निर्णय नं. ११३४१ - निर्णय दर्ता बदर, नामसारी हक कायमसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३४१ - निर्णय दर्ता बदर, नामसारी हक कायमसमेत भाग: ६६ साल: २०८१ महिना: पौस अंक: ९ फैसला मिति :२०८०/०८/०५ ८५२ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०८०।८।५ ०७२-DF-०००१ मुद्दा : निर्णय दर्ता बदर, नामसारी हक कायमसमेत पुनरावेदक / वादी : जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं. १६ बस्ने केशवलाल श्रेष्ठ विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं. ८ पिन्छेटोल बस्ने गंगामान महर्जनसमेत विवादित जग्गामा पुनरावेदकको निर्विवाद हक स्थापित नभई उक्त जग्गा गुठीको भन्ने प्रमाणित भएको हुँदा आफ्नो जग्गालाई जुनसुकै समयमा पनि आफ्नो नाउँमा दर्ता कायम गर्न पाउने कुरामा विमति हुन नसक्ने । गुठी संस्थानले कित्ताफोड गरी कायम भएको एउटा कित्ता जग्गा आफ्नो नाउँमा कायम गर्ने निर्णय गरेको विषयमा सबुद प्रमाणको मूल्याङ्कनपश्चात् पुनः अर्को कित्ता जग्गासमेत आफ्नै रहेको भनी दर्ता कायम हुने ठहर गरेको निर्णयलाई गुठी संस्थानले कुनै कुरा उल्लेख गरी एकपटक फाइदा लिएकोमा पुनः त्यसको विपरीत उल्लेख गरी दोहोरो फाइदा लिएको भनी अर्थ गर्न नमिल्ने । गुठी संस्थानले विवादित जग्गाको सम्बन्धमा गरेको निर्णयको विषयमा गुठी संस्थानलाई विबन्धनको सिद्धान्त (doctrine of estoppel) आकर्षित नहुने । (प्रकरण नं.१०) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री शम्भु थापा तथा विद्वान् अधिवक्ताहरू श्री फणिराज सिलवाल, श्री खिमानन्द अधिकारी, श्री मणिराम उपाध्याय, श्री चिरञ्जिवी उपाध्याय र श्री सपना सुवेदी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेल तथा विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री शेरबहादुर के.सी. र श्री श्यामप्रसाद खरेल तथा विद्वान् अधिवक्ताहरू श्री चिरञ्जिवी नेपाल र श्री भोजबहादुर ढकाल अवलम्बित नजिर : ने.का.प.२०७४, अङ्क २, नि.नं.९७५९ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ गुठी संस्थान ऐन, २०३३ सुरू तहको फैसला गर्ने : माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल ललितपुर जिल्ला अदालत पुनरावेदन तहको फैसला गर्ने : माननीय न्यायाधीश श्री दुर्गाप्रसाद उप्रेती माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल पुनरावेदन अदालत पाटन यस अदालतमा फैसला गर्ने मा. न्यायाधीश श्री गोपाल पराजुली मा. न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला न्या.कुमार रेग्मी : पुनरावेदन अदालत पाटनबाट मिति २०६४।०६।१० को फैसलाउपर वादीको पुनरावेदन परी प्रस्तुत मुद्दा निर्णयार्थ मिति २०७१।१२।०४ मा यस अदालतको संयुक्त इजलाससमक्ष पेस हुँदा सो इजलासका माननीय न्यायाधीशहरू श्री गोपाल पराजुली र श्री गोविन्दकुमार उपाध्यायबिच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) को देहाय (क) बमोजिम यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम रहेको छः- तथ्य खण्ड ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ८(क) कि.नं. ५४ कित्ताकाट भई हाल कायम भएको कि.नं. २१२ को क्षेत्रफल २-१२-१-० जग्गा मेरो पिता मनोहरलाल श्रेष्ठका नाउँमा मौजा इखाछेँ ५८ नं. को लगतमा रैकर परिणत दर्ता भएको गुइतको थली भन्ने १२ आना जग्गा र आमा सिद्धिलक्ष्मीका नाउँमा मौजे इखाछेँ कि.नं. ५९ मा रैकर परिणत दर्ता भएको गुइतको भन्ने साबिक