिलाई दायित्वबाट छुट प्रदान गर्नु औचित्य र न्यायको दृष्टिले नमिल्ने । चेक काट्ने व्यक्ति खातावाला नरही खाता सञ्चालक मात्र रहेको भए तापनि आफूले काटेको चेक भुक्तान हुँदैन भन्ने जानकारी हुँदाहुँदै चेक काटेर अनादर गराउने कार्यलाई समेत विनिमेय अधिकार पत्र ऐन, २०३४ को दफा १०७क. बमोजिमको चेक अनादरको कसुर मान्नुपर्ने । (प्रकरण नं. ७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शरदप्रसाद कोइराला, विद्वान् अधिवक्ताहरू श्री खडानन्द कँडेल, श्री गोपालप्रसाद अर्याल, श्री दिनेशकुमार रोक्का अवलम्बित नजिर : सम्बद्ध कानून : विनिमेय अधिकारपत्र ऐन, २०३४ सुरू तहमा फैसला गर्नेः मा.जि.न्या.श्री विष्णुप्रसाद गौतम कास्की जिल्ला अदालत उच्च तहमा फैसला गर्नेः मा.न्या.श्री अच्युत बिष्ट मा.न्या.श्री जगतप्रसाद श्रेष्ठ उच्च अदालत पोखरा फैसला न्या.डा.मनोजकुमार शर्मा : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी पर्न आएको निवेदनउपर मुद्दा दोहोर्याउने अनुमति प्रदान भई पुनरावेदनसरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड प्रतिवादीहरूमध्येका मदनमणी भण्डारीले विगत ७ वर्षअगाडि म वादीबाट लगेको रू. २,५४,००,०००।– ले विपक्षीहरूले विभिन्न कारोबार गरेका र सो रकम फिर्ता दिन नसकेको कारण विपक्षी र हाम्रो घर परिवारमा पटक-पटक विवाद हुने हुँदा मुद्दा मामिला पर्ने सन्दर्भमा व्यवहार मिलाउनुपर्दछ भन्ने हाम्रा शुभचिन्तकसमेतको सल्लाहमा तमसुकसमेत भएकोमा पछिल्लो पटक भएको छलफलका आधारमा तमसुक च्याती तमसुकबमोजिमको रूपैयाँ भुक्तानी लिन विपक्षीमध्येका मदनमणी भण्डारी र हिरामणी भण्डारीका नाउँको एभरेष्ट बैंकको चेकमा प्रकाशमणी भण्डारीको दस्तखतबाट भुक्तानी हुने निजहरूको कारोबारको स्वीकृति छ भनी प्रकाशमणी भण्डारीले मिति २०७१।०९।२८, २०७१।०९।२९ र २०७१।१०।०२ को मिति राखी ३ वटा चेकमार्फत् रू.२,५४,००,०००।– को भुक्तानी लिन भनी मलाई चेक दिएकोमा चेक साट्न बैंकमा जाँदा चेकबाट भुक्तानी हुन नसकेकाले विपक्षीहरूसँग कुरा गर्दा तपाइँको तमसुक च्यातिदिने उद्देश्यले बैंकमा रूपैयाँ छैनन् भन्ने जानी-जानी भुक्तानी हुन नसक्ने चेक काटिदिएका हौं भनी अन्यायको हाँक जवाफ गरेको हुँ