निर्णय नं. ११३४६ - अंशबन्डा गरिपाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३४६ - अंशबन्डा गरिपाऊँ भाग: ६६ साल: २०८१ महिना: पौस अंक: ९ फैसला मिति :२०८०/०४/१६ १७२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०८०।४।१६ ०७३-CI-०६८१ मुद्दाः अंशबन्डा गरिपाऊँ । पुनरावेदक / प्रतिवादी : पदमबहादुर राजभण्डारीको नातिनी कुमार राजभण्डारी भन्ने कुमारबहादुर राजभण्डारीको छोरी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० बुद्धनगर दुर्गामार्ग बस्ने आज्ञा राजभण्डारीसमेत विरूद्ध विपक्षी / वादी : पदमबहादुर राजभण्डारीको छोरा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० बुद्धनगर दुर्गामार्ग बस्ने कुमार राजभण्डारी भन्ने कुमारबहादुर राजभण्डारी कसैले निजी तवरबाट दान बकस पाएको भए त्यस्तो सम्पत्ति अन्य अंशियारलाई बन्डा नलाग्ने तथ्यमा विवाद भएन तर उक्त कानूनमा प्रयुक्त “निजी तवरले दान वा बकस पाएको” भन्ने वाक्यांश हेर्दा त्यस्तो सम्पत्ति बकस पाएको मात्र नभई “निजी तवरले” बकस पाएको हो वा होइन भन्ने हेर्नुपर्ने । सोका लागि दाबीको सम्पत्ति दाबीकर्ताले दातालाई रिझाएबापत कुनै मूल्य नलिई वा उल्लेख्य रूपमा कम मूल्य लिई सही र वास्तविक अर्थमा बकस पाएको तथ्य स्थापित हुनुपर्ने । रकम तिरी खरिद गरिएको जग्गालाई समेत बकसपत्र नामकरण गरी पारित गर्न कानूनले बाधा नगरेको अवस्थामा मुद्दाको तथ्यबाट त्यस्तो कानूनी व्यवस्थाको लाभ लिई रकम तिरी भएको कारोबारलाई समेत रिझबापत भनी कैफियत जनाई बकसपत्र नामकरण गरेको देखिन आएमा त्यसरी प्राप्त गरिएको सम्पत्तिलाई निजी तवरले बकसपत्रबाट प्राप्त सम्पत्ति भनी अन्य अंशियारलाई बन्डा नलाग्ने भन्नु न्यायको रोहमा उचित नहुने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री उषा मल्ल पाठक तथा विद्वान् अधिवक्ता श्री विष्णुमाया भुषाल विपक्षी / वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री श्रीभक्त भडेल र श्री बलबहादुर राई अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री खिलनाथ रेग्मी काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य पुनरावेदन अदालत पाटन फैसला न्या.नहकुल सुवेदी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदनको रोहमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड विपक्षीमध्येकी धनकुमारी के.सी. (राजभण्डारी) र मेरोबिच २०४५ सालमा सामाजिक परम्पराअनुसार विवाह भई छोरा अनमोल राजभण्डारी र छोरी आज्ञा राजभण्डारीको जायजन्म भएकोले जम्मा ४ जना अंशियार छौं । प्रतिवादीमध्येकी धनकुमारी के.सी. (राजभण्डारी) लाई विवाह गरी ल्याएपछि कुनै दु:ख दिएको छैन । घरको सम्पूर्ण चल अचल श्रीसम्पत्ति उसैको जिम्मामा छ । म पेसाले सव-इन्जिनियर भएको हुँदा आजका मितिसम्म भएको आम्दानी श्रीमती, छोराछोरीको पालन पोषणमा खर्च गरी बचेको पैसाले श्रीमती धनकुमारी के.सी. (राजभण्डारी) समेतको परामर्श लिई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१० कि.नं.६८७ को क्षेत्रफल ०-४-१-० र सो जग्गामा निर्माणाधीन घर तथा भक्तपुर जिल्ला कटुन्जे गा.वि.स. वडा नं.९(क) कि.नं.७४७ को क्षेत्रफल ०-४-०-० समेतका जग्गा किनेर श्रीमतीको नाउँमा पास गरी घरसमेत बनाएको छु । विगत १ वर्षदेखि घरका श्रीमती र छोराछोरी एकमत भई मलाई हेला गर्