निर्णय नं. ११३५१ - लिखित बेइज्जती
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११३५१ - लिखित बेइज्जती भाग: ६६ साल: २०८१ महिना: पौस अंक: ९ फैसला मिति :२०८०/०९/१७ १५३९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०८०।९।१७ मुद्दा:- लिखित बेइज्जती ०७८-CR-०७६२ पुनरावेदक / प्रतिवादी : भेषराज पोखरेलको छोरा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.६ बुद्धचोक गाउँ बस्ने नारायणप्रसाद पोखरेल विरूद्ध प्रत्यर्थी / वादी : दलबहादुर पुनको श्रीमती जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. ८ स्थित साइनिङ्ग स्टार स्कुल नजिक बस्ने पार्वती आचार्य पुन ०७८-CR-०७६३ पुनरावेदक / प्रतिवादी : चेतु गिरीको छोरा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. १० चटार गाउँ बस्ने रोमलाल गिरी विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. ८ बस्ने पार्वती आचार्य पुन सामान्य रूपमा मुद्दामा व्यक्त गरिएका कथन केवल मुद्दाको निरूपण गर्ने प्रयोजनसम्मका लागि हो तर कुनै व्यक्तिको इज्जतमा आँच आउने गरी हुँदै नभएको, प्रसङ्गविहीन, अतिशयोक्तिपूर्ण, कोरा कल्पनामा आधारित निकृष्ट अभिव्यक्ति दिने कार्य सधैँ र सबै अवस्थामा स्वीकार्य हुन सक्दैन र मुद्दाको प्रसङ्गमा समेत सो कुरा अपवाद हुन नसक्ने । (प्रकरण नं.४) गाली बेइज्जतीले व्यक्तिको चरित्रमा कति असर र प्रभाव पारेको छ त्यसबाट सिर्जित परिणामले निजलाई समाजमा जीविकोपार्जन गर्न तथा समाजमा निजको प्रतिष्ठामा तथा निजी जीवनमा कति असहज बनाएको भन्ने विषय पनि विचार गर्नुपर्ने । मुद्दाका प्रसङ्गमा भए पनि प्रतिवादीले अरूको इज्जतमा प्रश्न उठाउन नसक्ने । यौन कार्यमा संलग्न महिलालाई पनि सहमतिबिना यौन सम्बन्धमा इन्कार गर्ने अधिकार छ भने जबरजस्ती मुद्दाका प्रतिवादीले एउटी महिला जसको नाबालक छोरी नै जबरजस्ती करणीको कारण मानसिक एवम् शारीरिक रूपमा प्रताडित भइरहेको अवस्थामा उल्टै जाहेरवालाको चरित्रमाथि नै गम्भीर प्रश्न उठ्ने गरी बयान तथा बकपत्र बेहोराबाट यौनधन्दा जस्तो कार्यमा संलग्न रहेको भन्ने कुरा लिखित रूपमा नै प्रस्ट भएबाट प्रतिवादीहरूको त्यस्तो अभिव्यक्तिले फिरादीको मान इज्जत र सामाजिक प्रतिष्ठामा धक्का पुगेको देखिँदा लिखित गाली बेइज्जती ठहर्ने । (प्रकरण नं.५) वादीका तर्फबाट : प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री गोविन्द शर्मा बन्दी तथा विद्वान् अधिवक्ताहरू अजिता के.सी. र विद्वान् अधिवक्ता श्री दिर्घलाल गिरी अवलम्बित नजिर : ने.का.प.२०४८, अङ्क ११, नि.नं.४४०४ सम्बद्ध कानून : गाली बेइज्जती ऐन, २०१६ सुरू फैसला गर्ने: माननीय न्यायाधीश श्री विष्णुप्रसाद कोइराला बाँके जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री गुणराज ढुंगेल माननीय न्यायाधीश श्री गणेशप्रसाद बराल उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भई प्रतिवादीको पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:- तथ्य खण्ड विपक्षी रोमलाल गिरीले मिति २०७२।१२।१५ गते म फिरादीको ५ वर्ष ६ महिनाकी नाबालिक छोरी परिवर्तित नाम सङ्केत ६५ सम्झना ट-१ लाई जबरजस्ती करणी गरेकाले निजउपर जबरजस्ती करणीको कसुर अपराधमा कारबाही गरिपाउँ भनी जाहेरी दिएकी थिएँ । मिति २०७३।१।३१ मा विपक्षी प्रतिवादीहरूले गरेको बयान तथा बकपत्रसमेतमा “जाहेरवालीले मलाई यौन धन्दामा लाग्ने