निर्णय नं. ११३५७ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११३५७ - बन्दीप्रत्यक्षीकरण भाग: ६६ साल: २०८१ महिना: माघ अंक: १० फैसला मिति :२०८०/०४/२५ ११२४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०८०।४।२५ ०७९-NF-००२३ विषय: बन्दीप्रत्यक्षीकरण पुनरावेदक / निवेदक : मकरध्वज भण्डारीको नाति, छत्रबहादुर भण्डारी र सरस्वती भण्डारीको छोरा, संखुवासभा जिल्ला, साबिक मामलिङ गा.वि.स., वडा नं. १ हाल परिवर्तित धर्मदेवी नगरपालिका, वडा नं. ४ साबिक घर भई संखुवासभाबाट २०७३ सालमा बसाइँ सरी स्थायी रूपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ६, बौद्ध पाटीटार बस्ने हाल बैंकिङ कसुर मुद्दाको सिलसिलामा कारागार कार्यालय नख्खु, ललितपुरमा थुनामा रहेको दुर्गाबहादुर भण्डारी विरूद्ध प्रत्यर्थी / विपक्षी : उच्च अदालत पाटनसमेत कुनै व्यक्तिको हाल बसोबास गर्ने गरेको वतन मिसिल कागजबाट खुल्न आएकोमा सोही वतनमा र त्यस्तो वतन खुल्न नसकेको वा सो वतनमा म्याद जारी हुँदा रीतपूर्वक तामेल हुन नसकेको अवस्थामा स्थायी वतनमा म्याद जारी गर्नु तर्कसङ्गत मान्न सकिने । तर मिसिलबाट हाल बसोबास अर्को वतनमा भएको देखिएको स्थितिमा निजको नाउँको म्याद सो वतनमा जारी नगरी नागरिकताको प्रमाणपत्रमा उल्लिखित स्थायी वतनमा जारी गर्ने कुराले यथार्थमा निजले त्यस्तो समाह्वान म्याद पाएको भनी विश्वस्त हुन नसकिने । (प्रकरण नं.५) म्याद सूचना पाउनुपर्ने व्यक्तिका नाममा जारी भएको म्याद र तामेली त्रुटिरहित भए मात्र सम्बद्ध व्यक्तिले उक्त म्याद पाएको मानिने । त्यसरी त्रुटिरहित तवरले म्याद र सूचना पाएका सम्बद्ध व्यक्तिले कानूनको म्यादभित्र प्रतिवाद नगरेको स्थितिमा मैले म्याद सूचना पाइन भन्ने याचनालाई सुनुवाइ गर्ने निकायले इन्कार गर्ने । (प्रकरण नं.७) पुनरावेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री भुवनप्रसाद निरौला, श्री कुमारप्रसाद घिमिरे र श्री लतिका डंगोल प्रत्यर्थीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री लोकराज पराजुली तथा विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल अवलम्बित नजिर : ने.का.प.२०६७, अङ्क ७, नि.नं.८४०६ ने.का.प.२०७५, अङ्क १०, नि.नं.१०१०८ सम्बद्ध कानून : नेपालको संविधान मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ यस अदालतको संयुक्त इजलासबाट आदेश गर्नेः- माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री कुमार चुडाल आदेश न्या.प्रकाशमान सिंह राउत : यस अदालतको संयुक्त इजलासबाट मिति २०७९।०३।०३ मा भएको आदेशउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२) बमोजिम पुनरावलोकनको अनुमति प्राप्त भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड रिट निवेदनको बेहोराः विन्दा सुनार पुरीसमेतको जाहेरीले नेपाल सरकार वादी र म रिट निवेदक प्रतिवादी भएको बैंकिङ कसुर मुद्दा (०७८-CB-०००४) समेतमा उच्च अदालत पाटनबाट तोकिएको जम्मा धरौटी रकम बुझाउन नसकी कारागार कार्यालय, नक्खुमा थुनामा रहेकोमा उक्त आदेशबमोजिमको धरौटी रकम मिति २०७८।०१।२५ मा बुझाई थुनामुक्त हुने प्रक्रियामा रहेकोमा तत्कालै उच्च अदालतबाट तपाइँलाई अनु तामाङ र हिरा तामाङको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी म भएको क्रमशः बैंकिङ कसुर (०७७-CB-०८९३) र (०७८-CB-०३४७) को दुई मुद्दामा तपाइँलाई कसुरदार ठहर्‍याई कैद र जरिवानासमेत तोकी क्रमशः मिति २०७८।०८।